नयाँ उमंग लिएरै आउँछ, असारे महिना
हरेक वर्ष कृषकलाई दिन्छ, सुवर्ण गहना।
माना रोपेर मुरी फलाउने, उखानले भन्दछ
असारमा रोप्न सिकाइ त्यही, मंसिर कुराउँछ।
गर्मीको मौसम चलिरहँदा, शितलो थप्दिन्छ
धर्तीको माटो तिर्खाउँदा, प्यास मेटाइदिन्छ।
सुकेका ती पानीका मूल, सरर रसाउँछन्
सुरुआत भयो असारे महिना, भनेर चिनाउछन्।
बिहानपख उज्यालो हुन्छ, महिना असार
खानु नै पर्छ पुगेन भने, पैसाले बेसार।
कृषक हामी उठ्दछौँ छिट्टै, उब्जाउने आशामा
खटेकै हुन्छौँ खेतमा हामी, डटेर साथमा।
सिमसिमे पानी परिरहन्छ, भिजेरै भएनि
लागेकै हुन्छौँ लगाउन बाली, ओडेर स्याखु नै।
बिहानपखै हल नारी हाल्छौँ, बिउ काड्छौँ मिलेर
हातमा कोदाली काँधमा जुवा, बढ्दछौँ लिएर।
चिसो मौसम नै, भएता पनि, गरिन्छ काम पूरा
तिता र मिठा, हँस्यौली ठट्टा, मज्जाका ती कुरा।
खाजाकै कुरा गर्नी हो भने, साह्रै नै स्वाद हुन्छ
सामान्यभन्दा, रोपाईको दिनको, झन् मिठो भैदिन्छ।
जेसुकै होस् खाजाका माध्यम, स्वादिलो त्यही दिनको
रमाइलो अनि विशेष लाग्ने, रोपाईकै दिनको।
हिलोमै खेल्छन्, हिलोमै बस्छन्, हिलोमै काम गर्छन्
तातो त्यो चिया, थर्मसमा बोकी, चिसोलाई जित्दछन्।
लहरे बाली तरकारीहरु, फस्टाउछन् यही टाइममा
पहाडले पनि सुन्दर पटुकी, मर्काउँछन् कम्मरमा।
सकिन्छ रोपाई, मिलेर सबै अगाडि बढिन्छ।
महिना असार, भयंकर पानी मज्जाले पर्दिन्छ।
खोला ती बढ्छ्न, आउँछ पानी, एकदमै बढेर
रोपेका खेतमा, पस्दछन् बाढी, चुर्लुम्म डुबार।
बाढी र पहिरो गैराका हुन्छन्, नोक्सान पुरार
दुःखद खबर सुन्न नि पर्छ, के गर्नु हजुर!
प्राकृतिक प्रकोप आउन सक्छ, अपनाउँ साबधानी
जोगाइ ज्यान, जोगाइ बाली, कम गरौँ नोक्सानी।