मरेको नैतिकतामाथि
श्रद्धाञ्जलीको ओइरो लागेको छ
तातका तात मान्छेहरु
जिउँदै मरेकाकाको प्राण भर्न व्याकुल छन्
कोही छैनन् पश्चातापले पोलिएकाहरु
जिउँदाको सहर होइन भन्नेको कमी छैन यहाँ
कोही भन्छन् राजनैतिक मोहभंग भएको छ
जे भएपनि जिउँदा जिउँदा छैनन्
मरेकालाई केही न केही
त्यसैले त
निष्प्राण सुतेको सहरभित्र
मनमौजी भएका छन् अक्षमता
परेड खेल्दै छन् कुण्ठाहरु
लहडले बुकुर्सी मार्दै गर्दा
आशाको त्यान्द्रो अदालत तर्फ सोझिएको छ
विचलित मन अझै भन्दैछ
लहड
कुण्ठा
अक्षमता अजयी हुन यो देशमा
त्यसैले त यहाँ
नियत खराब राखेर नीतिलाई दोष दिइन्छ
हलो अड्काएर गोरु चुटिन्छ
हनुमानहरुको पौरखको पुरस्कार
जम्मुवानहरु निरन्तर थापिरहन्छन्
यद्यपि
भौतारिरहने समुद्री लहरहरुलाई
किनारा मिलेझैँ
अझैपनि अक्षमता किनारा लाग्नेमा
विश्वस्त छन् जनहरु।