होटेल पेरिसिएनको पार्किङ जोन 'ए' को स्लट नम्बर ३२७ बाट म मेरो टोयोटा एभालोन कारमा बसेर बाहिर तिर निस्कन लागेको थिएँ। आज मेरो कुनै पनि गन्तव्य छैन।
बिना गन्तव्य, बिना उद्देश्य त्यसै बाहिर तिर निस्केको छु। बाहिरी वातावरण गर्मीले व्याप्त भएपनि एअर कन्डिसनको शितलोले मलाई गर्मी हुन दिएको थिएन।
मेरो कारको रफ्तार विस्तार विस्तार बढ्दै गयो। त्यस्तैमा सडक किनारमा बनाइएको सानो पाटी जस्तो ठाउँमा एउटी अधबैँसे महिला पानीका केही बोतलहरु हातमा लिएर यताउता गरिरहेका मनिसहरुसँग किनिदिनको लागि अनुनय गरेको दृष्य मेरा आँखामा परे।
झट्ट हेदा हाम्रै काठमाडौँको कलंकीमा खचाखच यात्रुले भरिएको बस आउँदै गर्दा, त्यहाँका साना सडक व्यापारीहरुले गर्ने गरेको सानो व्यापारको झल्को आउँथ्यो।
मैले कार उनको नजिकै लगेर रोकेँ। अरुलाई जस्तै ती महिलाले मलाई पनि एउटा पानी किनिदिनको लागि बिन्ती गरिन्। मैले नियालेर ती महिलाको अनुहारमा हेरेँ, कुनै पीडाले बेस्सरी थिचे जस्तो। कुनै पोखरीमा घट्दै गरेको पानीसँगै रुमल्लिरहेको माछा जस्तो।
कपाल फुरुङ्ग उडेको हुलिया भएकी उनको अनुहारको भावाङ्गि हेरेपछि मैले तीन वटा पानी दिनको लागि अनुरोध गरेँ। मलाई पानीको जरुरत त थिएन त्यति बेला, तैपनि उनको अनुहार को बद्लिएको स्वरुप देखेर खुसी लाग्यो।
उनलाई हेरिरहँदा मेरो विगतका दिनहरु मेरा स्मृतिमा आउन लागे। मेरो विगत पनि धेरै दु:खहरुसँगै जुधेको थियो। यी अधबैँसे महिलाको जस्तो अवस्था कुनै दिन काठमाडौँको बसाइमा भोग्नु परेको तितो सत्य मेरो मानसपटलमा चलमलाउन थाल्यो। त्यो काठमाडौँको बसाइ सम्झँदा साँच्चै अहिले पनि उकुसमुकुस भएर आउँछ।
आजभन्दा करिब ६ वर्ष पहिला अनामनगर बिग मार्ट नजिकै रहेको मेरो नयाँ डेरामै बसेर परीक्षापछिका दिनहरु बित्दै थिए। हुन त परीक्षा सकिएपछि पढाइ नभएको हुँदा गाउँ नै फर्किए पनि हुने हो। तर घरमा पनि जानै मन लाग्दैन थियो।
विचरा मेरा बुढा बा-आमा, छोराको निम्ति ठूलो सपना मनमा साँचेर बसेका छन्। अरुका छोराले उन्नति प्रगति गरेको, ठूलो देशमा गएर पैसा कमाएको देख्दा आफ्नो छोराको निधारमा पनि त्यो भाग्य नदेख्ने कुन आमा-बुवा होलान् र?
तर मसँग त्यत्रो हैसियत छँदै थिएन। जेनतेन काठमाडौँको सहरमा दुई/चार अक्षर गुन्दै मेहनत गर्न भनेर आएको मामुली केटो थिएँ म। आर्थिक हैसियत एकदम नै निम्न भएको परिवारबाट आएको हुनाले मेरा लागि ठुलै चुनौती थियो।
मुस्किलले चस्मा लगाएर हात कमाउँदै दस्तखतसम्म गर्न सक्ने मेरा बा, अनि घरैको चुलोचम्कोभन्दा बहिर ननिस्केकी मेरी आमालाई छोरो ठूलो मान्छे भएको हेर्ने रहरले सधैँ पिरोल्थ्यो।
पढे लेखेको नभएकै कारण मेरा बालाई औँठाछाप गर्न लगाएर काका ठूलोबाहरुले सबै अशं आफ्नो नाममा पारेका थिए रे। सोझा मेरा बालाई थाहा नै भएनछ।
बारीका सुर्का र फोहोटाहरु मात्र मेरा बालाई छोडेर धान फल्ने र गतिलो बारी आफ्ना नाममा पारेका रे। बेलाबेला बाले पुराना कुराहरु सुनाइरहँदा मजेत्रोले मुख छोपेर बसेकी मेरी आमाका आँखाबाट तप तप आँसु झरेको मैले कति पटक देखेको छु।
छोरो पनि आफू जस्तै दु:ख नपाओस् भनेर मेरा बा तिनै बारीका सुर्कामा सकि नसकी दिन रात मेहनत गर्नुहुन्छ।
उल्झनकै बीचमा म काठमाडौँ आएको थिएँ। काठमाडौँमा मेरो जान पहिचानका एक जना दाइ अनि भाउजू मात्र थिए। नयाँ डेरा नपाउँदासम्म उनैकोमा आश्रय लिएर गुजारा गर्नु परेको थियो।
भाउजूको नमिठो बोली कुनै क्रुर घरबेटीको भन्दा कम थिएन। काठमाडौँको बसाइले आफ्नै घर नहुनुको वास्तविक पीडालाई प्रष्टसँग नै बुझाइदिएको थियो मलाई।
यहाँका घरबेटीको व्यवहारले मलाई आफ्नै देशमा शरणार्थी जस्तो महशुस भैरहन्थो। पुरानो डेराको घरबेटीलाई त सम्झन पनि मन लग्दैन। अनुहार देख्यो कि केही न केही अशुभ हुन लगेको जस्तो भान हुन्थ्यो।
कोठा धेरै फोहोर बनाएको, होहल्ला गरेको अभियोगहरुले मलाई दिनदिनै प्रहार हुन्थ्यो। म दिनदिनै वचनहरुले घाइते भएको हुन्थेँ। खैर जे होस्, नयाँ डेरामा आएपछि केही राहतको महसुश भने गरेको थिएँ।
डेराबाट विस्तारै विस्तारै सामनहरु कम हुँदै जान थालेका थिए। घरबाट पैसा माग्न मेरो मनले मानेन। आखिर कहिलेसम्म माग्नु? घरमा पनि आयस्रोत केही छैन। यत्रो भएको छोराले आफै कमाएर घरमा दिनु पर्ने बेलामा कसरी माग्नु?
कुनै न कुनै काम खोज्नै पर्ने बाध्यताले अठाउँदै जान लागेको थियो। कोठा भित्र ओछ्यानमा पल्ट्टिरहँदा आफू गरिब हुनुको पीडाले भित्र भित्रै असहज महशुस गराउँथ्यो। एउटा कुरा पुरा गर्न खोज्यो अर्को रित्तिएको हुन्थ्यो।
मेरो यस्तै अभावको जीवनसँग भावनात्मक रुपमा नजिक भएकी थिई सरिता। यस्तैमा एक दिन उसले फोन गरेकी थिई। परीक्षा सकिएपछि उसको र मेरो भेट हुनै छाडेको थियो।
परीक्षाको अन्तिम दिन परीक्षा सकिएपछि भनेकी थिई, 'घरमा त्यती सहज छैन। मिलेको बेला म आफै फोन गर्छु। मलाई सधैँ मेसेज गर्नु है?'
तर भने जस्तै कहाँ हुँदो रैछ र? उसलाई पो कुनै कुराको समस्या नै थिएन। पैसा चाहिए घरबाट पठाइदिई हाल्थे, यहाँ काका-काकीसगँ बस्थी। न डेरा भाडा तिर्नु पर्ने न कुनै काम खोज्नु पर्ने।
तर म काम नगरी नहुने अप्ठ्यारो स्थितिमा पुगेको थिएँ। उसलाई पनि थाहा थियो मेरो बारेमा। मेरा बुढा बाबुआमाको बारेमा। मेरो अभावको जिन्दगीको बारेमा। तर खै कसरी मेरो र उसको मन मिलेको थियो।
म उसलाई आफ्नो सानो झुप्रो घरको बारेमा बताउथेँ बेलाबेलामा। उसले मेरो झुप्रोलाई महल सम्झेर खुसी हुने आश्वासन दिन्थी। यसपटकको फोनमा पनि मैले यस्तै कुरा भनेको थिएँ उसलाई-
'अब म विस्तारै काम खोज्दै छु सरिता, सबैको सपनाको सहर काठमाडौँ छोडेर जान सकिनँ। फेरि यहाँ तिमी पनि त छौ। म तिमीलाई धेरै मिस गरिरहेको छु। अब छिटै हामी भेट्ने छौँ।'
ऊ मेरा कुराले आंशिक खुसी भएर फोन राखेकी थिई।
भोलिपल्टबाट काठमाडौँको सहरमा काम खोज्न सुरु गरेको थिएँ। पुस महिना थियो। ठूलो अनि लामो गाउँबाटै लिएर आएको पुरानो ज्याकेट लगाएर निस्किएँ। मेरो चिनेजानेको कोही थिएन काठमाडौँमा।
जस्तोसुकै काम भए पनि गर्छु भन्ने मन लिएर डुलिरहेको थिएँ। म जस्ता काम खोज्नका लागि काठमाडौँमा दौडने युवाहरुको के कमी थियो र? यस्तैमा सजिलो काम भेटिने त आश नै थिएन।
दिनभरि डुलेर अनामनगरको बाटो फर्किँदै गर्दा ठेलामा समोसा खानेहरुको भिड नै जम्मा भएको देखेँ। भोकले मलाई पनि के खाउँ जस्तो भैरहेको थियो। सायद नयाँ ठेला भएर होला अरुभन्दा अलि सस्तो रहेछ।
पुस महिनाको त्यस्तो जाडोमा पनि समोसा खानेहरु लुगलुग काम्दै ठेलावालालाई घेरेर बसेका थिए। म पनि त्यही भिडमा गएर मिसिए। भएको अलिअलि पैसा फारु गरेर खर्च गर्नुपर्ने भए पनि पेट नै मार्न त कहाँ सकिँदो रहेछ र!
धेरै नै किन्ने मन भए पनि पत्रिकामा पोको परिचयको तीन वटा समोसा लिएर निस्किएँ। हनुमानस्थानको बायाँ गल्लीबाट समोसा खाँदै डेरा तिर मोडिएँ। समोसा खाइसकेर पोको पारिएको पत्रिका फाल्ने बेलामा मेरा आँखा परे।
पत्रिका बेच्नको लागि मान्छे चाहिएको सूचना लेखिएको थियो। ठेगाना पनि मेरो डेरा नजिकै। मनमनै सोच्न बाध्य भएँ, जाबो साइकलमा पत्रिका बेच्ने काम गरेर कहिले माथि पुग्नु तर मैले तत्काल अरु उपाय पनि देखिनँ। काठमाडौँको सहरमा जीविकोपार्जनको लागि हामी जस्तो विद्यार्थीले गर्ने काम नै यस्तै हो जस्तो लाग्यो।
ठूलो काम गर्नलाई ठुलै डिग्री मेरो हातमा थिएन। सोच्दै गएँ। फेरि रूममा खानेकुराहरु सकिएको सम्झिएँ। अझ अस्ति त चाउचाउ उमालेर मात्र खाएर सुतेको थिएँ, त्यो पनि सम्झिएँ। अब डेरामा गए पनि भने जस्तो खाने कुरा केही छैन, किनेर लैजाउँ पैसा पनि कम छ।
जेसुकै होस्, पैसा नभएर कहाँ जाउँ के गरौँ जस्तो भएको बेलामा तीन वटा समोसाले फाइदा नै पुर्याएको थियो। ढिलो नै नगरी त्यो ठेगानामा पुगेर कुरा गरेँ। भोलिदेखि नै काम सुरु गर्ने गरी सहमति गरेर फर्किएँ।
भोलिपल्टदेखि तीन बजे राति त्यहाँ पुगेर पत्रिका साइकलमा लोड गर्न लागेँ। जाडोले मुटु लुगलुग कामिरहन्थ्यो। पुतलीसडक, बानेश्वर हुँदै तीनकुनेको बाटोमा पत्रिका बाड्दै जान्थेँ।
मनमा साह्रै दु:ख लाग्थ्यो। जाडोले हात कठ्याङ्ग्रीएर छोएकोसम्म पनि थाहा नपाउने भएको थिएँ। हातमा जाडोले गर्दा स-साना फोका उठ्न थालेका थिए। चिसोले गर्दा नङहरु राता राता हुन थालेका थिए।
पछाडि ढाडमा हावाले धेरै हानेर होला बेग्लै दुखाइ सुरु भएको थियो। मलाई विस्तारै अप्ठ्यारो हुन लागेको महशुस भयो। मैले यसरी काम गर्न नसक्ने निर्णय गरेँ र एक महिनामै त्यो काम छोडिदिएँ।
सरितालाई मैले काम गर्न थालेको छु भने पनि के काम गर्छु भनेर भनेको थिइनँ। पर्सिपल्ट पत्रिका बेच्दा चिनेको एउटा साथीलाई फोन गरेर कुनै काम भए मलाई मिलाउनको लागि अनुनय गरेँ।
काठमाडौँ सहरमा काम नगरी मेरो कुनै उपाय चल्ने थिएन। त्यहीमाथि भएको एउटा काम पनि साह्रै गाह्रो भएर छोडेको थिएँ। उसले आफूसँगै पानीका जारहरु होटेलहरुमा पुर्याउने कामको सल्लाह दियो। घुमिफिरी फेरि उस्तै काम, यो काठमाडौँ सहरमा हामीले गर्ने काम यही मात्रै हो?
मनमनै प्रश्न उठेको थियो तर सोधौँ कसलाई? जे भएपनि त्यो एकाबिहानैको जाडोमा कठ्याङ्ग्रिएर पत्रिका बाड्दै हिँड्ने जस्तो त पक्कै नहोला। मैले सहमति जनाएँ।
भोलिपल्ट पानीका जारहरुलाई साइकलको पछाडि बाँधेर होटेलमा पुर्याउनको लागि निस्किएँ। सामान्य साइकल पनि पानीको जारको भारले थरथर काम्दै अगाडि बढीरहेको थियो।
एक, दुई गर्दै होटेलमा पानी पुर्याउन थालेँ। क्रमिक रुपमा यही कामलाई निरन्तरता दिइरहेको थिएँ। सधैँ डेरा फर्कने बेलामा जिउ थाकेर साह्रै सिथिल भएको हुन्थ्यो। बेलाबेला आमाको साह्रै याद आउँथ्यो।
दिन रात नभनी घाँसको भारी बोकिरहने मेरी आमाको दु:ख सम्झिन्थेँ। के नै फरक थियो र, मेरी आमा गाउँमा दु:ख गर्दै हुनुहुन्थ्यो म यता सहरमा। उही वेदनाका साथमा।
जाडो मौसम भएपनि मेरा निधारबाट चिटचिट पसिना बग्न थालेको थियो। कहिलेकाँही त भित्रभित्रै बिरामी पर्न लागेँ कि जस्तो भान पनि हुन्थ्यो।
हरेक दिन पानीका जारहरुको भारी बोकेर होटेलमा लगेर बिसाउँथेँ। एकपछि अर्को गर्दै साइकलको पाइदल सकि-नसकी बल गरेर चाल्दै जान्थेँ। मेरो दुब्लो शरीरले निकै बल खर्च गर्दै थियो। मलाई पीडाको महशुस हुन्थ्यो।
एकदिन पानीका जारहरु होटेलमा पुर्याइसकेर त्यही होटेलको एक छेउमा विश्राम गर्दै थिएँ। त्यही होटेलको साहुले मेरो बारेमा जिज्ञासा राख्यो। म पढ्ने विद्यार्थी, गाउँबाट आएको, पैसाको अभावले मलाई पानी बेच्ने बनायो हजुर भनेर सबै कुरा सुनाएँ।
उसले आफ्नो होटेलको भान्सामा काम गर्ने मान्छे चाहिएकोले यदि चाहान्छौ भने आऊ भनेर प्रस्ताव गरे। पानी बोकेर बजार बजार डुल्नु भन्दा होटेलमै काम गर्न ठिक मलाई पनि लाग्यो।
यसरी पानी बेच्न छाडेर होटेलमा काम गर्न लागेँ। त्यहाँ पाहुनाहरु धेरै हुँदा खाने परिकारहरु उनीहरुको टेबलमा पुर्याउनु पर्ने हुन्थ्यो। पाहुनाहरुले खाएका भाडाहरु माझ्ने जिम्मा पनि मलाई नै लगाइन्थ्यो।
सुरुसुरुमा त मलाई निकै अप्ठ्यारो महशुस भयो। घरमा आफूले खाएको थालसम्म पनि नपखाल्ने म, आज होटेलका भाडाहरु माझ्दै छु भनेर ग्लानी पनि नभएको होइन। दिनभरि पानीमा काम गर्नुपर्ने हुनाले हातहरु चाउरी परेको निको नै हुँदैन थियो।
औंलाका काप-कापमा स-साना बिमिरा निस्केका थिए। कोही कोही त अलि ठूला भएर घाउका आकार पनि लिन लागेका थिए। जे भएपनि विस्तारै मलाई बानी पर्दै गयो।
मेरा भाडा माझेका हातहरु कसैले नदेखुन् जस्तो लाग्थ्यो। बाटोमा चिनेजानेका साथीहरुसँग भेट हुँदा पनि म सतर्क रहने गर्थेँ, मेरा हात कसैले नदेखुन भनेर।
यता सरितासँग पनि कुरा भैरहन्थ्यो। पहिलेको काम छोडेर अहिले होटेलमा काम सुरु गरेको कुरा उसलाई बताएको थिएँ। उसले जिस्किँदै म पनि आउँ भनेकि थिई। उसले जिस्केरै भनेको भए पनि मैले भित्रभित्रै असहज महशुस गरेको थिएँ।
मनले नचाहेरै भए पनि उसको जवाफमा हुन्छ, आउन म धेरै उत्साहित छु तिमीलाई स्वागत गर्न भनेको थिएँ। त्यसो त सरिताले मलाई कहिल्यै नराम्रो नजरले हेरिन। काम जस्तोसुकै होस् किन अप्ठ्यारो मान्नु, ठूल्ठूला मान्छेहरुको सुरुआत पनि सामान्य कामबाटै भएको हुन्छ भनेर सम्झाउने उही हुन्थी।
उसको र मेरो फोनमा दिनहुँ कुरा हुन थालेको थियो। हरेक पटकको फोनमा सोध्ने गर्थी- खाना खायौ? ठिकै त छ? ख्याल गर है, यस्तै यस्तै।
समय सामान्य रुपमै चल्दै गयो। होटेलमा पनि अब भाडा माझ्ने बाहेकका अरु काम पनि गर्न थालेको थिएँ। अलिअलि परिकारहरु बनाउन पनि थालिसकेको थिएँ।
म जहिले पनि कामबाट फर्किँदा सरिताले केही न केही म्यासेज गरेकै हुन्थी। उसले मप्रति गरेको प्रेम देखेर मलाई साँच्चै खुसी लाग्थ्यो। एकदिन होटेलबाट काम सकेर निस्किएको थिएँ तर सरिताले केही म्यासेज गरेकि थिइन।
के भएछ आज उसलाई? म्यासेन्जरमा एउटा म्यासेज लेखेँ- 'के भयो, किन केही म्यासेज नगरेकी सरिता? ठिकै त छ?'
अक्सर उसले सोध्ने कुरा आज मैले उसलाई सोधेको थिएँ। तर कुनै प्रतिकृया आएन। मन फेरि मानेन के भयो होला, फेरि अर्को म्यासेज लेखेँ।
'केही समस्या पो भयो कि? म केही सहयोग गरौँ? केही त रिप्लाई गर न' लेखेर पठाएँ तर रिप्लाई आएन। उति बेलै फोन गरेर के भयो तिमीलाई भनेर सोध्ने मन थियो, तर घरमा अप्ठ्यारो हुन्छ भन्ने उसको कुरा सम्झिएँ।
अहिलेसम्म कहिल्यै यस्तो नगरेकी उसलाई के भयो? कही जानु परे पनि दुई दिन पहिलेदेखि नै भन्थी तर अचानक भएको यो घटनाले मेरो मनमा चिसो पस्यो।
कतै कुनै दुर्घटनामा पो परी कि, यसै कुनै काम नपरी घरबाट निस्कने मान्छे त होइन, त्यस्तो कसरी हुन सक्ला? हैन, हैन उसलाई त्यस्तो केही भएको छैन, कतै व्यस्त भएर पो हो कि? मन को एउटा कुनाले भनिरहेको थियो।
मन भित्र धेरै कुराहरुको अन्तरद्वन्द्व हुन थाल्यो। डेरामा गएर केही खानै मन लागेन। यसोउसो गर्यो त्यही मोबाइल हेर्यो, केही रिप्लाई गरी कि, अहँ! केही थिएन। मन भित्र एकदमै वेचैनी भयो।
जे परे पर्ला फोन नै गर्छु भनेर मोबाइल निकालेर फोन लगाएँ तर उठेन। रात त्यसै छटपटीमै बित्यो। भोलिपल्ट पनि उसको केही म्यासेज आएन। धेरै पटक फोन गरेँ तर उठेन। म्यासेज नै लेखेर पठाएँ धेरै पटक तर कुनै जवाफ आएन।
मेरो म्यासेज उसले हेरेर पनि कुनै प्रतिकृया गरिन। विस्तार विस्तार उसले मलाई बेवास्ता गरेको भान हुँदै गयो। बेला-बेला सहनै नसक्ने गरी मुटु दुख्थ्यो अनि लेखेर पठाउथेँ।
यही गर्नु थियो त किन नजिक भयौ तिमी, मेरो मनसँग खेलेर बीच बाटोमै अलपत्र किन पार्यौ सरिता? मेरो कुनै गल्ती भयो? टाढा नै हुनु थियो भने पनि एकपटक मलाई भन्न त सक्थ्यौ। एकतर्फी रुपमा मैले म्यासेज पठाउँदै गएँ, उसले हरेक म्यासेज हेर्दै जान्थी तर कुनै रिप्लाई गर्थिन।
विगतमा काठमाडौँमा घटेका यी कुराहरुले मन त्यसै उकुसमुकुस भयो। कारका दुवै पट्टिका सिसा खोलेर बाहिर तिर नियाल्दै गएँ। मेरो अगाडि गुडिरहेको सुजुकी कार घरीघरी बाटो बिराए जस्तै यताउता गर्दै गुडिरहेको थियो।
सिकारु चालक होला सायद मैले खासै ध्यान दिइनँ। झ्यालबाट सरर एक झोक्का हावा कार भित्र प्रवेश गर्यो र आत नै चिसो बनाएर गयो। मेरो मन र दिमाख भने बिना कारण त्यसै हराएकी सरितामै रुमल्ली रहेको थियो।
त्यतिबेला सरिताले एकाएक मन फेरेपछि मलाई निकै नै गाह्रो भएको थियो। अरु कुरा यथावत रुपमै अगाडि बढेपनि उसको यादले मलाई कहिल्यै छोडेन। म ऊसँगको प्रेममा यति धेरै लिप्त भएको रहेछु मलाई पत्तै थिएन।
म जता जान्छु, जे गर्छु उसकै याद मसँगै छाया जस्तै बनेर रहिरह्यो। मलाई एकदमै एक्लो महशुस हुन थाल्यो। उसलाई बिर्सिने कोसिस गरिरहेँ तर सकिनँ। मलाई काठमाडौँ सहर नै बिरानो जस्तै लाग्दै गयो।
एकदिन कामबाट फर्कदा झमझम पानी परेको थियो। मलाई कुनै कुराको प्रवाह नै भएन। त्यसै बाटोमा छाता समेत नओढी भिज्दै डेरामा पुगेको थिएँ।
भुइँतलामा रहेको मेरो डेरामा भेल पसेछ। मेरो ग्यास चुलो, सानो टेबल सबै पानीले भिजेर काम नै नलाग्ने भएछ। परीक्षा सकिएपछि केही थान किताबहरु त्यही टेबलमाथि नै थिए। ती सबै भिजेर पानीमा मिलेछन्।
आफ्नै डेरा देखेर मलाई साह्रै दिग्दार लाग्यो। पीडाहरुले मलाई एकै पटक घेरा हालेका थिए। डेरामा आउने बेला वरिपरिका मान्छेहरुले भुइँतलाको कोठा भनेर नाक खुम्च्याउँदै गरेको गाइगुई यथार्थमा परिणत भएको थियो।
नयाँ डेरा सर्नलाई पैसा पनि थिएन। त्यही पनि भन्दा भन्दै त कहाँ डेरा पाइन्छ र काठमाडौँ पो हो त!
मलाई काठमाडौँमा बस्नै मन लाग्न छोड्यो। दिनदिनै म रित्तिदै गएजस्तै, खोक्रो हुँदै गएजस्तै आभास हुन थाल्यो। सरिताको यादले मलाई प्रताडित बनाउँदै गयो। मैले मनले सोचेर निर्णय गरेँ। हो, म अब विदेश जान्छु।
मैले काम गर्ने होटेलमा ठूल्ठूला मान्छेहरुको आउजाउ भैरहन्थ्यो। एउटा म्यानपावरको हाकिमसँग पनि चिनजान थियो। विदेश जान्छौ भने मसँग राम्रो कोटा छ है भनेर सुनाइरहन्थ्यो।
मैले पहिले विदेश जाने बारे कहिल्यै सोचिनँ। त्यसैले उसको कुरा मैले ध्यान दिएको थिइनँ। तर आज उसको कुरा खास लागेको थियो। मैले ऊसँग कुरा गरेर सबै प्रकृया अगाडि बढाएँ। स्काइप अन्तरवार्ता पनि त्यति जटिल लागेन र अन्ततः म परदेशीने पक्का भयो।
भाद्र महिनाको २३ गते मेरो उडान हुने भयो। घरमा पनि सल्लाह गरिसकेको थिएँ। चिनेजानेका नजिकका साथीहरुलाई भेटेर बिदावारी भएँ। मनभित्र सरिताको याद र अभाव कायम नै थियो।
आफूले गरिराखेको होटेल सम्बन्धी नै काम भएकोले त्यहाँ गएर पनि मलाई खासै अप्ठ्यारो भएन। काममा कर्मठ अनि लगनशील मेरो पहिलेदेखि कै बानी विदेश आएपछि पनि यथावत नै थियो।
मेरो काम देखेर त्यहाँका प्रमुखहरु प्रसन्न थिए। बेलाबेला मेरो तारिफ गरिरहन्थे। यही क्रममा कम्पनीको २५ औँ वर्ष प्रवेशको भव्य कार्यक्रमको आयोजना भएको थियो। देश विदेशबाट मान्छेहरु आएका थिए।
त्यति बेलै कम्पनीको इमान्दार अनि लगनशील कर्मचारीको रुपमा मलाई घोषणा गरियो र टोयोटाको एभालोन कारको साँचो मेरो हातमा थमाइएको थियो। मन्चभरिबाट ताली बजाएर मलाई बधाईको ओइरो लागेको थियो।
समान्य परिवारको मामुली मान्छे आज टोयोटाको एभालोन कार चढ्ने भएको थिएँ। म खुसीले कसलाई सुनाउँ जस्तो भएको थिएँ। घरमै फोन गरेर बाआमालाई भनेको थिएँ सबै कुराहरु। उहाँहरु पनि निकै खुसी हुनुभएको थियो।
काममा आउँदा जाँदा त्यही कार लिएर आउने जाने गर्थेँ। आज छुट्टीको दिन भएकोले यसै घुम्न बाहिर तिर निस्केको थिएँ। अघिदेखि दायाँ बाँया गरी चल्दै गरेको सुजुकी कार सडकभन्दा बहिर पुगेर ठोक्किएछ।
कारबाट धुवाँको मुस्लो निस्किएको थियो। चालक हाम फालेर बाहिर निस्केछ। रक्सीको मातमा कार चलाएको रहेछ। अनियन्त्रित भएर सडक बाहिर पुगेर ठोक्किएछ।
चालकलाई खासै चोट लागेको थिएन। कार भित्रैबाट चिच्याउँदै गरेकी केटीमा मेरा नजर पर्यो। हत्तपत्त कारबाट ओर्लिएर भाग्दै गएँ। कार भित्रबाट आफूलाई बचाउनको लागि अनुनय गरिरहेकी सरिता र मेरा आँखा चार भए। मेरो मुखबाट अनायासै निस्कियो, सरिता!!
वर्षौंपछि भेट भएको छ सरितासँग तर यस्तो हालतमा। सोध्न धेरै कुरा थिए तर ऊ बोल्न सक्ने स्थितिमा थिइन। कति पनि बेर नगरी झ्याल खोलेर उसलाई बाहिर निकालेर तुरुन्तै एम्बुलेन्सलाई फोन गरेँ।
शरीरभरि तातो धुवाँले पोलेर घाउँ नै घाउँ भैसकेछ। सरिताले मलाई एकटकले हेरिरही, म पनि उसलाई हेरिरहेँ। हेर्दा हेर्दै मेरा आँखाबाट तप्प तप्प आँसु बग्न थाल्यो।
उसको आँखा त पहिलै रसाएका थिए। खल्तीबाट रुमाल झिकेर आँसु पुछिदिएँ। उसको बिग्रेको कपाल जसो तसो हातले मिलाइदिएँ। चालक भने रक्सीको मातमा एउटा छेउमा बसेर बर्बराउँदै थियो।
यतिकैमा एम्बुलेन्सबाट फटाफट झरेका मान्छेहरु आएर सरितालाई एम्बुलेन्समा हाले। एम्बुलेन्ससँगै आएका केही पुलिसहरु चालकलाई दुर्घटनाको कारण बारे सोधपुछ गर्न लागे। आफ्नो लर्बरिएको आवाजमा चालक बताउँदै गयो।
'उनी मेरी श्रीमती सरिता, हामी खाना खानको लागि होटेल द रिच कार्ल्टन गएका थियौँ। खाने क्रममा मैले रक्सी अलि बढी नै पिएछु। सरिताले हामी नजाउँ त भन्दै थिइन् तर मैले नै कर गरेर आयौँ...'
पुलिस र उसको कुराकानी भैरह्यो। म भने उसको पहिलो वाक्यांश 'उनी मेरी श्रीमती सरिता' मै अल्झिरहेँ। मनमनै प्रश्नहरु उब्जिए। पुलिसलाई आफ्नो परिचय दिँदै गर्दा उसको वालेटबाट पिआर कार्ड भुइँमा फुत्त खस्यो। यस्तो जड्याहा पतिको लागि मलाई सरिताले धोका दिएकी थिई? अथवा पिआरको लागि?
वेदनाले व्याप्त सरितालाई देखेर करुणा लाग्यो। कसरी यहाँ आइपुगी अनि कहिलेदेखि यहाँ छे मलाई पत्तो थिएन। प्रेमको सम्बन्धलाई दुर्घटनामा पारेर हिँडेकी सरिता आज प्रदेशको सडक दुर्घटनामा भेटिएकी थिई।
एम्बुलेन्समा उसको पतिलाई पनि चढाइयो। चारै तिरका बत्ती बालेर एम्बुलेन्स साइरन बजाउँदै अस्पताल कुद्यो। आँखाले देख्ने बेलासम्म मैले हेरिरहेँ। हेर्दा हेर्दै एम्बुलेन्स मेरो नजरबाट विलय भयो।
यो पनिः
काठमाडौँमा डेरा