डियर पुष्पलाल,
तिमीले बनाएको कम्युनिस्ट फरक कि
मैले देखेको कम्युनिस्ट फरक?
या त फेरि
यो समाजले भोगेको कम्युनिस्ट फरक?
निमुखाको छाक सुनिश्चित हुनुपर्नेमा,
ती गाँसहरु त यहाँ,
लुछिन्छन्,
चुढिन्छन्,
खोसिन्छन्।
कम्युनिस्ट नाम राख्दैमा,
कम्युनिस्ट हुने भए,
किन तिनै नाममा
अथाह सम्पत्ति जोडिन्छन्?
पजेरो मरसिडिज कुदिन्छन्?
चिल्ला सडकमा गुडेका पजेरोले,
सडक पेटिका
भोको पेटलाई,
नाङ्गो शरीरका आँसुलाई,
जिस्काउँछन्,
खिल्ली उडाउँछन्।
डियर पुष्पलाल,
तिम्रो कम्युनिस्टमा त त्याग हुन्छ नि,
होइन र?
अनि किन त,
पैसा र पदको लोभमा
मानवतालाई,
राष्ट्रियतालाई,
किनिन्छ,
बेचिन्छ,
लिलाम गरिन्छ?
मैले सुनेको तिम्रो कम्युनिस्टमा,
म शब्दलाई हामीले विस्तापिद गर्छ रे!
खोई त यहाँ स्वार्थ मात्रै,
छरपस्ट छरिएको छ,
टिलपिल भरिएको छ।
जनता नभेटिने देशमा,
कार्यकर्ताले भरिएको देशमा,
समानताले भरिएको कम्युनिस्ट तिम्रो मात्रै होला,
यहाँ त ठूलो कहिले नपुरिने,
भ्वाङ र खाडल छन्,
जसलाई धनिका धनले सजिलै पुरिन्छ,
जसलाई गरिबका मनले सजिलै पुरिन्छ,
तर,
यिनीहरु बीचको समानताले कहिल्यै पुरिएन।
डियर पुष्पलाल,
गरिबका आँसुले,
विदेशबाट बर्सिने काठका बाकसले,
सडकपेटीमा सुकसुक गर्दै
मकै पोलिरहेकी बुढी आमाका धुवाँले,
बसका ढोकामा झुन्डिरहेको सानेको आवाजले,
कोसौँ पर पानी लिन हिँडेकी
आफूभन्दा ठूलो भुन्टीको रित्तो गाग्रीले,
नेताको मन कहिल्यै पोलेन,
स्वार्थको राजनीतिले,
भ्रष्टहरुको संगतले,
जनता चुसेका पैसाले,
विदेशीका आर्शीर्वादले,
तिनीहरुले पठाएका डलरहरुले,
नेताको पेट कहिल्यै अघाएन।
चप्पल बिना हिँडेका जनताका खुट्टा कहिल्यै बिझाएन,
हेलिकप्टरमा उडेका नेताको शरीर कहिल्यै थाकेन।
यहाँ,
हरेक सहरमा लोकतान्त्रिक चोक भएर के गर्नु,
लोकतन्त्रको चिरहरण गर्दै मतपेटिका च्यातिन्छन्,
संविधान सर्वोपरी ठान्ने देशमा,
संविधानका शब्द आफ्नो हिसाबले व्याख्या गरिन्छन्।
डियर पुष्पलाल,
कम्युनिस्ट कसलाई लाग्ने हो?
भोको पेटमा निदाउन नसकिरहेका मनलाई कि,
ह्विस्कीको नशामा निदाइरहेका तनलाई?
विचारको राजनीति गर्नेलाई कि,
गुण्डागर्दीको साहयतामा माथि पुगेकालाई?
क्षमता भएर नि अवसर नपाएकालाई कि,
नेताका आसेपासे अनि नातागोतालाई?
त्यसैले त पुष्पलाल,
तिमीले कम्युनिस्ट,
नबुझेको रहेछौ,
नजाने रहेछौ।
को गलत?
कम्युनिस्ट बनाउने तिमी कि,
कम्युनिस्ट पालना गर्ने अहिलेका?
मैले सुनेको ढुङ्गा पनि हरेस खान्छ रे,
कम्युनिस्टको एकतामा,
कम्युनिस्टको एक ढिक्कामा,
यहाँ त छुटिन्छन्,
यहाँ त चोइटिन्छ।
न्यायको किनबेच हुने देशमा,
निर्मला पन्तको आत्मा वर्षौँदेखि
न्याय खोज्दै भड्किरहेको देशमा,
देशलाई बलात्कार गरिँदैछ,
देशलाई नै धुजा धुजा बनाइँदैछ,
अब नेपाल आमाको आँसु पनि सकियो होला,
त्यसैले डियर पुष्पलाल,
यो देशमा फेरि
एउटा पुष्पलाल खोज्दैछु,
एउटा रातो मान्छे खोज्दैछु,
एउटा कम्युनिस्ट खोज्दैछु।