दुनियाँका अनगिन्ती दुराग्रह र घातहरुले
हिया, मुटु र काया जलिरहेछ
सन्तापले उद्विग्न मन उड्न सकिरहेको छैन
दिनहुँ अन्याय फलेको बास्नाले पुलकित हुनुभन्दा
म जम्न चहान्छु
प्रिय देउता मलाई हिउँ बनाइदेऊ
उठाउन सक्दैन गाण्डीव पापीहरुका विरुद्ध
मौन छन् कृष्णहरु कंशहरुका सामुन्ने
हाँस्दैछन् धर्ती र आकाश, मेरो औकात देखेर
हत्या हिंसा र बलात्कारको नाच हेर्नुभन्दा
म जम्न चाहन्छु
प्रिय देउता मलाई हिउँ बनाइदेऊ
उपियाँ र उडुसले चुस्दै छन् सपनाहरु
भाषण निलेर बाच्दै छन् भोका पेटहरु
म बदल्न सक्दिनँ यी नियतीहरुलाई
आफूभित्र ज्वालामुखी पचाएर बस्नुभन्दा
म जम्न चाहन्छु
प्रिय देउता मलाई हिउँ बनाइदेऊ।