आमा!
बाढीले सबैथोक लग्यो
अरुथोक मात्र लगेको भए त फेरि पाइन्थ्यो होला
लग्यो तिमीलाई नै
मेरो सर्वस्व लग्यो।
तिमीले दिने संरक्षण लग्यो
स्नेहका चुम्बन लग्यो
म थाक्दा महशुस गर्ने मन लग्यो
म दुखित भई रुँदा सँगै झर्ने ती आँसु लग्यो।
लग्यो मेरो आदर्श
फलानाकी छोरी हो भनेर चिनिने पहिचान लग्यो
पहिचान त फेरि पनि बन्थ्यो होला
मेरो जीवनको त्यो आधार नै लग्यो।
मेरो उन्नति प्रगतिको कामना गर्दै दिने,
आशीर्वाद नै लग्यो
मलाई सही गलत हो भनी बाटो देखाउने,
पथप्रदर्शक नै लग्यो
पथप्रदर्शन त अरुले पनि गर्थे होलान्
तर निस्वार्थ सत्मार्गमा डोहोर्याउने ती हातै लग्यो।
अन्यायका अगाडि कहिल्यै नझुक्ने,
अडान लिने तिम्रो त्यो हृदय नै लग्यो
सक्षम अनि सभ्य बन्ने,
संस्कार दिन्थ्यौ तिमी
संस्कार त अरुले पनि दिन्थे होलान्
तर तिमीले दिने त्यो सुसंस्कार नै लग्यो।
मन दुखेर पिल्सिएको बेला डाँको छोडी छाँद हाल्ने,
तिम्रो त्यो न्यानो काख नै लग्यो
सान्त्वनाको काख त अरुले पनि दिन्थे होलान्
तर मलाई धर्ती चिनाउने त्यो मेरो भगवान् नै लग्यो।
आमा!
अब म कहाँ पाऊ तिमीलाई?
दैवले सदाका लागि मबाट खोसेर लग्यो
मेरो सर्वस्व लग्यो।