चुपचाप छु धेरै दिनदेखि
किनकि बाहिर
निस्पट्ट अन्धकार छ।
बादल मडारिरहेको छ
आकाश झन्-झन्
बेतोडले गर्जिरहेछ र
चौपायाहरु तल फाँटमा
बेसुरले भागिरहेछन्।
उता गइरहेछन्
यता फर्किरहेछन्
पुच्छर उचालेर डुक्रिँदै कुदिरहेछन्
उताबाट यता र यताबाट उता
कति घाइते छन् भागदौडमा
रमिता छ अजीवको, तमासा छ,
तरपनि म चुपचाप छु धेरै दिनदेखि
किनकि बाहिर निस्पट्ट अन्धकार छ।
सायद आकाश खुल्नै छैन अब
र सूर्य जन्मने छैन फेरि,
र चर्को घामको कुरा हुनेछैन यहाँ,
सन्नाटा अझै बढने छ र
आवाजहरु अझै क्षीण हुनेछन्।
र झोसिने छन् चिसो ओसमा
चेतनाका अणुहरुलाई,
मानिसहरु निशब्द हुँदै जानेछन्,
शब्द, भाव, विवेक र चिन्तनको
निशस्त्रीकरण अथवा निशब्दीकरण
तरपनि म चुपचाप छु धेरे दिनदेखि
किनकि बाहिर निस्पट्ट अन्धकार छ।
चौपायाहरुको भागदौडको परिणत
बलिदानीको प्रतिमूर्ति
लोकतन्त्रको चौतारी
तल फाँटमा छिन्नभिन्न
भएको छ रे
कुल्चिएर, ठोकिएर
धुजाधुजा गरिएको छ रे
त्यो छहारी
विदीर्ण र कामै नलाग्ने भएपछि
सोचिरहेछु, देखिरहेछु र सम्झिरहेछु
मेरा मूल्यहीन रगत र पसिनाका
थोपाहरु
किंकर्तव्यविमुढ भएको छु
र केही अनुमान गर्न सकिरहेको छैन म,
किनकि बाहिर निस्पट्ट अन्धकार छ।