नेता भएँ भन्दैमा साथी किन यति अभिमान गर्छौ ।
भोट दिने जनतालाई पनि नेताजी नचिने झैं गर्छौ ।।
सुकिला मुकिला लुगा लगाएर अभिमान किन गर्छौ ?
चाला यस्तै हो भने एकदिन भँगालोमा परि हाल्छौ ।
जनताको कुरा नगरी किन आफ्नै कुरो मात्रै गर्छौ ।
देशको विकासको चिन्ता छैन् आ-आफै लड्ने गछौं ।।
कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर हिँड्छौ ।
जाबो दुई दिने पदको लागि मरिहत्ते गरेर हिँड्छौ ।।
मेची महाकाली सीमा मिचेको किन देख्न सकेनौ ।
कालो चश्माले हो कि सिंहदरबार भित्रै त देखेनौ ।।
कालो चश्मा लाएर हो कि चारैतिर अँध्यारै देख्छौ ।
सरकारी जग्गा हडप्न पाए गिद्धेले झैं टाढै देख्छौ ।।
राष्ट्रहितमा काम गर साथी लोभ कुकर्म किन गर्छौ ?
नेपालै नरहे साथी अनि केमा चढेर राजनिती गर्छौ ?
सरकारी धनमा किन कुकुरझैं र्याल चुहाउँदै हिँड्छौ ।
एकमानाको ब्यवस्था भएकै त होला किन लोभ गर्छौ ।।
लोभ अभिमान जतिसुकै गर एकदिन छाडेरै जाने हो ।
पञ्चतत्वको यो पुत्ला तिम्रो माटैमा मिलेर जाने हो ।।
दुई दिनको जिन्दगानीमा साथी केही त गरेर जाऊ ।
आफू मरेर गए पनि देशको लागि केही दिएर जाउ ।।
किन गर्छौ धेरै अभिमान साथी धन सम्पत्ति थुपारेर ।
एकदिन त हामी जाने हो बाँसको खाटियामा सुतेर ।।