समय भन्छ
'कोरोना न खबर छ,
न खबर थियो नै हुन्छ'
यो त हाम्रो दैनिकी भो
छायासरि नै रहन्छ।
सके, पाए, जानेसम्म
औषधिको जोहो गरेकै हो,
घरको कोठा एकान्तबास बनाकै हो
र पनि कोरोना! तिम्रो रौद्ररूप
यस मनुष्यका लागि
थामी नसक्नुको भारी भो!
उता लाग्यो, यता लाग्यो
उता गयो, त्यता त्यस्तो भो
भनी संसारले फलाकेको
पहिली डर थियो,
खोइ! अब त कता-कता आश जाग्यो।
मित्रभावले नै जितिने भन्छ आदर्श
अनुशासित जीवन तातो बाफ, औषधिसँगै
खाँदै, सुत्दै, उठ्दै, पट्टाइ मार्दै
कोरोना! यो देह त्वम् शरणम् भा'छ।
हो, केही विरोध गरेकै थिएँ
लाग्छ, शत्रुले लगाएको टुना भएँ,
हैन, रूघा र ज्वरोसँगै पसेका तिमी
भारतलाई कालापानीमा बास दिनेजस्तो
आफैं समस्या बिसाउने नेपाली भएँ।
उनी (आमा) लाई माया गर्न पुगेको छैन,
ओल्लो घर, पल्लो घर चाड मनाउनु पर्ने
शारदीय शोभामा रमाउने यो मन
रमाउन पुगेको छैन, यतिखेर थला पार्यौ
एकाध डिल हाम्फालुँ भन्छु,
सङ्क्रामक रोग प्रचारक हुन आफैले 'भा छैन।
मित्र भनुँ आएको देखिँदैन
शत्रु भनुँ, बास फोक्सो बाहेक अन्त भए!
कसैले अँगालाभरि माया गरोस्,
यो त हुँदै हुँदैन, अनि हुन्छ चाँहि के?
के-कस्को विरोध गरूँ, स्वास्थ्य सामग्री बेथितिको?
धेरैले भन्छन्, नयाँ मुद्दै बग्रेल्ति छन्, त्यो त पुरानो भो,
अनि त कारणीलाई कोरोनाले चिन्दैन?
बुढी गण्डकीमा झैं, लगानी लगा'केा होला
कोरोना जान्दा जान्दै नि हतार भो भन्दैन!
कार्की फाल्ने र कार्की बोक्नेलाई भनुँ?
थला परेर भड्खालामा परेको भैंसी भा'छ!
गाई गुहारूँ, बेचिसके, हलो भा'छ
सत्तालाई भनुँ त? आयोगहरू बनाएर
विपक्ष र साना चेप्ने सन्नासो अर्जाप्न गा'छ।
देखिहाल्यो कोरोना!
तिनलाई भन्नुभन्दा बगरेरूपी तिम्रा पाउ पर्छु
जालमा बेरिएर मर्नुभन्दा
अक्सिजन, भेन्टिलेटर खोज्दै ठेलामाथि मर्छु।
कसैले बचाउने सत्प्रयास गर्दैन मनुष्य?
कोरोना! जवाफ नभएको प्रश्न नगर्नू,
'कोरोना! त्वम् शरणम्' भन्दै कर जोड्छु
राख वा लैजाऊ, नदेखे नि तिम्रै शरण पर्छु।