परालको छाप्रोभित्रको जीवन
सधैँ प्यारा लाग्ने डाँडाकाँडा
अनि त्यो छहराभित्रको इन्द्रेणी
अहिले पनि म सम्झिन्छु- त्यो खोला
जहाँ हामी लुकामारी खेल्ने गर्थ्यौं ।
प्रकृतिले हुर्काएका मेरा सपना
आज सहरमा गुमाउँदैछु
सिरु दाइको गाडी चड्ने रहर
अझ अधुरै छ
बाले खोजेको असल पाठशाला
अझै गाउँमा पुर्याउन सकिनँ
आमाले खोजेकी सुशील बुहारी
अझै भेट्टाएको छैन।
हजुरआमाको चाउरीमा
अझै आँसुको शीत छ
रामे काकाको एक्लो छोरा
अरबमा कैदी भएको छ
समाजमा सहारा नपाएको
एउटा टुहुराको ओठमा
हाँसो ल्याउने चाहना पनि
अपूरै छ।
अहिले म अलमलमा आत्तिएको छु
डगमगमा डराएको छु
पछि पर्नकै लागि हो त,
मेरो माटो?
मरो भूमि?
म?
अनि मरा गाउँले?
यहाँ आकाशबाट निस्किने सूर्य
त्यहाँ भुइँबाट निस्केको छैन
यहाँ मात्रै पश्चिममा घाम बिलाउँदैन
फरक यति मात्र पाउँछु
यो दीपावलीको बस्ती र खुसियालीको बस्ती
यहाँ सूर्योदयअगावै
बादलमाथि जहाज झुल्किन्छन्
जसरी पहाडी पाखाबाट पहिरो निस्किन्छ।
जब दिनमा,
कुमाले दाइको घाम नलागेको गुनासो
प्रतिमाको खडेरी परेको दुखेसो
धनेको हुरीबाट छानो उडेको खबर
सबै एकसाथ आउँछन्
अनि सपनामा
परदेशी वीरमानको यादमा
रूपा डढेको छाती देखाउँछे
सूर्य उदाउनु पर्ने ठाँउमा
कालो बादलका धब्बाहरू
स्थायी रहन्छन्
मस्त निद्रामा रहेको बस्ती
पूरै पहिरोमा डुब्छ
एउटा कुशल सन्तान जन्माउने
रहर पूरा नहुँदै
दोजिया बाढीमा बग्छे
साता नबित्दै
श्रीमानको लाश आउँछ विदेशबाट।
कहिले परिवारको निम्तोले घरतर्फ डोर्याउँछ
कहिले समाजको कष्टले परतर्फ भगाउँछ
प्रवासी पतिको पीडामा
शोकाकुल पत्नीसँगै
सुहागरात पनि मनाउन नपाएका
विधवा संगिनीसँगै
ओठ टोक्दै रुने गरी
कसरी फर्कूं म मेरो गाउँ?