गुनासो एउटै रहिरह्यो
मैले हाँस्न जानिनँ,
मैले मेरै
अन्तिम हाँसो
सम्झिन सकिनँ
मलाई, तिमीजस्तै
खित्का छोडेर
हाँस्न मन छ।
भन
कति कोसिस गरुँ
म हाँस्नका लागि,
म फगत मुस्कानभन्दा
कहिले माथि उठिनँ।
प्रिय, म त
तिम्रो हाँसोलाई
आफ्नो ठानेका छु
तिम्रो साथी
ग्वार्लाम्मै लड्दा
तिम्रो हाँसो
कति प्यारो थियो
मेरो साथी मसँग हिँड्दा
कहिल्यै लडेन,
के हाँस्नका लागि
मेरो साथी लड्नुपर्थ्यो र?
तिमी कसैको व्यङ्ग गरी
कति मिठो हाँस्छौ,
खोई म
कसको व्यङ्ग गरौँ,
म त व्यङ्गको लायक
म बाहेक
कोही देखिनँ
खोई म
कसको मजाक उडाउँ?
त्यसको लायक
म बाहेक
कोही देखिनँ
सानोमा
ढुंगाको खिचडी
पाठ पढ्दा
सबले भने
बटुवा चलाख
अनि वृद्धा लोभी
मैले वृद्धालाई आमा भने
बटुवालाई कपटी
म कसलाई
अज्ञानी सावित गरुँ
र हाँसु
यहाँ
म मात्र
अज्ञानी देख्छु
जसरी ढुंगा देखाएर
खिचडी पकाइयो
र चलाखीको
संज्ञा दिइयो
त्यसरी विकासको
सपना देखाएर
आफू अघाउनेहरुलाई
के भन्छौ प्रिय?
म त कपटी भन्छु
तिमी सायद
चलाखी देख्दी हौ।
म कसलाई
मूर्ख भनुँ र हाँसु
म त
म बाहेक
अरु
कोही देख्दिनँ।