भोलिपल्ट बिहान पहेँलो हुड्डी र निलो टोपीमा लता साह्रै खुलेकी थिइन्। तर कुनै दिन मेरा लागि सबैभन्दा सुन्दर लाग्ने रोमा दुब्ली, टीठलाग्ने भएकी थिइन्। राम्ररी हेर्नसम्म सकिएन।
‘हेलो शरणजी फोटो खिचिदिनु न।’
लताको आवाजले म फेरि बिथोलिएँ ,रोमाको यादबाट।
‘सेल्फी पनि लिनु न।’
म पनि मन्द मुस्कानसहित मेरो कुमनजिक आइपुग्ने उसको कदमा आफूलाई होच्याउँदै सेल्फी लिदै थिएँ।
मोबाइल हेर्दै उनी मुस्कुराइन् र भनिन्, ‘यो फोटो त म फेसबुकमा राख्ने हो।’
‘साँच्चै हिजो रातिको बसाइँ ठीक थियो नि?’ म हिँड्दै उनलाई प्रश्न गर्छु।
‘चिसो थियो,’ अघी बढ्दै लताले जवाफ दिइन्।
‘तताउन आउन त मन थियो नि। तर…’ म हाँस्दै भन्छु।
‘हैट! मलाई चिसो भयो। कुरा त्यति हो।’
‘अबेर रातीसम्म हामी साथै थियौं। बिहानसम्मै बसेको भए के पो बिग्रन्थ्यो र?’ म अझ कुरा तन्काउँछु।
‘भयो। जाउँ अब।’
लताले मेरो पुरूष आशक्तिलाई नबुझेझैं टारिदिइन्। तर मनदेखि नै भन्नुपर्दा म उनको रुप र शरीरसँग मात्र लोभिएको थिइनँ। उनको बोली, व्यवहार, हाँसो सँगसँगै मेरो अधुरो मायाले उनीसँग तानिएको थिएँ। नजिक पुगेपछि अझ नजिक हुने चाहना कहाँ नाजायज हो र?
रोमालाई पनि मनाउन निकै समय लागेको थियो। पहिलो पटक उनलाई मैले कोठामा पुर्याएको अनि मैले गरेको व्यवहार सम्झ्यो भने अहिलेको कानूनले बलात्कारको परिभाषामा अटाएका धेरै व्यवहारहरू मैले उनलाई गरेको थिएँ। साँझ घर जाने बेलासम्म पनि उनी निकै रोएकी थिइन्। अनि उनको आँसु देखेर म पनि रोएको थिएँ। आवेग भन्ने कुरा कति निष्ठुर हुन्छ भन्ने कुरा मैले त्यो बेला थाहा पाएको थिएँ। शारीरिक रूपमा नजिक हुन पाउनु त्यो दिन मेरो लागि जति सुखद थियो। उनको लागि उति नै पीडादायी, शारीरिक र भावनात्मक दुवै रूपमा। त्यसपछि पनि धेरै पटक मैले मौका छोडिनँ अनि उनी रून छोडिनन्। अन्तिममा बाबा आमाको जिद्दीमा पनि मौनता छोडिनन्। र उनी मेरै भैभैकन पनि मेरी भइनन्।
हामी गाडीमा बसीकन गाडी माथिल्लो गाउँमा पुगिसकेको थियो। हामी त्यसदिन त्यहीँ बस्यौं। फेरि साँझ उही तातो आगो, चिसो पानी, तातो आँत।
‘आज मध्यरातमा नछोड ल।’ साँझको भेटमा म उसलाई जिस्क्याउन छोड्दिनँ।
‘तैट! अरू कुरा गर्न आउन्न तपाईँलाई?’ उनी पनि रिसाएझैं गर्न छोड्दिनन्।
‘तिमी जत्तिकी केटी नजिक हुँदा कुन चाहीँ पुरूषले रामायण र महाभारतको कुरा गर्ला त?’
म पुरूष बल लगाइराथेँ, उनलाई फकाउन। उनलाई मनाउन। तर उनी मनाङको ढुंगा जस्तै भैरहेकी थिइन्। कडा, झन् कडा। मलाई उनको यो पन पनि निकै मन परिरहेको थियो। फेरि हिउँ जस्तै पग्लन पनि के बेर?
बिहान निकै चिसो थियो। उनी राती कुन कोठामा सुत्न गइन् मैले चाल पाइनँ। परको गंगापूर्ण हिमतालमा हिउँको सेतो लेउ लागेको यहीँबाट देखिन्थ्यो। मेरो कोठा नजिकको अर्को कोठाको हल्लाखल्लाले ब्युझिएए। साथीलाई अलि समस्या भारहेछ। ११ बजे एक जना डाक्टर आउँदै छ रे चामेबाट। सन्चो भए हामीसँग जान्छ रे, नभए चामेमा हामीलाई पर्खन्छ। २१ वर्षे तन्नेरी केटा अष्ट्रेलियाबाट यहीँ तिलिचो ताल जान बिदा मिलाएर आएको रहेछ। जान पाएन भने कति मन थकथकाउँदो हो।
‘हेलो’
‘उठीसक्नुभो?’
‘लौ म अहिले उठेको हो त? ऊ त्यो गुम्बामा, त्यो गाउँतिर गएर आएको।’
मनाङ गाउँको माथिल्लो भेगतिर देखाउँदै बोलिरहेकी उनी रातो ज्याकेट र रातो टोपीमा लालीगुराँस जस्तै प्यारी देखिएकी थिइन्।
‘मलाई पनि तपाईँ गएको ठाउँहरु घुमाउनुस्। गाईड बन्नु पर्यो अब।’
‘ल हिड्नुस् न त। चार्ज चाहीँ लिन्छु है म। फ्रीमा काम गर्ने बानी छैन,’ अघि लाग्दै उनी बोल्छिन्।
‘अस्तिदेखि दिन्छु भनेकै त हुँ। तपाईँ मान्नु हुन्न र पो,’ म फेरि उही लवजमा प्रस्तुत हुन्छु।
‘फेरि’ उनी केही रिसाएझै गर्दै ठूलो स्वरले बोल्छिन् र मतिर फर्किएर आँखा तरेझैं गर्छिन्। अनि म पनि कान समाएझैं गर्छु। हाम्रो नाटक चलिरहेको थियो।
फर्किदै गर्दा झुल्के घामले राप दिन नसके पनि, उज्यालो मात्र भए पनि पोखाएर ‘म घाम हुँ’ भन्ने अनुभव चाहीँ गराइरहेको थियो।
त्यहाँका स्थानीयको घर,बसाइ, खेतीपाती अनि प्रतिकूल मौसम देखेर मन निकै अमिलो भयो। देशको यस्ता कति टुक्राहरु यसरी चिसोमा कठांग्रिएर बसिरहेको छ होला?
‘लताजी, हामी त कति भाग्यमानी यहाँ हेरिकन। सुगम ठाउँमा जन्म लियौं,’ मभन्दा अगाडि हिँड्दै गरेकी उनी रोकिन् र मतिर फर्किदै बोल्न शुरू गरिन्,‘शरणजी, मेरो बुझाइ चाहीँ तपाईँको भन्दा अलग रहेछ। म चाहीँ यहाँ जन्मेकाहरू भाग्यमानी सम्झन्छु। हेर्नु त सबैको जीवन एकनासको छ। केसँग के अनि कसको कोसँग तुलना गरेर दुःखी हुनु र यहाँ? यहाँकालाई त दु:ख, डाहा, ईष्या, लोभ भन्ने नै थाहा छैन होला। आफ्नो जे काम छ गर्यो। जे फलेको छ मिठो मसिनो खायो। अनि मौन जीवन। हामी आइसोलेट भएर ध्यान गर्न समय खोज्छौं। यहाँ हर व्यक्ति आयसोलेट छन्। न यहाँ प्रतिस्पर्धा छ। न यहाँ पद, प्रतिष्ठाको कुरा। जीवन शान्तसँग बिताएका छन्। गुम्बामा जान्छन्। बुद्धको शरणमा पर्छन्। कति आनन्द। कति लोभलाग्दो जीवन। यिनले त पहिलो सास नै यही चिसो हावामा फेरेका थिए। हाम्लाई जस्तो ‘आच्छु’ पनि यिनलाई हुन्न। यिनले देखेको पहिलो संसार पनि यही हो। हाम्लाइ जस्तो ‘आहा’ पनि यिनलाई हुन्न। जता सोचे पनि सम्मै। कति शान्त।’
उसको कुरा मलाई सोह्रै आना सही लाग्यो। लताले भने जस्तै यिनीहरुलाई आफू बसेको संसारसम्म छ। उतारचढाव केही छैन। जताततै शान्ति छ।
उनको आध्यात्मिक गन्थनमा उनलाई जिस्काउने रस पनि भएन अब। अस्ति मसँग भोट्काको बोतल चियर्स गर्ने महिला यिनै हुन् र जस्तो लाग्ने।
बिरामी साथी हामी पुग्दा सन्चो भैकन झोला मिलाउँदै रहेछ। हामी पनि खाना खाइ समूहमा सामेल भयौं र खाङसार गाउँसम्म गाडीमा हिँड्यौं। खाङसारबाट श्रीखर्कसम्म हिँडेर पुगिने रहेछ।
श्रीखर्कसम्मको यात्रामा हामी राष्ट्रिय गीत गाएर नेपाली हुनुको गर्व गर्दै त कहिले अन्ताक्षरी खेल्दै अघि बढिरहेका थियौं। लता र अर्की दुई महिला साथी त गीतको तालमा नाच्दै पनि थिए। केही साथीहरू खुबै रमाइलो गर्नुपर्ने रहेछन्। यात्राले मान्छेलाई नजिक बनाउने। साथी बनाउने। खुशी बनाउने। अनि पिडामा पनि रमाउन सिकाउने।
जति जति माथि आयो मर्स्याङ्दी दुब्लाउँदै छे। मेरी रोमा जस्तै। पहिलेभन्दा कति दुब्लाएकी। चिसो ढाक्न लगाएको लुगाले पनि उसको पातलो ज्यान लुकाउन सकेन। उनलाई कहिल्यै मसँग भेट्न, बोल्न मन भएन होला त? मलाई त यो जीवन यति सहज होला भन्ने एक रत्ति लागेको थिएन। तर समयले नै सबै चोटको मल्हम लगाउने रहेछ। सायद उनलाई पनि मल्हमपट्टी भयो होला। बाटोमा भेटिएको त्यहीँ केटो रहेछ रोमाको बुढा। लताको चिनजानको मान्छे। अनायासै लतालाई सोधौं सोधौं भयो।
‘लताजी। अस्ति चामेमा भेटिएको केटा को रे?’
‘ए ऊ? साथी जस्तै हो।’
‘अनि मेरी बहिनीको कोठामा उसको बुढी भेट हुँदा तपाईँले कुरा गर्नुभएन त?’
‘उसले आफ्नी श्रीमतीलाई भेटाएर परिचय नगराइकन के भनेर कुरा गर्नु?’
तर उनीहरुको कुराकानी सुन्दा डेढ दुई वर्ष भेट नभए जस्तो त लागेको थिएन। सोध्न मन लाग्यो तर फेरि चुप भएँ।
कारण फेसबुकको एउटा ट्रोलले दिमागमा हिट गर्यो। लभ म्यारिज गर्दा आफ्नी गर्लफ्रेण्डसँग बिहे हुन्छ। अनि एरेन्ज मेरिजमा चाहि अरूको गर्लफ्रेण्डसँग बिहे हुन्छ। यहाँ त अब लभ म्यारिज गर्दा पनि अरूको एक्स गर्लफ्रेण्ड पनि पर्न सक्ने सम्भावना देखिँदैछ।
मनमा हजार शंकाहरु दौडिरहे पनि यता म चाहीँ लताको चन्चलता, हँसिलो अनुहार हेर्दै उसकै कहिले अघि त कहिले पछि लाग्दै सुस्तरी यात्रा गर्दै थिएँ। मन र मस्तिष्कले खाएकी केटीलाई उसको कुमारीत्वमा जोडेर शंका गर्दै पनि थिएँ म। आफूलाई नराम्रो लाग्यो आफैसँग। अनि मन यसै हिउँ जस्तो भयो, कक्रक्क। घरिघरि मलाई हेर्दै उनले हाँसिदिँदा फेरि मेरो मन पग्लियो।
अनि अनायासै मैले उनलाई मेरो नजिक ताने र एक हातले कम्मरतिरबाट आफ्नो अघिल्तिर उभ्याउने गरी अँगालो हाले। हाम्रो छेउछाउमा कोही थियो थिएन पनि हेक्का भएन। बिस्तारै मेरो अनुहार उनको अनुहारको समिपमा पुर्याएँ र ओठमा चुम्बन गरेँ।
यतिखेर मसँग पुरुष हुनुको कुनै भाव थिएन। एउटा प्यारी साथीभन्दा बढी उनलाई केही देखिनँ। तत्कालै उनको खुलेको ओठ बन्द भएका थिए र ती प्यारा साना दुई आँखा झन खुलेका थिए। अनि कतिखेर उनले मेरो अँगालोबाट आफूलाई छुटाइन्। कतिखेर म पनि उनको पछि चुपचाप हिँडे। कतिखेर हामी होटल पुग्यौं। केही याद भएन।
भोलिपल्ट श्रीखर्कबाट हामी बिहानै तिलिचो तालतर्फ अघि बढ्यौ। पत्थरको डाँडैडाँडामा कतै कतै हिउँको थुम्का सेतो गुराँस जस्तै फुलिरहेको देखिन्थे। अब यहीकही चिसो सिरेटोसँग खेल्दै शितल पानीको तलाउ हामीलाई पर्खीरहको छ भन्ने आभाषले मात्र पनि मनलाई कति आनन्द दिने।
अघिअघि लौरोको सहारामा बिस्तारै बिस्तारै लता अघि बढिरहकी थिइन्। उनी सेल्फि स्टीकले घरी घरी भिडियो खिच्दै थिइन् भने घरी घरी पछील्तिर मलाई हेर्दै फोटो खिच्दै पनि थिइन्।
गन्तब्यमा पुग्दै गर्दा म भने एक्लो यात्रा खोज्दै थिएँ। कयौं पटक मैले एक्लै यात्रा गरेको थिएँ। बाटोमा भेटिएका बटुवालाई सोध्दै उकाली ओराली गर्दै तय भएको एक्लो यात्रा अनि आफूले आफूसँग मनको तरेली बलेसी हुँदै तय गरेको यात्रा जति मिठो मलाई कहिल्यै केही लागेन। त्यसैले पनि म हिँडाइको रफ्तार घटाउँदै पछाडि पछाडि हुँदै थिएँ। नभन्दै अरू हुलसँगसँगै लता पनि हराइन्।
म चाहीँ चारैतिरका सेता कपाल फुलेका, एक्लै ध्यानमा मस्त भै बसेका ध्यानी जस्ता हिउँका डाँडासँग हिमाली सिरेटोमार्फत साउती गर्दै थिएँ।
‘साँच्चै तिमीहरू यहाँ खुशी छौ त?’ म टाउको उठाउँदै ती अजंगका वृद्ध सन्तपुरुष जस्ता हिमाललाई प्रश्न सोध्छु।
चिसो सिरेटोले सिरिरि गर्दै मेरै कानमा आएर ‘खुशी छु’ भने जस्तै लाग्यो पनि।
लगाएका टोपी, ज्याकेट, मफलर त्यही खोलेर चिसोमा लुट्पुटिदै हिमालमा हराउन थाले म। चिसो एकाएक गायब भए झै भयो। न्यानो घामको स्पर्ष पाए झै भयो। बन्द यी आँखा मलाई खोल्न मन भएन। अनुपम आनन्द, एक अलग किसिमको शान्ति अनुभूति भैरहेको थियो। एकपटक योग प्रशिक्षणकै क्रममा हरिद्वारबाट ३ घण्टा उत्तरतर्फ गंगाको किनारमा पुग्दा पनि यस्तै अनुभव भएको थियो।
म पलेटी कसेर बसिरहेको चिसो ढुंगा पनि न्यानो चकटी जस्तै महसुश भइरहेको थियो। मनको तरंग बढो गजबको छ। भित्रबाट अनुभव गर्न सक्यो भने सबथोकको अनुभव गर्न सकिन्छ, जहाँ बसेर पनि। फेरि खप्तड स्वामीको ‘विचार विज्ञान’ को हरेक कुराहरु रिकल हुन थाले। खप्तड जाने इच्छा अझ तिब्र भएर आउन थाल्यो।
अर्को समूहको तिलिचो पुग्दाको उत्साह सँगसँगैको हल्लाखल्लाले म आँखा खोल्न बाध्य भएँ।। अनि अन्तरमनको यात्रालाई त्यहीँ बिट मार्दै लुगा उनेर म अगाडि बढेँ।
केही छिनको हिडाइ लगत्तै ‘आउ म तिम्रै पर्खाइमा थिएँ’ भनेझैं टुप्लुक्कै मेरै आँखा अगाडि तिलिचो ताल आइपुग्यो।
तन्नेरी उमेरमा नै केश फुलेका मान्छेको काखमा लजाएर बसेकी सुकन्या जस्ती तिलिचो ताल। यति सुन्दर कि म शब्दमा नै पोख्न सक्तिनँ। सेता पानामा निलो मसी पोखिए जस्ती तिलिचो ताल।
‘तिमी त तिलिचो ताल भन्दा पनि सुन्दर देखिएकी छौं। तिलिचो ताल लजाइरहेको हेर त,’ फोटो खिच्न मस्त भएकी लतालाई म जिस्किँदै मनकै कुरा ओकल्छु।
‘कति कुरा जान्ने क्या।’
‘हो भन्या।’
मनदेखि यत्ति रसिक अनुभूति भइरहेको थियो। लतालाई तपाई सम्बोधन गरेर सम्बन्धको वजन घटाउन मन लागेन।
उनी चाहीँ मैले जिस्काउँदा मलाई जवाफ दिनुको साटो पटकैपिच्छे
‘जान्ने’, ‘धेरै जान्ने’ , ‘है’ जस्ता शब्द प्रयोग गर्दै मेरा कुरालाई टुङ्ग्याईदिन्थिन्।
केही दिनदेखिको चिनजानपछि उनी मेरी लायक नै देखिरहेको थिएँ। टुक्रिएको प्रेमलाई उनीसँग फेरि नविकरण गर्न मन लाग्यो र यति सुन्दर ठाउँमै प्रेम पोखिदिन तयार भएँ।
तिलिचो तालबाट फर्कँदै गर्दा मैले उनलाई भने पनि।
‘तिमी जत्तिकी पाएँ भने म भाग्यमानी हुनेछु। यो जीवनमा तिमीलाई खुशी राख्नु मेरो पहिलो प्रयास हुनेछ।’
‘हतार नगर्नू न शरणजी। हामीले एक अर्कालाई कति पो चिनेका छौ र?’ हिँडाइको रफ्तार नघटाइकन प्रत्युत्तर दिइन्।
‘तिमीलाई मैले चिने जत्तिको तिमीसँग मलाई जीवन बिताउन आवश्यक परिचय पर्याप्त छ। तिमी चाहन्छौं भने मेरो बारेमा बुझ्न सक्छौं,’ म वास्तवमै उनीसँग जीवनको लामो यात्रा हिँड्न तयार भैसकेको थिएँ।
उनी मौन रही। मौनता सधै समर्थन पनि नहुनसक्छ। उनलाई हेर्दा समर्थन नभए जस्तो पनि देखिएन। तर उनले मलाई केही पनि जवाफ दिइनन्। यात्रा अझै केही दिन चल्ने नै छ, त्यसैले उनको जवाफको प्रतिक्षा गर्नु उचित लाग्यो र विषयान्तर गर्दै उनीसँग अगाडि पाइला चालिरहेँ।
यो प्रकृतिको सुन्दर छटा। यी सेता हिमाल। यी साना साना सल्ला र हिमाली घाँसका पाटन। यो बग्दै गरेको मर्स्याङ्दी। यो चिसो हावा। अनि उत्तरको पर्खाइमा पोखिएको मेरो भावना। सबै सुन्दर। सबै मिठा।
उस्तै हाँसोठट्टा अनि उस्तै उल्लासमा हामी दुई दिन लगाएर चामे आइपुग्यौं। दिउँसोको खाजा खान चामे आइपुगेकोले यो फुर्सदमा म चामे बजारलाई अझ नजिकबाट हेर्न चाहन्थेँ। लता होटलको छतमा मोबाइल चलाएर बसिरेहको देखेँ।
‘तिमी बजारतिर जान्नौं?’
‘म यतै बस्छु। अलि थकाइ लागेको छ,’ उनले भनिन्।
म बाटो लागेँ।
अब यो यात्रा भोलि टुंगिदै छ। सूचना प्रविधिको यो युगमा टाढा भइने भयो भनेर दुःख मान्नुपर्ने बेला त थिएन। तर मलाई उनले जवाफ दिएकी थिइनन्। सकारात्मक जवाफ लिएर छुट्टीदाको मजा म गुमाउन चाहन्न थिएँ। बाटोमा सरिनासँग फोनमा कुरा गरेँ।
‘आज तेरो हाकिम्नी खोइ त?’
‘हाकिम्नी त हाकिमसँगै उनको कोठामा हुन्छ नि दाजै। कहिलेकाही मात्र हो हामीसँग हुने’
‘ए!’ यसको जवाफले यसै रिस उठ्यो।
‘कस्ती छे साँच्चै?’ कुरा जसरी गरे पनि म रोमाकै कुरा गर्न चाहिरहेको थिएँ।
‘एकदम असल हुनुहुन्छ भाउजु। भरेभोलि नै सर उहाँलाई काठमाडौं छोड्न जाँदै हुनुहुन्छ। बच्चा भएपछि मात्र ल्याउने रे अब’, उसले सुनाइ।
अरू सानातिना गन्थन सकाएर फोन खल्तीमा राखेँ।
यो यात्रा सकिनासाथ मलाई दाम्पत्य जीवनको यात्रामा निस्कनु छ। मनाङ आउनु अघिल्लो दिनसम्म पनि ‘लखर लखर हिँड्ने हैन। बिहे गरेर गृहस्थी शुरू गर्ने बेला भो अब,’ भनेर फोनबाट आमाले झपार्दा म मोबाइल बन्द गरेर हिँड्थे। मलाई यसरी कोही मनले खाने केटी भेटिएला झै लागेकै थिएन। मेरो प्रस्ताव नस्वीकारी उनी भोलि मबाट छुट्टिने पो हो कि? मन चसक्क दुख्यो। तर मनको चस्काइ पनि मलाई बानी परेछ। तुरून्त सहज भएर विचार बदलेँ।
सानो बजार दुई चक्कर लगाएपछि एक कप कफी खाने विचार गर्दै म बजारको खोली नकट्दैको हरियो रंगले सजिएको होटलतिर लागेँ। एक्लै हिँड्नु, सोच्नु, रमाउनु पनि मेरो लागि निक्कै प्रिय कुरा हुन्।
हरिया जस्ताले छाएको त्यो होटल चिटिक्कसँग बनाएको रहेछ। कफीको अर्डर गरेपछि भित्तामा राखेको वाइफाइको पासवर्ड मोबाइलमा टाइप गरे र हराउन थालेँ समाजिक सञ्जालतिर। कफी पिएर होटल फर्किन मात्र के लागेको थिएँ देब्रेतिरको अर्को कोठामा एउटा टेबलमा बसेकी केटी मलाई लता जस्तो लाग्यो। पाइला पछाडि फर्काएर फेरि हेरेँ। साँच्चै लता नै रहिछन्। यहीँ चामेमा भेट भएको केटासँग। अघिसम्म आफ्नै आँखामा सजाएकी लता अरू कसैसँग मलाई थकाइ लागेको बहाना बनाएर भेट्न आएकी देखेर मन साह्रै खिन्न भयो। मलाई छलेर नै भेट्न आउनुपर्ने यो कस्तो सम्बन्ध हो? बोलेको त केही बुझिनँ तर उसका हरेक अस्पष्ट शब्दले मलाई भालाले घोचेको जस्तो भयो। मैले मेरो जवाफ पाएँ जस्तो लाग्यो।
उनीहरूले नदेखिनेगरि निस्किएर म होटलमा पुगेँ। म मेरा लागि निक्कै दुःखी भएँ अनि रोमाको लागि पनि उसैगरी नै दुःखी भएँ। तनावका वावजुद पनि म तुरून्तै निदाएछु।
केही गह्रौं टाउको लिएर म बिहान ६ बजेतिर उठेँ। हिजोको घटना फेरि चलचित्र जस्तै मेरो मानसपटलमा ताजा भएर आए, तर भन्ने के? गर्ने के? चुपचाप आफ्नो ब्याग ठीक पारेर गाडीतिर लागेँ। होटलको रिसेप्सनबाट एक जना भाइले मलाई बोलायो। एउटा खाम दिँदै, ‘म्याम अघि ५ बजेतिर काठमाडौं जानुभयो। हजुरलाई यो दिनु भन्नुभाथ्यो।’
के भैरहेको छ, म केही बुझ्नै सकिरहेको थिइनँ। हिजो दिउँसोसम्म त्यति सरल ढंगमा बगेको हाम्रो सम्बन्धमा अनायासै के भैरहेको थियो? म त अन्यौलमा परेको थिएँ। गाडीको अन्तिम सिटमा बसेर खाम खोलेर हेरेँ। पत्र रहेछ।
‘शरणजी, हिजो होटलमा मलाई अरूसँग देख्दा नराम्रो लाग्यो होला। मैले तपाईँलाई देखेको थिएँ। तर, तपाईँलाई कफी खान बोलाउनै सकिएन। कति कौतुहलता भइरहेको होला। मैले भनेको थिएँ नि, हामीले एक अर्कालाई राम्ररी चिनेको छैनौं भनेर। अब मेरो बारेमा थाहा पाउनु न त है। म ८ वर्षिय एक सन्तानकी आमा हुँ। मेरो बच्चा मेरो सासु ससुरासँग बस्छ। म कहिलेकाँही मात्र हो भेट्न जाने।
मेरो श्रीमान र मसँग किन बस्दैन जस्तो लाग्यो होला है? हाम्रो डिभोर्स भएको तीन वर्ष भैसक्यो। मलाई जीवन यसै रमाइलो लाग्छ। विवाह मेरो जीवनमा जुरेकै थिएन भनेर सोच्नुहोस्। झुक्किएर भैदियो, अनाहकमा मेरो छोराले सजाय पाउनु परेको छ। कुनै पनि केटीलाई तपाईँ जतिको केटा श्रीमानको रूपमा पाउनु त भाग्यको कुरा हो। तर मेरो भाग्यमा त्यस्तो लेखेकै छैन। त्यसैले मन नदुखाउनु होला।
साँच्चै, म कोसँग काठमाडौं जान लागेँ भनेर उत्सुकता भो होला। म मेरो पूर्वपतिसँग जाँदैछु, दुई तीन दिन बाबुसँग बसेर फेरि आफ्नो दैनिकीमा फर्कन्छु। शरणजी, तपाईकी बहिनीको हाकिम नै मेरो पूर्व पति हो भन्दा तपाईँ झसंग त हुनुहुन्न नि?
उही लता।
म शून्यमा पुगेँ अनायासै। लोलाए या निदाएँ, केही थाहा भएन।
‘दाइ। पोखरा आइपुगियो त।’
यसो आँखा खोलेर हेर्छु। बिन्ध्यवासिनी मन्दिर अगाडि रहेछु। भगवानको शरणमा नै परेछु। गाडीबाट ओर्लिएँ। कोठामा गएँ। दक्षिण भारतीय फिल्मको कथा जस्तो गरी मेरो जीवन कथा पनि घुमेको घुमेकै थियो। सोच्ने अनि सम्झाउने केही कुरा छैन। म साह्रै दुःखी भएको थिएँ।
समयभन्दा बलवान औषधि केही रहेनछ। एउटा सपना देखेकी थिएँ, मनाङ यात्राको। ब्युझिएँ। दुई चार दिन सपनाले सोच्न बाध्य बनायो। तर बिस्तारै सपना धुमिल हुँदै गयो। मेरा पुराना दिनचर्याहरू फेरि शुरु भए। आमाको गनगन शुरू हुन थाले। मेरो दोस्रो यात्राको योजना नि शुरू हुन थाल्यो। आखिर जीवन अनुभवकै सँगालो त हो।
मनाङको त्यो यात्राको करिब एक वर्षपछि होला, बिहानै सरिनाले मलाई फोन गरि। सरिनासँग मेरो धेरै सम्बन्धहरूको गाँठो अड्किएको छ। मोबाइलमा उसको नाम देख्ने बितिक्कै फोन उठाइहालेँ।
‘दाइ। सन्चै नि।’
‘सन्चै छ। तँलाइ कस्तो छ?’
‘मलाई नि ठीक छ दाइ।’
‘ए। अनि अरू सुना।’
‘छ नि दाइ। पोहोर तपाईँसँग आउने लता म्याम त हाम्रो सरको फर्स्ट वाइफ रहेछ नि। रोमा भाउजुले हिजो भन्नु’भा।
कुरा नयाँ लागेन। तर रोमालाई नि थाहा रहेछ भनेर चाहीँ नमिठो लाग्यो।
‘अनि?’
‘उहाँहरूको ८-९ वर्षको छोरा पनि रहेछ। रोमा भाउजुलाई बिहे अगाडि सबैकुरा लुकाएका रहेछन्। तर माइतीलाई सबैकुरा थाहा रहेछ रे,’ रोमाप्रति सहानुभूति हो वा माया हो। केले केले छोए जस्तो भो अनायासै।
‘अनि?’
‘लता म्याम बिहे भएको केही वर्षपछि माइतमा गएर बस्नु भएछ। घर फर्कनै नमानेपछि सम्बन्ध बिच्छेद गरेको रे। अनि छोरा सरको आमा बुवासँग राखेको रहेछ। अहिले पनि ऊ त्यतै रहेछ,’ उसले यसरी कुरा सुनाइरहेकी थिइ कि लतालाई भेटेर गाली नै गरौं जस्तो भयो।
‘अनि नि दाइ’ कथा अझै बाँकी रहेछ।
‘अँ भन्’
‘सम्बन्ध बिच्छेद भएको केही दिनपछि पो थाहा भो रे त लता म्यामलाई पाठेघरको क्यान्सर भएको रहेछ भनेर। पूरै नियोजित रूपमा सबैबाट अलग्गिनुभएको रहेछ। सबै व्यवहार मिलाएपछि मात्र उपचार थाल्नु भएछ। उपचारको क्रममा र पछि पनि दुबै घरले उसरी नै जिम्मेवारी लिएको रे। तर जतिगर्दा पनि घर फर्कन नमानेपछि भने सरले दोस्रो बिहे गर्नु भएको रहेछ,’ एक मिनेट अगाडिको रिस गायब भएर मलाई एकाएक लताको फेरि माया लागेर आयो। बाध्यताले नै सही उनीबाट भएका गल्तीहरू मैले माफी गरिदिएँ। रोग र जीवनसँगको लडाइँमा जितेर आएकी रहिछ लता।
‘अनि?’ उनीप्रतिको उत्सुकता एकाएक जागेर आयो।
‘डाक्टरले त अपरेसन पछि पनि ‘स्थिति क्रिटिकल नै छ। अब ठीक भयो भनेर ढुक्क हुन सकिन्नँ तर बर्सौ नबल्झिन पनि सक्छ। सतर्क भने भैरहनु पर्छ भनेको रहेछ।’
‘अनि नि दाइ !’ गह्रुंगो आवाजसहित सरिना बोली।
‘अनि के? भन् न,’ तुरुन्तै सोध्न पुग्छु।
‘लता म्याम केही महिनादेखि बिरामी पर्नथाल्नु भएको थियो रे। काम गर्न नसक्ने भएपछि माइतीमा ल्याकोथ्यो रे। तर हिजो अकस्मात बोल्दाबोल्दै बेहोस हुनुभएछ। अस्पताल लगेको रे तर डाक्टरले लग्ने बितिक्कै मृत घोषित गरिदिएछ। खबर पाउनासाथ सर हिजै काठमाडौं जानु भो। अनि भाउजु र बाबु मात्र यहाँ हुनुभएकोले राति म साथी गएको थिएँ र भाउजुले सबै कुरा सुनाउनु भो।’
‘ए’ सरिनाको कुरा सकिँदा नसकिँदै मभित्रको उत्सुकता, वेदना, खुशी सबै भाव एकैपटक विलाएका थिए।
फोन काटिदिएँ। जोड्दै नजोडिएको सम्बन्ध टुटिरहेको थियो तर मलाई भने पाउन लागेको सबै कुरा छुट्यो जस्तो लाग्यो। यस्तो कुरा थाहा भएको भए त उनको बाँकी जीवनलाई झन मिठो बनाउन म हरप्रयास गर्ने थिएँ हुँला। उनी बँचेको जीवन जीउन खोजिरहेकी थिइ। म जीवनभरको सम्बन्ध खोजिरहेको थिएँ। ऊ आइ अनि एकाएक हराइ। मन सार्है बिथोलिदै थियो। सिरानी नजिकको ल्यापटपमा आँखा पर्यो। मनाङको याद आयो। अनि उनीसँग बिताएका ती पलहरु सम्झदै ल्यापटपमा भएका मनाङका तस्वीरहरु एक एक गरी हेर्न थालेँ।
यो कथाको पहिलो भाग