मलाई वरिपरिबाट घेरेर राखेका रहेछन्। निलो मुख लाएर छोराछोरी टोलाएर मेरो अनुहारमा एकोहोरो हेरिरहने तर नबोल्ने भएछन्। आफन्तहरु सहानुभूति बाँडिरहेका हुन् कि खै के गरिरहेका हुन् पत्तै पाउन सकिनँ।
उँउँ गरेको आफ्नै आवाजसँगै मेरा कान आफैं ब्युँझिएजस्ता भए। विस्तारै वरपर हेरेँ, धेरै जना मलिन अनुहार बनाएर बसिरहेका रहेछन्। फेरि आँखा लोलाए। चिम्म गरेर बसिरहेँ। दिमाग चल्न थालेपछि पुनः स्मरण गरिहाल्दो रहेछ कस्तो अचम्म।
उही हेमन्त ऋतुको शिताम्य बिहानी, चिसो चिसो हावाले छुँदा लजाएझैं निहुरिएर मुस्कुराउँदै गरेको सुन्दर फूलबारीका थरिथरिका रङ्ग र आकृतिका फूलहरु, हावाको झोक्कामा एकैचोटि लहराउँदा संसारको स्वर्गीय आनन्द र सुन्दरताको अनुभूति दिलाएको आभास।
बहुरङ्गी चराचुरुङ्गीको बिहानैको क्रीडा र पुतलीहरुको लुकामारीको सम्झनाले अझ भरिदिएको मन। जीवनका पच्चीसौं हिउँद र वसन्तका बहार खेपेर प्रकृतिले निर्माण गरेको सुन्दर प्रतिमूर्तिभित्रको बैंसालु मनले घुम्टोभित्रबाट चियाउँदै मुस्कुराएको त्यो दिन थियो- मेरो विवाहको दिन।
आफ्नो मन परेको राजकुमार, मेरो दिलको धड्कन,सहयात्री, सहधर्मी अब मेरो जीवनसाथी पनि। प्रेमिल सम्बन्धमा समय बिताएको पनि कति छिट्टै दुई वर्ष बितेछन्।
औपचारिक शिक्षा सकेर सामान्य जीवनयापन गर्न सक्ने जागिर पनि मिलेको समय थियो। अब जीवनको बाटो तय गर्ने बेलामा हामी दुईको प्रेम सम्बन्ध पारिवारिक समर्थनका साथ विवाहमा परिणत हुँदै थियो। २६ वर्षीय जीवन पनि किशोरावस्थाको सामुद्रिक छाल जसरी उछालिँदै थियो।
जीवनको अर्को खुड्किलो उक्लने दिन। त्यो समय बालापनको समाप्तीको पीडासँगै नयाँ जीवनको उमंग अंकुराएकोले उत्साहित शरीर सरक्क फूलबारीमा जान्छ। फूलबारीमा मुस्कुराइरहेका रंगिन फूलहरुको हत्या गरी आफ्ना सपनाका रंगले नयाँ जीवन भर्न थाल्छ।
विश्वासको डोरीमा एक एक गर्दै आशा, भरोसा, उमंग, उत्साह, सपना, कल्पना, प्रेम, समर्पणका थुंगाहरुको रंगीन माला बनाएर दुनियाँको नजरको पराईलाई आफ्नो बनाउन म उसको गलामा पहिर्याउँछु। उसले पनि जीवनलाई दर्बिलो बनाउन सिन्दुर, पोते, श्रृंगारसहित भरोसा र आशाको माला पहिर्याउँछ। एकअर्कालाई हेरेर प्रफूल्ल हुन्छौं, धन्य हाम्रो जीवन।
एकअर्कामा समर्पित सुन्दर जीवन, सप्तरङ्गी मुस्कानले उत्साह थपिरहेको थियो। दुवै काँधले जीवनको रथ तानिरहेको सहज परिवेशमा खुसीका दुई बुँद छोराछोरी पनि सामेल हुन आइपुग्छन्। पूर्ण पारिवारिक जीवनमा रमाउँदा रमाउँदै घरभित्र र बाहिरको संघर्षलाई एकैसाथ पूरा गर्न केही समय जटिल हुन थाल्यो।
स्वाभाविक रुपमा बालबालिकाको हेरचाहमा आमाको बढी महत्व भएकोले घरभित्र र घरबाहिरको कामको जिम्मेवारी बाँडियो। परिस्थितिले सिर्जना गरेको अवस्थालाई स्वीकार्दै हामी चुपचाप विश्वासको डोरीमा बाँधिरह्यौं।
समयले हामीलाई टाढा बनायो। म काठमाडौंमा छोराछोरी, केही सामान्य जागिर र सामाजिक पाटोलाई धान्न थालेँ, उसलाई नेपालको दुर्गम ठाउँमा जागिरको सिलसिलामा जानुपर्यो।
घन्टौंसम्म देश परिवर्तनका विषयमा आफ्नो विचार राख्न सक्ने मान्छे आफ्नोतर्फबाट सकेको सेवा गर्ने अवसर आएकोले उसले सहजै जागिरे जीवन रोज्यो, मेरो पनि समर्थन थियो नै। समयले बेलाबेलामा भेट्टाउँदा रमाउने मन एकआपसमा समझदारीमा चलिरहेकै थियो।
एकदिन उसले फोन गर्दा आवाजमा परिवर्तन आएको महशुस गरेँ। उसले केहीबेरको अन्कनाहटपछि आफू बिरामी भएको बतायो। मेरो टेकेको संसारको केही भाग भासिएको जस्तो भयो। तर पनि समयमा उपचार गराएर निको बनाउन सकिने आशामा प्रयत्नशील रहेँ।
टाढाको ठाउँ भएकोले उसलाई तत्काल अस्पताल पुर्याउन सक्ने वातावरण मिलेन। न त आफन्त नै थिए न त अस्पताल नै थिए। सम्बन्धित निकायमा गुहार मागेर यो बन्दाबन्दीको समयमा काठमाडौं ल्याइपुर्याउन झन्नै तीन दिन लाग्यो।
प्रहरीलाई स्पष्टीकरण दिँदादिँदा अमिलिएको र बिरामीको अवस्थाको अनुमानले गलाएको मन लिएर काठमाडौं आउने बाटोको गौंडामा कुर्दाकुर्दा बल्ल एम्बुलेन्सको साइरनको भिडबाट कसैले बोलायो- समी!
आफ्नो नाम सुनेपछि मेरो मान्छेसँगको भेटको कल्पनाले खुसी हुँदै एम्बुलेन्समा गएँ तर गम्भीर अवस्थामा पुगेको देखेर मेरो होसहवास् उड्यो। हात समाएँ, उसले पुलुक्क मलाई हेर्यो। अलिकति अनुहारमा केही आशाका किरण सल्बलाए।
मैले भरोसा दिएँ- नडराऊ, तिमी दुनियाँको सपना साकार पार्ने काठमाडौं आइपुगेका छौ र म तिम्रो साथमा छु। अब तिमीलाई छिट्टै निको हुनेछ।
ऊ केही बोलेन, म चुपचाप उसको अनुहारमा नियालेर हेरिरहेँ। एम्बुलेन्स चालकले सोध्यो- 'मेडम कुन अस्पतालमा जाने?'
म झसङ्ग भएँ। हँ! मैले त कुनै पनि अस्पताल सोचेको पनि रहिनछु।
नजिकैको अस्पतालमा लैजाऊँ न जुन अस्पताल भए पनि छिटो डाक्टरसँग भेट्नु पर्छ।
चालकले नजिकैको अस्पतालमा लगेर रोक्यो तर कोही पनि छेउमा आउनै नमान्ने। म दगुर्दै इमर्जेन्सी वार्डमा गएर बिरामीको अवस्थाको बारेमा बताएँ तर त्यहाँ कहीँ पनि बेड खाली नभएको जवाफ पाएँ र तुरुन्तै अर्को अस्पताल लैजान एम्बुलेन्सलाई भनेँ तर जुन अस्पताल लगे पनि ठाउँ मिलेन।
मैले चिनेजति सबैलाई फोनबाट अस्पतालमा बेड नपाएको जानकारी गराएँ। सबैको प्रयास स्वरुप साँझतिर एउटा अस्पतालमा सामान्य बेड पाइयो तर बिरामीको अवस्था निकै नाजुक भइसकेको थियो।
उसलाई सास फेर्न समेत गाह्रो भइरहेको थियो। म उसको हालत हेरेर छट्पटाइरहेकी थिएँ। डाक्टरले अक्सिजनको तत्काल आवश्यकता भएको र अस्पतालमा नभएकोले आफैं खोज्न भने। सबैसँग हार गुहार गरिरहेकी थिएँ।
उसको छट्पटाहट देखेर मेरो दिमागले काम गरिरहेको थिएन। जतिसुकै सुखदुःख सँगै जिउँला भनेर कसम खाए पनि म उसको पीडासँग मैले फेर्ने सास बाँड्न सकिरहेकी थिइनँ। मेरो शरीरको कुनै शक्ति पनि उसलाई दिन सकिरहेकी थिइनँ।
मेरो शुभकामना र शुभभावना बाहेक उसलाई दिने मेरो भरोसा केही पनि थिएन। एकछिन मलाई मप्रति नै रिस उठ्यो- यस्तो गैर-जिम्मेवार देशको नागरिक भएर बसेकोमा, मैले जानीनजानी तिरेको करको दुरुपयोग भएको सहेर बसेकोमा अनि उसले जीवन अर्पण गरेर देश सेवा गरेकोमा।
तर के गर्नु र, समयले पीडा र आक्रोश पोख्न पनि दिएको थिएन। हरसंभव प्रयास गर्नु नै थियो। चिनेजानेका मान्छेबाट सहयोगको आशा पनि कमैमात्र गर्नु पर्ने। बन्दाबन्दी र निशेधाज्ञाका कारण कोही पनि मभएको ठाउँमा आएर सान्त्वना दिनसमेत पाइरहेका थिएनन्।
एकजना साथीले कताबाट अक्सिजनको सिलिन्डर फेला परेको खबर गर्यो। मेरो शरीरमा फरक किसिमको उर्जा पलायो। छट्पटाइरहेको उसको हात समाएर भनेँ- अक्सिजन सिलिन्डर पाइयो, अब सहज हुन्छ भरोसा राख, मन बलियो बनाऊ ल। कोभिडले गलाएको हात उसले केही चल्मलायो सायद उसमा पनि आशा पलाएको हुनुपर्छ।
एकैछिनमा अस्पतालमा परिवेश फेरिन थाल्यो। जिन्दावाद र मुर्दावादका नारा लाग्न थाले। सबैको ध्यान आ-आफ्नै तिर लाग्न गए। साथीले अक्सिजनको सिलिन्डर बोकेर अस्पतालको गेटमा बसिरहेको आन्दोलनका कारण भित्र आउन नसकेको खबर फोनमा दियो।
म अक्सिजन र उसको जीवनको पर्खाइमा छट्पटाउँदा छट्पटाउँदै उसले असहज पाराको छट्पटाउन पनि छोड्यो। उसले अक्सिजन, डाक्टर, अस्पताल र सरकारको भरोसासँगै मलाई पनि यही धर्तीमा छोड्यो र ऊ एक्लै कता गयो कता!
एकैछिन अघिसम्म मेरो मायाको संसार ठानेको शरीर डरलाग्दो मुर्दा भएर आँखा अगाडि पल्टिरह्यो। मेरा सबै सप्तरङ्गी सपनाहरु उसको लाससँगै ओइलाए गए।
कसैले आएर मलाई पर सार्दै उसलाई प्लास्टिकले ढाकिदियो, मेरा रहरहरु पनि त्यही प्लास्टिकभित्र गुम्सिए।
मलाई त्यहाँबाट हटाए। मेरा सबै सपना पनि ऊबाट टाढा भए। कसैले मुर्दाघरमा लासैलासको थुप्रोमाथि लगेर बजार्यो, मेरो ह्दयमा पनि घन बज्रियो। खै किन हो उसको लासलाई बजार्दा मलाई कहाँ दुख्यो थाहै पाइनँ।
सरकारको मृत्यु हुने संख्याको आँकडामा एक अंक थपियो, मेरो संसार उजाडियो। सरकारलाई केही फरक परेन, मेरो जीवन नै भताभुङ्ग भयो। कसैलाई खबर पनि गरिनँ किनभने मलाई फेसबुकमा उसलाई श्रद्धाञ्जली दिएको हेर्ने हिम्मत थिएन।
यो बेलामा कसैले सहयोग गर्ने अवस्था पनि थिएन। त्यसैले मैले छोराछोरीलाई फोन गरेर घरबाट बाहिर ननिस्कन भनेँ र शववाहनको पछिपछि पशुपतिनाथको घाटमा गएँ।
उफ्! त्यहाँ लास जलाउन पनि लाइन लाग्नु पर्ने रहेछ। सबैका सपनाको मृत्यु भएर लासैलासमा परिणत भएको रुवाइको लहरभित्र मेरो मन पनि कता हराएछ। मैले नजिकैमा बेच्न राखेको फूलबाट एक गुच्छा किनेर ल्याएँ।
त्यसैमा मैले सजाएका सपनालाई एकएक गर्दै टाढैबाट अर्पण गरेँ- तिमीले मलाई कति सस्तो मृत्युको सर्प्राइज दियौं है! न कात्रो, न मलामी, न सलामी, न संस्कार, न सान्त्वना, न आफन्त, न घाट। बस तिम्रो आत्माको चिरशान्तिको कामना। मिनिरल वाटरको बोतलबाट पानीको श्रद्धाञ्जली दिँदै भनेँ- गुड बाई।
कसैले लास नम्बर ५७५ को पालो आयो भन्यो र हेरेँ-
उसको लाससँगै मेरा सप्तरङ्गी सपना पनि जल्दै थिए। केबल बाँकी रह्यो त उसको नामको सम्झना। सरकारले दिएको सुन्दर उपहार, लास नम्बर ५७५।
म होसमा आएको देखेर सायद मेरा छोराछोरी खुसी भएका होलान्। तर म आइसोलेसनमा भएकोले छुन पनि पाएनन्। कुन्नी तिनीहरुले आफ्नो बाबाले छोडेर गएको पनि थाहा पाए कि पाएनन्।
मेरो आशामा जीवन जिउन टुलुटुलु हेरिरहेका आँखामा डरलाग्दो भविष्यको छायाले झनै पीडा दिलायो मैले आँखा चिम्म गरेँ। एक निमेषमा सोचेर सकिने यो जिन्दगी कति छोटो रहेछ।
जिन्दगी सोच्न छोटो तर भोग्न लामो लाग्ने रहेछ। आँखाबाट अनिश्चितताको खहरे बगिरह्यो। डरलाग्दो भविष्यको सोचले पिरोलिरह्यो।