एउटै बोटमा रहेका काँडाहरु भुलेर
आफ्नै रुपमा आल्हादित हुँदै
मुस्काइरहन्छ गुलाब।
हर प्रहर,
धरती हेर्दै पल्लवित लालुपाते
प्रकृतिले आफूलाई सुगन्ध
कहिल्यै दिन्नन् भन्ने सोंचेर
रंग फेर्दैन!
न कुनै रिस साध्छ
विधाताप्रति पारिजात
सुन्दरताले फक्रिएको आफ्नो जवानी
भ्रमरकै चुम्बनमा
भुइँमा झर्नुपर्छ भन्ने सम्झेर।
कहिल्यै निराश नभई सूर्यमुखी
कर्के नजर गर्दैन
सूर्यतुल्य आफ्नो सौन्दर्य
सूर्यतिरै फर्काउँदा फर्काउँदै
साँझ परेपछि अस्ताइदिने सूर्य देखेर।
बरु, धैर्यताको सागरमा
सम्हालेर आफैलाई
कालो रातको कठालोमा पनि
सूर्योदयकै पर्खाइमा बिताइदिन्छ सूर्यमुखीले
हरकहर समय।
सुगन्धित चमेलीले
खुला आकाशमा खेल्ने अवसर
खुलेका बादललाई जस्तो
आफूलाई छैन भन्ने सोचेर
कसैप्रति खन्याउँदैन रोष।
फूलहरु
बेजोड सौन्दर्य रसीमाका पर्खालभित्रै
कैयौं अवगुनहरुलाई पन्छाउँदै
गुनको बिस्कुन पस्किएर धर्तीमा
अनुपम मनोरमको मुस्कानमा
प्राकृतिक इन्द्रेणीहरुसँग
रुपको तीव्र प्रतिस्पर्धा गरिरहन्छन्।
यिनको दिव्य तर सम्मोहनीको प्रदर्शनीले
भुलाइरहेछन्
कैयन् संसारिक पीडाहरु!
फूलहरुका रंगमा
दंग पर्दै
कविता रच्ने कविहरु!
हरक्षण खुसीको साँझ खोज्दै
गुँड फर्किने चरालाई हेरेर
लेखौं न एउटा घरभित्रको कविता
समताको सुस्केरा गुञ्जाउन फूलबारीमा
प्रकृतिले अनेक सृजनालाई सन्तुलित बनाउन खोजेको छ
आफ्नो पिंढी कुरुप देख्ने मस्तिष्कचित्रको
भद्र विनिर्माण गरी
छेउमा रोपौं न फूल
फक्रेपछि फूलहरुले
सुमधुर बनाउने छन् मनमय घर
र, गुञ्जाइदिनेछन् धुरीमा समृद्धिको गीत।
घर छाडेर अन्तै कुलेलम हान्नेहरु
फूलको रोमाञ्चक रुप सम्झेर
माटोको खुसीलाई पछ्याउन सिपालु बन्नेछन्
गोधुलीमा गुँड फर्केर चिरबिर गर्ने चरीहरुले झैं
हर साँझ आफ्नै घरमा बास बस्ने बानी बसाल्नेछन्
दु:खका लम्बेतान् विगतलाई भुलाएर
टालिएका घरको उचाइ बढाउनु छ अब
श्रमको सुस्केराको धुन
आफ्नै धुरीमा गुञ्जाउनुछ
घरमा मधुरताको बहार ल्याउन
फूलहरु
आँगनमै फक्राएर
थुप्रै मौरीका बथानलाई
निम्तो दिनु छ।