फर्केला कि ऊ भनेर सधैं,
धेरै पटक भयो अचेल,
मुछेका अक्षताहरू पोखिएका,
उनेका मालाहरू ओइलिएका,
थापेका घडाहरू रित्तिएका,
तर पनि कहिल्यै आएन ऊ !
र चकनाचुर भए ,
वृद्ध आँखाका अनन्त सपनाहरू !
टुक्रा टुक्रा भए,
वात्सल्यमय र स्निग्ध मनहरू !
बेवारिस भए,
प्रियसीका ती अधुरा अनुरागहरू !
बिर्सेछ शायद परदेशीले,
डुब्नै लागेका डाँडा माथिका ती जुनहरू,
स्नेहले फक्रिएका ती मखमली फूलहरू ,
गुन्जिन बाँकी कलिला जीवनका धुनहरू,
तर अझै पनि,
आँसु झार्दै भन्न छोडेका छैनन् बुढा बाबुले,
आउँछ बुढी, त्यो एक दिन झुक्याएर आउँछ !
साहुको मुखमा बुझो लाउन पुग्ने गरी आउँछ !
मखमली र सयपत्री फूलहरू नओइलिँदै आउँछ !
न भन्दै आज अचम्मै भयो !
आखिर ऊ आयो !
जन्मेकै माटोको टीका लाउन आयो,
तर विडम्बना !
बुढा बाउको शिरको टोपी फुकालेर आयो,
आमाको अनन्त आशामा बिट मारेर आयो
प्रियसीको सिउँदोको सिन्दुर पखालेर आयो,
शायद ऊ धेरै नै थाकेर आयो! हारेर आयो !
त्यसैले एउटा बाकस भित्र,
फेरि नब्युँझने गरी निदाएर आयो !!!