लोकतन्त्र बाटो बिराएछौ, गल्तीले नेपाल आएछौ
जहाँ आधारभूत आचरण छैन, अनुशासन छैन,
सामाजिक मूल्यमान्यता र संस्कार छैन।
जहाँ कानुन र कर्तव्यको कदर छैन,
नवराजा र शक्तिवालालाई कानुन लाग्दैन,
मापदण्ड बनाइन्छ, मुख्यालयमै धज्जी उडाउन्छ।
के गर्छौ? तिमी गल्तीले नेपाल आएछौ
जहाँ विधि र विज्ञान छैन,
पहुँच र प्रतिष्ठाले शासन गरेको छ
व्यवस्था, इमान र विकासको भाषण गरेको छ।
कानुनहरुलाई कोरोना लागेको छ,
सर्वोच्चको आइसियूमा भर्ना भएका छन्
कानुनका डाक्टरहरू त्रसित छन्, दबाबले ग्रसित छन्,
विचार गर लोकतन्त्र, तिमी गल्तीले नेपाल आएछौ।
न्याय, ग्याँसको अभावमा बिरामी छटपटाएका छन्
कानुनका आफन्तहरू सर्वोच्चको शरणमा परेका छन्
त्यतै हुल गरेका छन्
लोकतन्त्र, तिमी गल्तीले नेपाल आएछौ
विचार गर, तिमी गल्तीले नेपाल आएछौ।