महामारीले थिचेको दिनदेखि
रोगको त्रासभन्दा नि भरे गाँसको चिन्ता छ
यो सहरको लडाइँमा म एक मजदुर हुँ
मेरो बास यहाँ खुला आकाशमुनि छ
सरकारको मुख ताक्दै ढुकेको एक दुखी हुँ म
मेरो सुख भनेकै एक भारी ज्यालामा अडिएको छ
खै कसरी कटाउनु यी अनिश्चित रातहरु
मेरा जहानका पेटमा भोक नै एकदम भोकाएको छ।
झण्डावाल गाडी चड्नेहरु त
भित्रभित्रै खै कसरी मौलाएका छन्
झण्डा बोकी हिँड्नेहरु पनि
मेसो मिलाएर मेजमानमा रमाएका छन्
नियम कानुन बनाउनेहरु त
सकेसम्म कुम्ल्याएर टन्न लमतन्न छन्
मुटुमा देश बोक्नेहरु चाहिँ
ढुकढुकी जाँच्न नपाएर बेवारिसे भएका छन्।
लकडाउन भनी म आफूलाई त सम्झाउँला
तर ती साना कलिला पेटहरुलाई कसरी सम्झाउनु?
दुई भारी बोक्न नपाएर भात नपाएपछि मैले
बुढीको भारी जिउलाई कसरी हुर्काउनु खै!
कोरोनाको खोप त एकदिन कसो नपाइएला र जसोतसो
तर गाँस, बास, कपास मिलाउने खोप चाहिँ कता पाइएला?
रोग निको पार्ने औषधि पनि बन्ला विस्तारै
तर यो दैनिकी धान्ने औषधि चाहिँ कहिले बन्ला सरकार?
म सुस्ताउन लागिसकें
परिवारहरु अस्ताउन लागिसके
बाहिर बजार ठप्प गरेका छन्
भित्र हाम्रा नजर ठप्प हुन लागिसके
चिल्ला सपना देखाएर कोही चिल्ला गाडीमा पुगे
मजदुरहरु सपनामै उडेर विपनामा घिस्रिरहे
यो देश नेता र कार्यकर्ताको मात्र रहेछ बुढी
हामी त केवल चुनाव अगाडिका कठपुतली मात्रै।