एउटी गृहिणीको घरमा मूल्यांकन त परै जाओस्, गृहिणीको पारिश्रमिकका बारेमा चर्चा अनि परिचर्चा हुँदा दीपाको दिमाग गरम हुन्छ। बिहान दीपाको घरमा यही मुद्दामा कुरा भएको हुन्छ।
कुरा गर्दा मात्र सबै हौसिने अनि फेरि उही ताल। दीपाले आफ्नै परिवारजनबाट पनि सोचेजस्तो सम्मान पाएकी हुँदिन। दीपा जसले मास्टर डिग्री गरेर पनि गृहिणीका रुपमा बिहानदेखि बेलुकासम्म खटिएता पनि उनीलाई हेर्ने नजर आफ्नै घरका मान्छेका पनि त्यति राम्रो हुँदैन।
हप्तादिन अघि आफ्नो छोरीले 'मामु, हजुर के गर्नुहुन्छ?' भन्ने प्रश्नको उत्तरमा हाउस वाइफ लेख न भन्दा छोरीले भनी 'नाई! टिचर लेख्छु म त। मेरा साथिका मामुहरु सब काम गर्नु हुन्छ, मलाई लाज लाग्छ हजुर चाहिँ हाउस वाइफ हो भन्नलाई।'
छोरीको कुराले दीपालाई झन् थप तनाब बनाएको हुन्छ। दीपाको अनुहार सदाभन्दा अझ अँध्यारो भएको हुन्छ। उसले कसैसँग आफ्नो कुरा पोख्न समेत भ्याएकी थिइन।
ऊ आफै छक्क पर्छे कि 'आखिर मैले यो घरमा भित्रिएदेखि झन्डै दुई दशकसम्म आफ्ना परिवारको जीवन सहज बनाएँ, तर के पाएँ त?'
उसको यो प्रश्न उसका सरकारी सेवामा उच्च तहमा काम गर्ने श्रीमानलाई त पटक्कै थिएन र उनका घरका अरु सदस्यहरुलाई त झन् हुने कुरै भएन।
दीपा सदा झैँ उनकी छिमेकी कलालाई चटक्क परेर जागिरमा गएको देख्छिन्। कलाघरको काम हतार-हतार सबै भ्याउछिन्। दिनभरको उनको कामको पारिश्रमिक पनि पाक्छ। घर तथा समाजमा पनि राम्रो प्रतिष्ठा छ।
पाहुना पाछा आउँदा के पकाएर दिने, छोराछोरी स्कुलबाट आउँदा उनीहरुका रुची अनुरूप के खाजा तयार गर्ने, श्रीमान थकित भएर आउँदा तातो चिसो के दिने? भन्ने तनाव दीपालाई जति पनि हुँदैन रहेछ।
वर्तिर र पर्तिर घर भएकाले दीपाले सजिलै कलाका घरमा मान्छे आएको गएको देख्न सक्ने रहेछिन्। दीपाले कलाको कार्य तालिका उसका घर परिवारदेखि पाहुना पाछा समेतले बुझिसकेका हुँदा रहेछन् भन्ने कुरा कलाका घरमा आएका पाहुना आफै भान्सामा पसेर काम गरेको देखेर नै अड्कल काटिसकेकी हुन्छिन्।
अनि कलाका बच्चाहरु पनि बिना सिकायत खाजा खाने रहेछन्। श्रीमान पनि आफै भान्सामा पसेर तातो र चिसोको मात्रा नापेर खान जानेका हुँदा रहेछन्। दीपा लामो सास फेर्छिन् र आफ्नो र कला बीचको ठूलो खाल्डो देखेर छक्क पर्छिन्। किनकि त्यो खाडल समय अनुसार पुरिनुको साटो झन्झन् बढदै गएको थियो।
दीपा सोच्छिन् कि आफूले पनि घर र परिवारका बारेमा धेरै कुरा नसोचिकन एउटा काम बेलैमा टिपेको भए सबै कुरा कलाको झैँ आफै व्यवस्थित पो हुन्थ्यो कि? तर दीपा अभिमन्यु झैँ भूमरीमा फसिसकेकी थिइन् जहाँ निस्कने बाटोको कुनै पत्तो थिएन।
दीपाले आफ्ना परिवारको दिनचर्यालाई यति सजिलो बनाइदिएकी थिइन् कि १५/२० मिनेट पनि यसो पार्लरमा थ्रेडिङ गर्न जाँदा पनि दिनभरको सब कार्यतालिका डामाडोल हुन्थ्यो।
यत्तिकैम एक्कासी दीपाले छोराको आवाज सुन्छिन् 'मामु, टोइलेटको फ्लस खोइ त बनाको?'
अनि दीपा सिरिङ्ग हुन्छिन् किनकि समयमा मर्मत गरिएन भने थाकेर आएका दीपाका श्रीमानलाई घरको तनाव पटक्कै मन नपर्ने।
दीपा हतार-हतार मोबाइलमा प्लम्बरको नम्बर डायल गर्छिन्। उनीलाई त नम्बर कन्ठै छ। अनि त हजुर अब के लेखौँ र म?
त्यसपछि उही गृहिणीको पगरी धारण गरेकी दीपा र दीपाको कार्य तालिका।