अब त आमा बित्नु भएको पनि झन्डै वर्षदिन बित्न आँटेछ। बाबा त म सात वर्षको हुँदा बित्नु भएको रे। सहर गई २,४ पैसा कमाउने इच्छामा झोला बोकी हिँड्नु भएका मेरा बा त्यो सहरको प्यारो बन्नु भएछ कि क्या हो, मेरी आमाले अन्तिम चोटि पनि मुख हेर्न पाउनु भएन रे।
मोटरगाडीको खासै चहलपहल नभएको त्यो समयमा बाको लास कसैले गाउँमा पठाइदिएनन् रे। त्यही पोलिएको चिठी आएको भरमा काजक्रिया गर्नु भएको मेरी आमा पनि भर्खर ३५ वर्षको हुनुहुन्थ्यो।
बाको सम्झनामा धेरै त होइन, मसिनो गरी मठारिएको जुँगा र त्यो मैलो, सेतो कमिजको खुबै याद आउँछ। दाउरा चिर्ने बेलामा होस् या गामवेशी गर्दा होस्, प्रायः त्यही कमिज लगाउनु हुन्थ्यो। सायद एकदम मन पर्थ्यो होला। अरु त खै खासै केही सम्झिन्नँ म। हुन त त्यति बेला म जम्मा ७ वर्ष कि त थिएँ।
३ वर्षले कान्छो भाइले त झन्, बा अनि बाको माया भनेको के हो भन्ने कहिल्यै थाहा पाएन।
किरियाकाज पनि सकियो। हाम्रो परिवार चार जनाको बाट तीन जनाको भयो। सहर हुँदा बाले कहिलेकाही आमालाई पैसा पठाइराख्नु हुन्थ्यो रे। अहिलेको जस्तो ई-सेवा र आइएमईको सुबिधा थिएन त्यो जमानामा।
सहरबाट कोही गाउँ फर्किने मान्छे भेट्टाएको बेलामा थुप्रै समयसम्म पुग्ने पैसा पठाइदिनु हुन्थ्यो रे। आमा पनि त्यो बेलामा जवान नै हुनुहुन्थ्यो। कोदालो खनेर र खेताला हिडेँर पनि हामी सबैको पेट पाल्न सक्नु हुन्थ्यो।
बा भने कहिलेकाहीँ केही चाडपर्व पारेर आउनु हुन्थ्यो। बा आउँदा गाउँका मन्छे पनि दंग पर्दै हेर्न आउँथे। गाउँकै मान्छे, त्यहीमाथि बेलामौका पारेर आइराख्ने मेरा बालाई, यी गाउँले किन दंग पर्दै हेर्न आका होलान्, यो अनौठो सोचाइ मेरा दिमागमा खेलिरहन्थ्यो। तर आज सोच्दै छु, मेरा बालाई पूरा आयु देख्न नपाउने भएर पो रहेछ क्यारे!
बाको देहान्तपछि आमालाई खै के भएछ कुन्नी, मलाई र भाइलाई लिएर गाउँ कहिल्यै नफर्कने गरी तराई झर्नुभयो। एकल महिला मेरी आमालाई तराई झरेपछि निकै संघर्ष गर्नुपर्यो।
समय र सोचाइ, त्यो बेला अहिलेको जस्तो कत्ति थिएन। विधवा आइमाई भनेपछि मन्छेको बोल्ने शैलीदेखि लिएर गर्ने व्यवहारमा थुप्रै भिन्नता पाइन्थ्यो। जसले गर्दा गाउँ छाडेदेखि थुप्रै सामाजिक संघर्षका साथै हामी दुई छोराछोरीलाई हुर्काउन, बढाउन, पढाउन निकै संघर्ष गर्नुपर्यो।
सेतो सारीमा बेरिएकी मेरी आमाको त्यो रातो टीका र सिन्दुरबिनाको खल्लो मुहार र त्यही मुहारमा थपिएको त्यो संघर्ष र पीडा। त्यो बेला हामी पनि खासै बुझ्ने थिएनौं।
उमेरले १० वसन्त पार गरेकी म र भर्खर ६ वसन्त पार गरेको मेरो भाइ, अनि त्यो ५ किलोमिटर पर विद्यालयसम्मको हिंडाइ। बाटोमा हामी जस्ता थुप्रै केटाकेटीसँग भेट हुन्थ्यो। कोही भक्कु पाउरोटी खाँदै आउँथे त कोही बिस्कुट।
हुन त हामीलाई पनि आमाले कहिल्यै भोकै रख्नु भएन। कहिले मकै पोको पारेर त कहिले भटमास पोको परेर, खाजा सधैं पठाउथिन्। कहिले खान्थ्यौँ त कहिले त्यसमै फर्काउथ्यौँ।
दिनदिनै मकै खाएर वाक्क भएका हामी आमालाई पाउरोटीको लागि पिरोल्न थाल्यौं। के गर्नु! आखिर केटाकेटी मन न हो। आमापनि जसोतसो कहिलेकाहीँ किनिदिनु हुन्थ्यो। हामी दंग पर्दै त्यी केटाकेटीलाई देखाउँदै खान्थ्यौँ।
गाउँ हुँदा खेताला हिँड्ने मेरी आमालाई, विधवा भएका कारण लाइने सामाजिक लान्छनाका कारण खेतलाको काम पनि कसैले दिँदैनथे। दिइहाले नि त्यसबाट आएको पैसाले पारिवारिक खर्च कत्ति पुग्दैन थियो।
त्यसैले, त्यहाँका मुखियाकोमा वस्तुभाउ स्याहार्ने काम गर्नु हुन्थ्यो। यति काम मुखियाकोमा गरिसकेसी साह्रै दुख परेको बेलामा ॠण पाइन्छ कि भन्ने आश आमाको थियो।
गाउँबाट झर्दा आमाले २ रोपनी जग्गा बेचेर, त्यही पैसा पटुकीमा बेरेर झरेकी रहिछन्। अनि त्यही पैसाले तराईमा ५ कट्ठा जमिन किनेर बाँसको गाह्रा र खरको छानाले सानो घर बनएकी थिइन्।
आफ्नै खेतीपाती गर्न स्रोतसाधन खासै थिएन र खेतीपाती गरेर निकालेको अन्नले खासै खान त पुग्दैन थियो, त्यहीँ माथि स्कुले केटाकेटीको खर्च र वर्षेनी चाडपर्व अनि त्यसको खर्च।
आफ्नो पीडा पनि खासै कसैलाई देखाउन र सुनाउन खोज्दिन थिइन् मेरी आमा। तैपनि त्यो निन्याउरो मुहारमा झल्किहाल्थ्यो गरिवीसँगको लडाइँ, एकल महिला हुनुको पीडा र संघर्ष।
म पनि हुर्किँदै थिएँ, मेरो पछि पछि मेरो भाइ। भाइ यतिबेला स्कुल पढ्दै थियो, म भने म्याट्रिक पास गरेर काठमाडौं छिरेँ। अगाडिको पढाइ खर्च आफैं निकाल्ने र आमालाई पनि केही सहयोग पुर्याउने आशले।
उमेरले लगभग डाँडो काटेकी मेरी आमाको मन, अनि मेरा बालाई सहर पठाउँदा पाएको पीडा सम्झेर सहर पठाउन आमाको मन त खासै मानेको थिएन होला। तर मन नभएर पो के गर्नु, दमको रोगी आमा उमेर र रोग दुवैले गर्दा काम गर्न नसक्ने हुनुभएको थियो।
भाइ पढ्दै थियो, बाँकी केही उपाय नभएपछि म सहर आएँ। सहर आएर काम थालेको केही वर्षपछि फेरि मृत्युको खबर पुग्यो। तर यो पटक सहरदेखि गाउँ होइन, गाउँदेखि सहरमा। आमाको मृत्युको खबर म कहाँ आइपुग्यो।
अविवाहित छोरी म र मेरो भाइ मिली फेरि क्रियाकार्य गर्यौं। आमाको देहावसानको नि वर्षदिन पुग्न आँटेको बेलामा फेरि ३५ वर्ष हुँदादेखि कि मेरी आमाको त्यो मृत्युको क्षणसम्मको एक्लोपन र विधवा हुँदा पाएको पीडा र त्यो पीडासँगको संघर्ष सम्झँदा आज फेरि मन साह्रै भकानिएको छ।