'के,तिमी मेरो कमरेड बन्न सक्छौ?'मैले उसलाई सोधेको थिएँ।
'के हो यो कमरेड भन्या?' मेरो अपेक्षा अनुसार नै उसले सोधी हाल्यो।
मैले भनें,'Dear Comrade फिल्म हेरेनौ?युट्युबमा अहिले ट्रेन्डिङमा छ त?'
'ए त्यही साउथ फिल्म! हेरेको हेर्न त, अर्थ पनि गहन नै दिएको छ। तर म तिम्रो प्रेमी बन्न सक्छु तर dear comred बन्न चै सक्दिनँ ल!'
उसले हाँस्दै भनेको थियो।
ऊ शैलुङ बहुमुखी क्याम्पस अन्तर्गत नेपाल लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको उपाध्यक्ष भएको कारणले कम्युनिष्टहरूको बोलीचाली भाषा उसलाई सहजै स्वीकार गर्न अप्ठ्यारो परेको थियो।
त्रिभुवन विश्वविद्यालयको वार्षिक कृषि संकाय अन्तर्गतको स्नातक परीक्षाको क्रममा काठमाडौंबाट धरान आउने एउटै गाडीमा हाम्रो पहिलो भेट भएको थियो। युएस इन्स्टिच्युटले व्यस्थापन गरेको प्याकेजमा (काठमाडौं-धरान-काठमाडौं) हामी सवार भएको कारणले यदि नाम निस्केको खण्डमा पछि हामी एउटै विद्यार्थी संगठनमा नै आबद्ध हुन्छौं भन्ने सबैले अनुमान लगाउन सक्दथे।
सरकारी क्याम्पस, राजनीतिक धुवाँ आवश्यकभन्दा बढी हुँदा नयाँ विद्यार्थीहरूलाई आफ्नो संगठनमा भित्र्याउने प्रतिस्पर्धा नै चल्थ्यो यहाँ। तर हाम्रो भेटमा हामीले कुनै त्यस्तो राजनीतिक भलाकुसारी गरेका थिएनौं।
सामान्य परिचय समेत नभएको खण्डमा परीक्षाफल प्रकाशित भएपछि एउटै कलेजमा पहिलो दिन सँगै देख्दा हामी आश्चर्यचकित भएका थियौं।
सानो औपचारिकतापछि उसले मलाई सोध्न भ्याइ हाल्यो,'अनि तिमी हाम्रो संगठनमा नबसेर किन अर्कोमा गएको? दाइहरूले तिमीलाई पनि रूम खोज्दिनु भएको छ त?' मैले उसको अनुमानभन्दा छुटै अर्को संगठन रोजेपछि उसको प्रश्न स्वभाविक नै भयो।
'अब यस्तै भयो' मैले सहजै उत्तर फर्काएँ।
मैले त्यतिकैमा प्रसंग बदलेर अन्य बसाइ, साथीहरू, नयाँ ठाउँ आदि बारेमा सोध्न थालें।
उसले पनि सबै राम्रै भएको तर ठाउँ चाहिँ अलि विकट लाग्यो भन्ने आशयको प्रतिक्रिया दिएको थियो।
हामीले करिब १ किमीको दूरीमा आफ्नो कोठाको व्यवस्थापन गरेका थियौं। कलेजमा भेटिन्थ्यौं प्राय:।
सामान्य भलाकुसारी गर्ने जमघट त्यही हुन्थ्यो। पढाइ पनि बिस्तारै अघि बढ्दै थियो। रमाइलोनै थियो परिवेश।
यता मेरो आफ्नो विद्यार्थी संगठनको बैठकबाट मलाई कोषाध्यक्ष बनाउने निर्णय भएको रहेछ।
अध्यक्ष पदका लागि नै इच्छुक हुँदाहुँदै पनि नबनाउनुमा मेरो मुख्य दोष महिला भएर नै थियो भन्ने पछि कतै साथीहरूबाट सुनेको थिएँ।
खैर, मैले कोषाध्यक्ष पद नै जिम्मेवारीपूर्वक बहन गर्दै काम गर्न थाले।
सुरूका दिनहरूदेखि नै पार्टीलाई थाती राखी हाम्रो पुरानो आत्मीयतालाई जग दिँदै कक्षाकोठामा सँगै बस्ने, नोटहरू आदानप्रदान गर्ने, खाजा खान सँगै जानेदेखि हाम्रा विद्यालयमा हुने सबै कार्य सँगै गर्थ्यौं।
बेलुका छुट्टिएपछि पनि मेसेन्जरलाई साँची राखी हामी पढाइका कुरा साझेदारीमा पढ्थ्यौं। समय सरल ढंगले चल्दै गएको थियो।
यस्तो व्यवहार देखेर स्वभाविक तवरले अन्य साथी हामीलाई प्रेमीप्रेमिका भनेर चिढ्याउन थाली सकेका थिए।
हाम्रा नजिकका मित्रहरू त यिनीहरूको प्लस-टुदेखि कै प्रेम हो भनेर बजारमा हल्ला फैलाउन भ्याइसकेको थिए।
जिस्काउँदा जिस्काउँदै प्रेम हुन्छ भन्थे, त्यस्तै भयो। हाम्रो यो सम्बन्ध प्रेममा परिणत हुन पुग्यो। यसरी छुट्टै संगठनका दुई मर्यादित व्यक्तिहरूको प्रेम कसरी सम्भव भएको होला भनी साथीहरू अड्कलबाजी लगाइरहेको थिए।
साथै,यस्तो दुई छुट्टाछुट्टै संगठनका पदीय व्यक्तिबीचको प्रेम सम्बन्ध विश्वविद्यालय मै पहिलो र नवीन भएको विभिन्न साथीहरू अड्कलबाजी लगाउँथे।ईर्ष्याका काला बादलहरू पनि मडारिन थालिसकेका थिए।
फरक संगठनबीचका व्यक्तिको सम्बन्ध सफल नहुने उदाहरण मेरा मित्रहरू मलाई बेलाबेलामा सुनाउने गर्थे। यता हाम्रो भने जीवनका मुख्य दुई अध्याय सुरू भयको थियो।
प्रेम र राजनीति।
दुबैलाई मिलाएर लैजानु हामीलाई निकै चुनौतीपूर्ण थियो।
बिस्तारै हामी खुल्दै गयौं। बिदाका दिन भेट्ने गर्न थाल्यौं। नयाँ ठाउँ वरपर घुम्न जाँदा पनि सँगै जान थालेका थियौं।
अघिल्लो दिनै हामी भोलिको दिनको कार्ययोजना बनाउँथ्यौं। मलाई ऊ आफ्नै पारिवारिक सदस्यझैं लाग्न थालिसकेको थियो। प्राक्टिकल पनि सँगसँगै गर्ने गर्थ्यौं।
एक अर्काको कोठामा आउने जाने पनि बढ्दै गयो। आफ्नो घरपरिवारको न्यास्रोपन बिस्तारै हराउँदै थियो।
समय बित्दै गयो। तीन वटै संगठनले आ-आफ्नो तवरले कार्यक्रमहरू संचालन गर्ने, राजनीति धरातल बलियो बनाउने होडबाजी चल्न थाल्यो।
आफ्नो संगठनलाई माथि देखाउन सबैले आफ्नो तरिकाले विविध कार्यक्रम गर्न थाले। संगठनहरू ध्रुवीकृत हुँदै गए। फरक संगठनका हरेक व्यक्तिहरूबीच वैमनस्यता बढ्दै गयो। धेरै विवादहरू बढ्दै गए। कहिले विद्यालय बन्दको निहुँमा त कहिले सामान्य कक्षाको समय व्यवस्थापनको निउँमा। विवादमा कहिले शिक्षक त कहिले स्थानीय पनि मुछिन थाले। यस्तो ध्रुवीकरणले समग्र विद्यालयलाई नै असर गर्ने नै भयो साथसाथै हाम्रो प्रेममा पनि धमिरा लाग्न सुरू भयो।
भेटघाट पातलिँदै गयो, संचार शून्य हुने अवस्था आइसकेको थियो। उसले आफ्नो संगठन तथा मैले मेरो संगठनलाई स्वभावत माथि देखाउन आफ्नो तरिकाले योगदान दिनुपर्ने थियो।
हामीलाई नैतिक दबाब पनि पर्न गयो। समय निकालेर म विभिन्न तरिकाले उसँग जोडिन खोज्थें,चाहे त्यो फोनकल होस् या मेसेज।
मेरा कलहरू उसले बिस्तारै कम उठाउँदै गयो, मेसेजको प्रतिक्रिया पनि कम गर्दै गयो। कहिलेकाहीँ उसका मिसकलहरू मेरो मोबाइलको छातीमा झुन्डिएको देख्थें तर फर्काउन भने कहिले भुल्थी त कहिले भ्याउँदिनँ थिएँ। तर अप्ठ्यारो परिस्थितिमा पनि हामीले सकभर जोडिने प्रयास गरिरहेका थियौं।
संगठनबाट मलाई नैतिक दबाब आउने क्रम जारी थियो। एक दिन मलाई ठूलो नैतिक संकट आइपर्यो। संगठनको बैठकमा अध्यक्ष कमरेडले कि पद (संगठन)छोड्नु पर्ने कि आफ्नो प्रेम त्याग्नुपर्ने प्रस्ताव ल्याए। म जिल्ल पर्दै ठूलो धरमरमा पर्न गएँ।
संगठन र प्रेम जीवनका छुट्टै पाटा हैनन् र? विपरीत संगठनको सदस्य हुँदैमा प्रेम नै गर्न नहुनी हो र?म त अलमल्ल परें।
करिब २ वर्षको प्रगाढ प्रेम चटक्कै माया मार्न नि कसरी सम्भव होला। सानैदेखिको राजनीतिक रूचि तथा संगठनप्रतिको आस्था, कसरी मार्नू? ठूलो धर्म संकट आइपर्यो। धर्ती आफूमाथि बजारिएझैं भयो। म अन्योलमा परें।
मैले यो निर्णय अर्को बैठकमा दिन्छु भन्दै विषय टुंग्याएँ। बैठक पनि सकियो अनि हामी सबै आफ्नो कोठातिर लाग्यौं।
बिस्तारै आफ्नो संगठनबाट झनै दबाब आउन थाल्यो। समबाहु त्रिभुजझैं हामीसँगै एउटै कोण बनाएर कहिल्यै नछुट्टी हिँड्ने दौँतरी पनि मलाई एक्ल्याउन थाले।अघोषित नाकाबन्दीझैं मलाई दैनिक आवश्यक सामग्री माग्न जाँदा पनि दिन छोडियो।
म संगठनका साथीहरूसँग मित्रवत व्यवहार गर्थें तर उनीहरू उल्टो।
एक्कासि सबैमा परिवर्तन देख्न थालें। प्राय: आफ्नै संगठनका साथीहरू बढी मिल्ने अनि सबै कामहरू सँगै गर्ने गर्थ्यौं।
तर म बिस्तारै तिरस्कृत हुँदै गए। पैसाको अभाव हुँदा सापटी नपाउने तथा भोकै बस्नुपर्ने दिन पनि आए।
कलेज जाँदा होस् या फर्कंदा, म एक्लिन बाध्य भएँ।
भौतिक, मानसिक एवम् सबै शारीरिक तरिकाले ममाथि नाकाबन्दी बज्रियो। चाहेर पनि मैले यी सबै कुरा आफ्नो प्रेमीलाई भन्न सकेको थिइनँ। सायद ऊ पनि नैतिक दबाबमा परेर होला फोनकल, मेसेज सबै बन्द भएको थियो।
कक्षामा भौतिक रूपमा भेट्दा नचाहँदा नचाहँदै पनि हाम्रो बोलचालमा पूर्णविराम लागिसकेको थियो।
सायद ऊ पनि खुबै रिसाएको होला, एक्कासि मेरो परिवर्तन देखेर तर मेरो परिस्थिति खै कसले बुझिदिने?
आफ्नो भन्ने प्रेमीसँग पनि अंगालो हाल्दै रून सकेको थिइनँ, न नै यो अवस्था उसकै कारणले गर्दा आएको हो भनी औंलो ठड्याउन सकेको थिए। लाग्न थालिसक्यो कि बरू सुरूमा नै नाम नै ननिस्किदिएको भए हुन्थ्यो, अर्कै कलेजमा नाम निस्केको भए हुन्थ्यो, बरू यो विषय नै नपढेको भए हुन्थ्यो।
म वाक्क भैसकेको थिएँ।
एकदिनको कुरा हो, संगठनले दिएको अल्टिमेट समय पनि नजिक आइरहँदा म के गरौं भनेर सोचिरहेको थिएँ। कैले दिमागले भन्थ्यो कम्युनिष्ट भएर यथार्थमा बाँच्न सिक्नुपर्छ, करिअरलाई अघि बढाउने समय हो यो, प्रेम गरेर हुन्छ? करियर र संगठनलाई सँगसँगै अघि लैजानुपर्छ। तर मनले जोरी खेल्दै भन्न थाल्छ, यत्रो दुई वर्षको प्रेम? त्यसै सक्काउनी? प्रेमको अनुशासन यही हो? दुई दिन प्रेम गर्ने अनि छोड्दिनी? ल अहिले त छोडलिस् रे, त्यो प्रणय दिवस बिर्सिन सक्छेस्? गुलाफ, त्यो जन्मदिनमा तँलाई देखाएको सद्भाव बिर्सन सक्छेस्, त्यो दुई वर्षको प्रगाढ यात्रा बिर्सिन सक्छेस्?
यस्तै कुराहरू खेल्दै गर्दा एउटा दिमागको सानो कुनाले सोच्यो,बरू यो गोलभेंडाको किरा मार्न ल्याउको किटनाशक औषधि खाएर मरौं कि क्या हो?
फेरि अर्को कुनाले भन्न थाल्यो, हुन्न! यति हो त तेरो जिम्मेवारी? यत्तिका लागि जन्मेकी होस् त? यस्तै हुन्छन् कम्युनिस्ट? जो दु:खदेखि डराएर भाग्ने? कम्युनिस्ट आन्दोलनलाई अघि बढाउँछु भन्ने यस्तै सानोतिनो समस्यामा अल्झिन्छन् ? यस्तै कुरा सोच्दासोच्दै म निदाएको पत्तो नै पाइनछु।
पर्सिपल्ट त्यसैगरी संगठनको बैठकमा मेरो निर्णय सुनाउने क्रममा आफू कठोर भएर आफू संगठनप्रति सधैं उत्तरदायी रहेको र संगठनले चाहेअनुसार आफू हिँड्ने प्रतिक्रिया दिएँ। पलाउँदै गरेको प्रेमको हत्या गरी मैले संगठनप्रति कटिबद्ध भएर काम गर्न थालें।
विभिन्न सांगठनिक कार्यक्रममा मैले लोकतान्त्रिक विद्यार्थी संगठन तथा उसलाई(प्रेमी)खुलेरै विरोध गर्न थालें।
वैचारिक बहसमा म अब खुलेआम निस्कन थालें। संगठनप्रतिको माया झनझन बढ्न थाल्यो। हरेक कार्यक्रममा नेतृत्व लिएर संचालन गर्न थालें।
पछि आफ्नो संगठनका साथीहरूको प्रस्तावपछि मलाई अध्यक्ष बनाउने निर्णय भयो। अरू संगठनभन्दा राम्रो तथा बलियो बनाउन सफल भएँ।
विभिन्न उतारचढाव आए, सहर्ष स्वीकार्दै अघि बढें। जस्तो परिस्थिति आएता पनि त्यसलाई सम्हालेर अघि बढें।
जिल्ला तथा केन्द्रसम्म समन्वय गर्न थालें। जिल्लामा हुने संगठानिक कार्यक्रममा सहभागी हुँदै गएँ। जिल्लाका नेतासँग पनि परिचय हुँदै गयो।
जिल्लामै एक खालको प्रभाव बनाउन सफल भएको थिएँ।
केन्द्रीयस्तरका विद्यार्थी नेतासँग पनि सम्बन्ध विस्तार हुन थाल्यो। राजधानी जाँदा नेताहरूसँग भलाकुसारी गर्ने अवसर पनि प्राप्त हुन्थ्यो। पढाइ सँगसँगै राजनीतिक उचाइ पनि प्राप्त हुँदै थियो अनि स्नातक पढाइ पनि बिस्तारै सकिँदै गयो।
आफूले दिनसक्ने शतप्रतिशत संगठनलाई दिएर बिदा हुने अवस्थासम्म आइपुगेको थियो।
हिजो उसले मलाई प्रेम प्रस्ताव गरेको पनि चार वर्ष पुगेछ।
हाम्रो सम्बन्ध टुटे पनि उसले दिएको मायाका टाटा अझै विलाएका रहेनछन् भन्ने हिजो नै राहुलको कुरा सुनेपछि थाहा भयो।
राहुलले हाँस्दै भनेको थियो, ‘सुस्मिता, तिम्रो पुरानो ब्वाइफ्रेण्ड सुमनले त उसकै संगठनको यसपालि नयाँ आएकी जुनियर बैनी गर्लफ्रेन्ड बनाएछ नि!’
म छाँगाबाट खसे सरह भएँ।