निरन्तर पाँच वर्षको प्रेम सम्बन्धलाई बिट मार्न अन्तिम पटक हामी युएन पार्कमा भेटेका थियौँ। गुन्द्री बुन्दा बिट मारेसी गुन्द्री बलियो हुन्थ्यो, प्रेममा बिट मारेपछि मन बलियो बनाउनु पर्ने रहेछ।
उसका हरेक शब्द हतासो जस्तो, हानिरहने घोचिरहने। प्रत्येक शब्दले चुटेपछि छुट्टिने बेला मैले थाहा नै नपाई एउटा आकार लिइसकेको रहेछु।
'तिमीलाई थाहा छँदैछ म तिमीलाई कति माया गर्छु, तिमीसँग छुट्टिन मलाई कति गाह्रो हुनेछ। तर के गर्नु, संसारमा आमाबुबाभन्दा ठूलो केही रहेनछ...।'
उसले यस्तै लामो भूमिका बाधिरह्यो मलाई उसलाई बीचमै रोकेर भन्नु मन थियो, 'आफूलाई राम्रो देखाउने प्रयास गरेर यो समयको बर्बाद नगर। मैले यी पाँच वर्षमा तिमीलाई जति बुझ्नु बुझिसकेँ।
तिम्रो राम्रो, नराम्रो, गुण, अवगुण, सु-विचार, कु-विचार सब बुझिसकेँ। तिमी के भन्न लाग्दैछौ भन्ने पनि थाहा छ, बस् अन्तिम पटक तिम्रो मुखबाट सुन्न आएकी हुँ।'
तर मैले उसलाई उसको तारिफ सुनाउन रोकिनँ, बस् सुनिदिएँ। मान्छे राम्रो बन्न छोडेर राम्रो देखाउन गरेको प्रयास माथि मनमनै खिस्स हाँसिदिएँ।
मुख्य कुरा भन्नुभन्दा पहिला पनि ऊ भूमिकामै व्यस्त थियो।
'तिमीलाई थाहा छँदैछ, म जातपात मान्दिनँ। अझ म यसको विरोधी नै हुँ। म तिम्रो लागि संसारसँग लड्न तयार थिएँ तर जन्मदिने बाबु-आमासँग लड्न सकिनँ, उहाँहरूको चित्त दुखाउन सकिनँ। म तिमीसँग बिहे गर्न सक्दिनँ,' उसले सास नै नफेरी आफ्नो अन्तिम वाक्य टुंग्यायो।
बोल्नु पर्ने पालो मेरै थियो, पालो आउँदा मनको कुरा मज्जाले पोख्नुपर्छ भन्नी पनि थाहा थियो। भूमिका नबाँधी सिधैँ भनेँ-
यो लडाइँ जुन तिमी लड्दै लडेनौ, यो तिमी र तिम्रो बाबुआमा बीचको होइन। यो लडाइँ जात व्यवस्था विरुद्धको हो। जुन व्यवस्थालाई तिमी अहिले आफू पानीमुनिको ओभानो बनेर निरन्तरता दिँदै छौँ। बिहे गर्दिनँ भन्यौ ठिक छ, जातपात मान्दिनँ नभन, जातैको कारणले माया त्याग गर्न सक्नेले यस्तो भन्न सुहाउँछ र?
'बाबु-आमाको खुसीभन्दा ठूलो मेरो प्रेम हुन सकेन। जातपात मान्ने भए तिमीसँग कहाँ प्रेम गर्थेँ र?'
हेर न बाबु-आमाको नाउँमा, समाजको नाउँमा, भगवानको नाउँमा हामी माथिको विभेद त कहिल्यै नमेटिने भो।
'यो विभेद होइन, बाध्यता हो।'
सायद बाध्यता नै, जुन जात व्यवस्थाको अगाडि तिम्रो हिम्मतले घुडा टेक्यो।
विगत सम्झिएँ, आफ्नै जातसग प्रेम गर्नेहरुको के-के कुरामा झगडा पर्दो हो! हाम्रो पनि धेरै झगडा पर्यो, झगडा पर्नुको कारण जात नै हुँदा साह्रै नमज्जा लाग्ने रहेछ।
त्यसमा फर्काएको र पाएको पूरा जवाफ याद छ। कुरै कुरामा उसले एकचोटि भनेको थियो 'बाहुनलाई बाहुन भन्न हुने तर कामीलाई कामी भन्न नहुने? आफ्नो जातमा गर्व गर्न सिके पो अरुले हेप्दैन त नि।'
गर्भदेखि पाएको कुरामा गर्व किन? त्यो कुरामा गर्व किन? जुन पाउन एक थोपा पसिना बगाउनु परेन, कुनै भोक, निन्द्रा आराम त्याग गर्नु परेन, कसैसँग कुस्ती खेल्न परेन। मैले मेरो जातमा गर्व गर्न थालेर जातीय विभेद हट्ने होइन,बरु तिमीले आफ्नो जातमा गर्व गर्न छाड्यौ भने चाहिँ पक्कै केही हदसम्म घट्छ।
'भनेसी तिमीलाई तिम्रो जातप्रति गर्व छैन?'
जातप्रति गर्व छ कि छैन थाहा छैन तर घृणा पक्कै छैन। आफ्नो जातप्रति गर्व गर्नु भनेको अरु जातप्रति हेर्ने दृष्टिकोण समान नहुनु हो।
हामी त्यो दिन झगडा होइन, बहस पो गरिरहेका थियौँ कि! हुन त ऊ धेरै रिसाएको थियो, त्यसैले मैले झगडा सम्झिएँ कि।
उसले प्रेम प्रस्ताव राख्दा मैले उसको विचार बुझ्न जातको प्रश्न पनि उठाएको थिएँ। उसले भनेको थियो- 'अहिले जातपात धेरै हराइसक्यो, छुवाछुत नै छैन भन्दा नि हुन्छ। बरु अहिले दलित हुनु फाइदा छ, जेमा नि कोटा।'
उसले छुवाछुत छैन भन्दै गर्दा उसको मुखले विभेदको आगो ओकेलेको थियो, त्यही आगोलाई ५ वर्षसम्म निरन्तर दिएको मायाले नि निभाउन सकेन। एक्कासी उसले मेरो हात समातेपछि विगतबाट बिउझिएँ।
'मेरो बाध्यतालाई बुझिदिनू, मलाई माफ गरिदिनू।'
मैले भन्नु सायद केही थिएन, माया छुट्नुको पीडा र जातकै कारणले छुट्नु परेको अवस्था सम्झेर कमजोर र बलियो एकैचोटि भएँ।
ममीले एकचोटि गाउँमा पैसा सापट माग्नु भएको थियो, उहाँले पैसा तिर्न पाँच दिनको भाखा थप माग्दा पौनिको बोली वर्ष दिनलाई होली भनेर वचन लगाए। हामी पैनी नभाको भए के भनेर वचन लाउँथे होला? अरु जातले भाखा थप माग्दा के वचन सुन्नु पर्छ होला?
ममीको पुस्ता र हाम्रो पुस्ता सम्झिएँ, ममीको पुस्ताले हाम्रो जातलाई सिधैँ धारे हात लगाउँछ। हाम्रो पुस्ता चलाख छन्, यिनीहरुले हामीसँग हात मिलाउँछ र क्याक्क अठ्याउँछ।
हाम्रो पुस्ता विशेष गरेर डिग्रीधारी त्यो पुस्ता हो, जो हरबखत हाम्रो क्षमता र दक्षतामा शंका गर्छ। एक जमातले जबसम्म जातको आधारमा नभई वर्ग र क्षमताको आधारमा आरक्षण कोटा खोलिँदैन तबसम्म म छुवाछुत मान्छु भनेर छाती पिट्छ, सामाजिक संजालमा पोस्टाउँछ।
अर्को थरी जमात यो कुराको घोर विरोध गर्छ, उसलाई अज्ञानी, पशु के-के भन्छ। अनि 'सही हो' क्यापसन लेखेर एउटा नरिवलको बोट, त्यो बोटमा फलेको नरिवल (सरकारी जागिर) टिप्न बाहुन र क्षेत्री रुख चढ्न परेको, र दलित भने कुनै दुख नगरी भर्याङ चढेर फल टिप्न पाएको फोटो सेयर गर्छ।
यो जमात त्यही हो, जसले मिलन पाण्डेको ए प्लसभन्दा बी राम्रो भन्ने आर्टिकल सेयर गर्छ। उसले कोटाको सुविधा प्राप्त गर्न पनि सबै ठाउँमा पास हुनुपर्ने तथ्यलाई बिर्सिदिन्छ।
र अर्को एउटा जमात पनि छ, जो साँच्चीकै जात व्यवस्थालाई ठाडै नकार्छ, कुनै बहानामा जातीय छुवाछुतलाई निरन्तरता दिँदैन, बढावा दिँदैन, र छुट दिँदैन। तर अपसोच, यो जमात हाम्रो गाउँघरमा बनेको ठाटिमा भेला हुने हो भनी आधा ठाटी खाली नै रहन्छ।
हामीलाई फिल्ममा होस् वा सिरियलमा, अझै नाटक घरमा नै किन नहोस्, देखेको भनेको नै विचरा, गारिब, लाटो नै हो कि आरनमा काम गरेको, कि जुत्ता कि कपडा सिएको नै हो। यो पेशा पनि यसरी देखाइन्छ कि यो काम गरेर भात खान नि पुग्दैन।
शास्त्र लेख्ने र वाचन गर्ने ब्राह्मण र सिंहासन शक्तिको अभ्यास गर्ने क्षेत्रीहरूबाट सञ्चालित राज्यमा शारीरिक श्रम गर्ने प्रति घृणाको भाव हुने नै भयो। त्यसैले आजसम्म पनि कुनै डाइरेक्टरले, लेखकले, र समाजले यस पेसाको गरिमा बुझेर इज्जत दिन जान्दै जानेन।
त्यो फिल्म, त्यो सिरियल, त्यो नाटकले अरुको मानसपटलमा हाम्रो कस्तो चित्र कोरिदिएको होला! भूतलाई तोडमोड गर्न मिल्दैन ठिकै हो तर वर्तमानमा पनि पुरै भूत नै देखाउन नमिल्नु पर्ने हो, किनकि विभेदका तरिका फेरिएका छन् (पुरै होइन्)।
ती नयाँ तरिकाको बारे विशेष त तिनीहरुलाई थाहा हुनु पर्यो जो म जातीय विभेदको विरोधी हुँ भनेर नाकको पोरा फुलाउँदै लेख लेख्छन्, भाषाण गर्छन्, स्टाटस लेख्छन्, ट्वट् गर्छन्। फिल्म देखाउने दलितको चित्र सम्झिएपछि मैले मेरो सामुन्ने रहेको मान्छेलाई प्रश्न गरेँ।
'नढाँटी भन त, म र मेरो जात यी पाँच वर्षमा कस्तो चित्र बनेर तिम्रो दिमागमा बस्यौँ?'
सहजीकरणको लागि पुनः सरल गरेर सोधेँ- मेरो जात यो हो भनेर सम्झिने बित्तिकै तिम्रो दिमागमा केको चित्र आइहाल्छ?
'अम्बेडकरको, आहुतिको र सबभन्दा बढी आमाबुवाको चित्र आउँछ।'
उसको उत्तरले कहिलेसम्म जातीय विभेद कायम नै रहन्छ भन्ने उत्तर बोकेर आएको थियो।
जेठ २१ गते (जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस) ठूला मञ्चमा, साना मञ्चमा सामाजिक सञ्जालमा,सडक सडकमा एउटा प्रश्न सधैं उठ्छ, यो वर्ष पनि उठेको थियो। २०६३ सालमै छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएतापनि आजसम्म यसको अन्त्य किन हुन सकेन?
स्मृतिमा तिम्रो तस्बिर नाचिरहन्छ।