लुना आज कोठामै थुनिएर बसेकी छिन्। उनलाई नियास्रो लागिरहेछ। मोबाइल हातमा लिएर ग्यालरीमा भएका फोटा हेर्दै थिइन्। त्यति नै बेला कागजमा कोरिएका अक्षरहरू कैद भएको एउटा पुरानो फोटोमा उनको नजर जान्छ।
त्यसमा लेखिएको थियो- मलाई स्वतन्त्रताको सास फेर्नु छ। आफ्नै घरमा पनि निस्सासिएकी छु। यो मानवीय संवेदनहीन संसारबाट धेरै टाढा जाँदैछु। मलाई खोज्ने चेष्टा नगर्नू।
रातो माटोले चिटिक्क सजिएको पिँढीमा सुकुल बिनै खुट्टा पसारेर घाम ताप्दै थिइन् लुनाकी आमा।
‘कान्छी बाहिर आइज त, दाइले विदेशबाट मोबाइल पठाइदिएको रहेछ। कसरी चलाउने हो मैले त मेसै पाइनँ।’
लुना हेर्दै गरेको मोबाइल बिस्तारामा फ्याँकेर हतार–हतार बाहिर निस्किन्छिन्।
‘स्क्रिन टच मोबाइल हो? ए साँच्ची, यो त दाइको पहिलेको मोबाइल पो त। आफूलाई नयाँ किनेर यो यो चाहिँ हजुरलाई पठाइदिनुभएछ। हाम्री आमाको नि रमाइला दिन आए अब,’ लुना मोबाइल हातमा लिएर ओल्टाइपल्टाइ गर्छिन्। मोबाइल स्वाइप गर्दै तस्वीर हेर्न थाल्छिन्।
‘हेर्नु त आमा ! दाइको फोटो। कति मोटाउनुभएछ,’ लुनाले एकपछि अर्को गर्दै फोटा देखाउँछिन्। फोटोमै सही, धेरै दिनमा छोराको अनुहार देख्न पाउँदा खुसीले आमाको अनुहार धपक्कै बलेको थियो। फोटा स्क्रोल गर्दैगर्दा लुनाको औंला टक्क रोकिन्छ। त्यहाँ पुराना फोटा पनि थिए।
यो त आमालाई देखाउनु हुँदैन। खाटो बसिसकेको घाउ किन बल्झाउनु- उनी मनमनै सोच्छिन्। आमाले ती फोटा नदेख्ने गरी अर्कै फोल्डरमा राख्छिन्। अनि मोबाइल चलाउन सिकाउँछिन्।
लुनालाई फुर्सदमा अनलाइन पोर्टलका लेखरचना पढ्न औधि मन पर्छ। त्यो दिन उनको नजर प्रायः हेरिराख्ने एउटा अनलाइन पोर्टलको लेखमा जान्छ। लेखको शीर्षक थियो- बुर्का खोल्ने दिन म सेलेब्रेटी हुनेछ।
लेखकको पहिचान नै नखुल्ने खालको फोटो।
उनलाई लाग्छ नाम पनि परिवर्तन होला। लुना लेख पढ्न थाल्छिन्।
'...म अहिले सहरकी एक सफल बिजनेस लेडी बनेकी छु। प्रायः महिलाहरू मेरो कारखानामा काम गर्न हुरुक्क हुन्छन्। म घरेलु हिंसामा परेकी छोरी, चेली हुँ। माइती कमजोर भएका कारण घर भित्रिँदा उनीहरूले मागेअनुसार दाइजो ल्याउन सकिनँ। अनपढ, कुरुप, बिहे भएको यत्तिका वर्ष भइसक्दा पनि सन्तान दिन नसक्ने बाँझी, हाम्रो खानदानले यस्तालाई नि अपनाउनु पर्ने कस्तो दुर्भाग्य आइलाग्यो, भन्दै यस्ता वचनले नघोचेको दिन हुन्थेन।
हो घर सम्पन्नशाली थियो। बाहिरी मान्छेले मेरो घर र मेरो सुखको खुलेर तारिफ गर्थे। श्रीमानलाई आफूप्रति भएको व्यवहार नसुनाएको होइन। खै उहाँलाई के भएछ? हरेक दिन निस्किहाल भन्ने बाहेक अरू शब्द उहाँको मुखबाट सुन्न पाइनँ। मैले उहाँप्रति देखाएको मायालाई नौटंकी ठानिन्थ्यो।
माइत नगएको होइन। घर खान नसकेर आएकी, त्यति सम्पन्न परिवारमा के कमी भएछ यसलाई, यही अगतिली भएर होला भन्दै पधेँरा, मेलापात जहाँ गयो त्यहीँ मेरो उछितो काढ्नेको कमी थिएन। यिनै कुराले सधैं पेट भरिन्थ्यो।
आमाले बाहिर छोरी भनेर बोलाउनुहुन्थ्यो। भित्र शोक र सन्तापको भारी थियो। चारैतिरबाट मलाई गलत बनाइयो। तर मभित्रको मलाई कहिल्यै कमजोर हुन दिइनँ। मलाई आनन्दले सास फेर्नु थियो। धेरै वर्षको थकान मेट्नु थियो। अनि आनन्दले निदाउनु थियो।
माइतमा सत्यनारायणको पूजा थियो। घरबाट एक हप्ताको बिदा लिएर म माइती हिँडे। माइत पुग्दा आफन्तको जमघट भइसकेको रहेछ। घरबाट कहिल्यै निस्कन पाइएला, माइत जाउँला अनि आमासँग दुःखको पोको बिसाउँला भन्ने हतार थियो। सोचेभन्दा विपरित भइदियो।
माइतीको आँगन के टेक्न भ्याएकी थिएँ, आफन्तीहरूले भन्न थाले- यसले नि दुःख पाउने भई। राम्रोसँग घर खान सकिन।
यस्ता वचनले मलाई कहाँ जाऊँ र कसो गरूँ भयो। बहिनीले मात्र थाहा पाउने गरी एउटा कागजमा मनका कुरा पोखेँ र उसको सुत्ने खाटको सिरानीमुनि राखिदिएँ- मलाई नखोज्नुहोला। म तपाईंहरूले नभेट्ने ठाउँमा सदाका लागि जाँदैछु।
यो पत्र भेटेपछि म सबैको ग्यालरी र सञ्जालमा सेलेब्रेटी नै भएँ। तर मलाई कसैले खोजेनन्। बरू मेरो तस्वीरमा माला चढाउन थालियो।
मैले आफूलाई ज्युँदै राख्न बुर्का लगाएँ, मलाई कसैले नचिनून् भनेर। केही समयपछि सँगै पढेको साथी सम्पर्कमा आए। मैले उनलाई चिने तर आफूलाई चिनाइनँ। उनी एक प्रतिष्ठित फाइनान्सका प्रमुख अधिकारी थिए। आफ्नाबारे केही कुरा बताएँ मैले। उनलाई यो आवाज कहीँ कतै सुनेजस्तो लाग्यो होला।
मैले उनीसँग बिजनेसका लागि ऋणको कुरा गरेँ। सायद उनको मनमा मेरो आवाजले ठाउँ लिएको हुँदो हो। मलाई विश्वास गरेर उनले केही ऋण उपलब्ध गराइदिए। अपुग रकमका लागि नाक-कान बुचो बनाउनुपर्यो।
बिहे नहुँदै मैले गाउँमा ऊनीका कपडा, स्वीटर, गलबन्दी, झोला बुन्ने तालिम लिएकी थिएँ। मसँग सीपको नाममा त्यही एउटा गाउँमा सिकेको सीप थियो। भाडामा लिएको सानो कोठा। त्यही कोठामा अटाउने खालको तान (मेसिन) किनेँ। मेरो उत्पादन ग्राहकले औधी मन पराउन थाले।
पछि छुट्टै भाडाको कोठामा यसलाई सञ्चालनमा ल्याएँ। अहिले मेरो उत्पादन देशका हर कुनामा पुगेको छ। देशमा मात्रै होइन विदेशमा समेत निर्यात हुन थालेको छ। सबैले 'बुर्कावाली' भनेर चिन्छन् मलाई। यस्तै हिंसामा परेका झन्डै पचासभन्दा बढी महिलालाई रोजीरोटी दिन सकेकी छु। अझै धेरै काम गर्न बाँकी छ। मलाई बुर्काले मृत्युको मुखबाट बचाएको छ। हिम्मत दिएको छ। यो बुर्का खोल्ने दिन म निकै सेलेब्रेटी हुनेछु...'
‘कति मोबाइल मात्रै हेरिराखेकी,’ बुवाको डाँकोले लुना तर्सिन्छिन्।
‘छोरी अब तेरो गाउँको पढाइ पनि सकियो। हामीले पढाउन सक्ने भनेको यत्ति हो। उमेर पनि भइसक्यो। अब तलाईं यही आँगन पोलेर दिन पाए हामीलाई सन्तोष मिल्थ्यो।’
‘बिहे? अझै रहर पुगेको छैन बुवा हजुरलाई। यो फोटोले माला लगाएको हजुरकै कारणले हो। दिदीले लाखौं बिन्ती गर्दा पनि मान्नुभएन। धनी घर भनेर दिनुभयो। त्यस दिनदेखि हजुरको आँखा ओभानो भएका छैनन्। मलाई पढ्नु छ बुवा। छोरी जन्माउनु, हुर्काउनु, परिपक्व बनाउनु र गोत्र सारेर पराइलाई सुम्पनुले मात्र आफ्नो कर्तव्य पूरा भएको मानिँदैन बुवा। विपतका बेला छहारी बन्न सक्नुपर्छ। मैले हजुरको आँखालाई राम्ररी पढेकी छु, पुरुष रुनु हुँदैन, नारी इत्रेर हाँस्नु हुन्न। यस्तै बर्दी लगाइदिएको छ हाम्रो समाज र संस्कारले। यो यातना भोग्नुपरेको छ हरेक छोरीले। म सहर जान्छु बुवा। काम गरेर पढ्छु। अनि दिदीलाई खोज्छु। ऊ मरेकी छैन।’
लुना सहर जान्छिन्। अनि बुर्कावाली दिदीको कारखानामा गएर काम सिक्न थाल्छिन्। सबै जना काममा व्यस्त हुन्थे। लुना अचम्म मान्थिन्, उनकी साहुनी दिदी ‘बुर्कावाली’ को चालचलन ठ्याक्कै आफ्नी हराएकी दिदीसँग मिलेकोमा।
लुनालाई बुर्कावालीप्रति निकै चासो थियो। एकदिन लुनाले बुर्कावालीलाई पछ्याउँदै एउटा घरसम्म पुग्छिन्। घरको झ्यालबाट बुर्कावालीलाई चियाउँछिन्। उसलाई एक्कासि आफूले टेकिराखेको जमिन भासिएजस्तो लाग्छ। आकाश थाप्लोमाथि बजारिएको अनुभव हुन्छ। कारण बुर्का खोलेकी ती महिला अरू कोही नभएर लुनाकी हराएकी दिदी हुन्छिन्।
लुनाले सबै कुरा थाहा पाइन्। पात्रोका पाना पल्टिँदै गए। उनले कारखानामा काम गरेको आज तीन महिना बितिसक्यो। भोलि उनको जिन्दगीकै विशेष दिन हुनेछ। त्यो दिनलाई उनले विगत दुई महिनादेखि ब्यग्रसाथ कुरेर बसेकी थिइन्।
त्यो दिन कारखाना अरू दिनभन्दा भिन्न थियो। लुनाले कारखानाको सजावटमा कुनै कमी हुन दिइनन्। बुर्कावालीलाई अर्कै बाहना बनाएर कारखानामा बोलाइयो। त्यो बुर्कावालीका लागि सर्प्राइज थियो। कारखानाभित्र पस्न नपाउँदै लुनाले बुर्कावालीलाई झ्याम्म अँगालो हाल्छिन् र भन्छिन्- ह्यापी बड्डे टु यु दिदी।
बुर्कावाली बहिनीको त्यो कसिलो अँगालोबाट फुत्त्किएर त्यहाँबाट बाहिरिन्छिन्।
समाजले मेरो पहिचानको सुँइको मात्रै पायो भने मलाई बाँच्न दिन्न भन्ने कुरामा बुर्कावाली अझै पनि निकै चिन्तित थिइन्।
समय बदलिएको थियो र साथमा मान्छेको सोच पनि। उनको कलात्मक साहसलाई सबैले सम्मान गर्छन्। बुर्कावाली दिदी सबैको प्रेरणाको स्रोत बन्छिन्।
आफूभित्रको तागत सधैं बचाउन सक्नुपर्छ। हिम्मत हारे संसार हार्छ। संसार हार्नु भनेको आफूलाई हराउनु हो। बचाउनका लागि आफू बाँच्नुपर्छ। जीवन संघर्षशील छ। यहाँ रहेका हरेक प्राणी बाँच्नका लागि निकै संघर्ष गरिरहेका छन्। यसको एउटा दह्रो प्रेरणा र हिम्मतको मूल बनेर जहाँसुकै छाउँछिन् बुर्कावाली।
वस्तुको महत्व अभावमा बढी हुन्छ। उनकै यादमा भित्रभित्रै खरानी बनेका बाबुआमा अनि उनको बालापनलाई स्मरण गर्दै आँसु बगाउने समाज सबैले कोहिनुरको उपस्थिति भएको आभाष गर्छन् बुर्कावालीको पुनर्जीवनलाई।