२०७८ साल वैशाख महिनाको २४ गते शुक्रबारको दिन बिहानैदेखि प्रकृति रोइरहेकी थिइन्। कालो बादलले आफूसँगै अंगालेर ल्याएको झरी रोकिने नामोनिशान थिएन।
पहिला पहिला यही झरीमा कयौं पल्ट रमाउँदै खेलेको सम्झिन्छु। सानैदेखि झरी पर्दा रमाउने म, आज उही प्यारो झरीसँग रिसाइरहेको थिएँ।
अरु बेला झरीमा रुझ्दा मात्रै ज्वरो आउने गरेको थियो। तर यसपटक प्रकृति र मसँगै झरीमा नरुझ्दा पनि ज्वरो आएजस्तो भएको थियो। मन कापेजस्तो भएको थियो। बाहिर परेको झरीले यो मनमा बाढी ल्याएझैँ भएको थियो।
यतिकैमा फेसबुक मेसेन्जरमा मेसेज आएको संकेत गर्दै मोबाइल बझ्न थाल्छ। मभन्दा बढी मेरो मन, मनभन्दा थोरै बढी मेरा हात, अनि मेरा हातभन्दा कयौं गुणा बढी मेरा हातका औंलाहरू उक्त मेसेज खोल्न हतारिँदै थिए।
जसोजसो सामसुङको पुरानो मोडेलको मोबाइल स्क्रिनमा उक्त मेसेज ओपन भयो, मेरा आँखा एकछिनका लागि बन्द भए। मेसेजको प्रतिक्रिया दिन अरु कुनै अंगलाई जाँगर भए जस्तो देखिएन।
विचरो आँखा सबैको उदासीको प्रत्यक्षदर्शी बन्दै थियो। आखिर गरोस् पनि के, बस् मौन प्रतिक्रिया स्वरूप झरी जस्तै पानी बगाएर आफूलाई सक्षम तुल्यायो।
बाहिर झरी अलिक कम भइसकेको थियो। तर यता मेरा आँखाबाट बर्सिएका झरी रोकिने कुनै संकेत थिएन। एउटा निर्दोष हातले टेबलको कापी झिक्यो। लम्पसार परिरहेको अर्को हातले मेरो मन पढेर उनी आफैंले भ्यालेन्टाइन्समा दिएको कलम झिक्यो।
आँसु पुछ्न कसैलाई हिम्मत भएन। कापीको पहिलो पाना छोडेर दोस्रो पानाको सिरानमा आफै काप्दै दाहिने हातले लेख्यो 'ब्रेकअप!'
प्रिय युनिका,
तिमीलाई याद छ? तिमी पहिलो पल्ट मेरो रंगीन संसारमा आउँदै गर्दा तिमी रुँदै आएकी थियौं।
'निश्चल, दुई वर्षपछि कसैको अंगालो पाएकी छु। कहिलै टाढा न हौ ल? थ्याङ्क यू सो मच!'
टाढा भएकी मेरी प्रिय युनिका, तिमीले भनेका शब्दहरू यही थिए। सम्झेऊ नि है। तिम्रा आँसुहरू साक्षी राखेर तिमीलाई अंगालोमा बेरेको थिएँ। प्रत्यक्षदर्शी साक्षीहरू थिए, हैन भनेर अस्वीकार नगर्देऊ प्रिय।
मेरो च्यातिएको मन भित्र रहेको हार्डडिस्कमा अझै पनि सुरक्षित छन् तिम्रा घायाल पार्ने ओठका बाटो हुँदै आएका तिमीले दर्शाएका ती मायाका विषालु शब्दहरू। शब्दका नाममा विष न रहेछन्, कुनै दिन खाएर प्राण त्यागे भने तिमी आफैले प्रेममा हारेको एउटा प्रेमप्रेमी सिपाही सम्झेर सहिद घोषणा गर्दिनु ल।
मेरी प्रिय राजकुमारी, तिमीले महल बनाउन सङ्घर्षरत एउटा कमिलोको झुपडीलाई भत्काएर आफू दरबार तिर अघि बढेकी छौं। यसो आरामले भरिपूर्ण त्यस दरबारमा तिमी प्रियलाई केही कुराको पनि कमी महशुस नहोस्।
दरबारमा रमाउँदै गरेकी तिमीलाई यो सानो कमिलोको तर्फबाट माटोमा विलय भइसकेको हाम्रो सपनाको महलभन्दा पनि अझै विशाल शुभकामना।
प्रिय निष्ठुरी मायालु, तिमीलाई म कदापि मनैदेखि घृणा गर्न सक्दिनँ। भन्छन् नि वान्स अ लभर अल्वेज अ लभर। तर खै! मेरी हावा प्रिय, तिमीलाई माया पनि अब कुन नाताले गरेर बसौं।
युनिका, चारैतिर हिउँले ढाकेको हिमालहरूका बीचमा गाइड बिनाको टुरिष्ट जस्तै भएको छु। प्रेमको यो विशाल समुन्द्रमा कम्पास हराएको यात्री जस्तै भएको छु। माटो बिनाको गड्यौला जस्तै भएको छु।
धुन बिनाको गीत जस्तै भएको छु। आत्मा बिनाको शरीर जस्तै भएको छु। पानी बिनाको पोखरी जस्तै भएको छु। मेरी मुटुकी रानी, तिमी बिना मसान घाटमा राखिएको एक्लो मुर्दा जस्तै भएको छु।
मायाको यो खेल पापी रहेछ
खेल खेलाउने रेफ्री पापी रहेछ।
सँगै मर्ने बाँच्ने कसम खाएका हामीलाई छुट्याउने,
त्यो समय पापी रहेछ।
युनिका मेरी प्रिय, मेरी सानु, टाढा हुनु नै थियो भने किन नजिक भएको झुटो नाटक मञ्चन गर्यौं? 'समर लभ' को सायाले अतीतलाई गरेको मायाभन्दा पनि धेरै माया गर्छु निश्चल भनेर किन मेरो प्रेमलाई भ्रममा राख्यौं?
आखिर किन युनिका किन एकपछि अर्को अनि अर्को पछि अर्को जाली खेलको उत्कृष्ट नमुना प्रस्तुत गर्यौं?
तिमीले यो मनमा सजाइएका कयौं सपनाहरूको जिउँदै हत्या गरेकी छौ। एकाध आशाहरुलाई बीच बाटोमै अलपत्र पारेर आफू फरार भएकी छौ। यो मनको पवित्र माया चोरेर खुला बजारमा चटक मञ्चन गरेकी छौ।
थाहा छैन कलाकार प्रिय, संसारको कुन अदालतले ती पीडित सपनाहरुलाई, आशाहरूलाई, त्यो चोखो मायालाई न्याय दिने चेष्टा राख्छ!
तिमीले त मलाई सबै बाटाहरुबाट बिदा गरिसक्यौं। मेरा लागि तिम्रो सामु जाने चट्टान खोपेर बनाइएका ती गोरेटाहरुमा पहिरो गइसकेका रहेछन्। काजगमा लेखेर यो पत्र तिमीलाई दिन मन हुँदाहुँदै पनि कायरता प्रकट गर्दैछु।
के थाहा मलाई झुटो साबित गर्न कै खातिर तिमीले मेरा प्रत्येक शब्दहरूको धज्जी उडाउँदै मेरो यो अन्तिम चिठी च्यातेर जलाउन पनि सक्छौं। त्यसैले अनलाइन न्युजमा विशेष रुचि भएकी तिमीलाई तिम्रै खातिर यो पत्र प्रकाशित गर्दै छु।
प्रेम प्रस्ताव तिमी आफैले स्वीकार गरेकी थियौं। प्रेमको यो हरियाली जंगललाई तिमी आफैले उजाड बनाएकी हौं। यो पत्र पनि स्वीकार अस्वीकार जे गर्छौं, त्यो मैले तिमी माथि नै छोडिदिएको छु।
प्रिय पाठक, खेल मैदानमा होमिएसी संसारको कुन खेलाडीलाई हार्न मन लाग्छ होला र! कृतिमानी पारी सफलतापूर्वक खेल्छु भन्ने थियो। खेल आधा नहुँदै विपक्षीको फावल खेलको शिकार म भएँ।
जीवनमा फेरि पनि एकपल्ट विछोडको जित भएको छ। विचरो चोखो प्रेमको संज्ञा पाइसकेको मेरो अभागी प्रेम आइसियू वार्डको बेड नम्बर ५ बाट आफ्नो मृत्युको अन्तिम श्वास फेर्दै उनै विपक्षी खेलाडीलाई आगामी खेल जीवनको आफ्नो चोटभन्दा पनि अझै धेरै शुभकामना व्यक्त गर्दै यही काजलतिर टुलुटुलु हेर्दै आफ्नै बेडमा लम्पसार परिरहेको छ।
अलविदा प्रिय!