धेरै पहिले सपनामा
यही सडकबाट
एक युवक हतास हतास दौडिरहेको देखें
म वर्षौंदेखि शान्त चुपचाप बसिरहेथें
प्राचिन रुखका फेदहरुमा
थेग्न नसकेर जिज्ञासा सोधें उसलाई
कहाँ दौडिरहेको?
सागरका ज्वारभाटा उर्ले जसरी
ऊ भन्थ्यो-
पहाडभन्दा अग्लो रुख चढेर अग्लो हुन चाहन्छु!
आज फेरि सपनामा
एक वृद्ध निष्फिक्री म तिरै आइरहेको देखें
म वर्षौंदेखि शान्त चुपचाप बसिरहेथें
प्राचिन रुखका फेदहरुमा
थेग्न नसकेर जिज्ञासा सोधें उनलाई
कहाँ हिँडिरहेको?
केहीछिन मौन रहेर
टक्क उभिएर
रहस्यमय सागरका भाषाहरुमा
जादुगरी आकाशका गीतहरुमा
उनी भन्दै थिए-
जिन्दगी पहाडभन्दा अग्लो हुँदो रहेछ!
अझ जिन्दगी
पहाडभन्दा अग्ला रुखभन्दा अग्लो हुँदो रहेछ!