आज रजाइँ गर
डाडु-पन्यु तिम्रो हातमा रहेको बेलामा
सम्पूर्ण शक्ति आफूले कब्जा गरेको बेलामा
चेसमा रहेका हात्ती छौ तिमी अहिले
हात्ती हुनुको दम्भ भएर
तिमीलाई चलाउने अर्को माहुते छ भन्ने भुलेको बेलामा
खोल आफ्नाका लागि भर्ती केन्द्रहरू
चलाऊ आफ्नो मनपरी तन्त्र र राज
बजाऊ आफ्नो गाथा अनि भजनका धुनहरू
तिम्रा प्रत्येक
भाषणमा ताली र गाली ठोकेकाहरू
पक्ष र विपक्ष भनाउँदाहरूले
कसरी बुझ्छन् होला?
तिमीले बनाएका तुइन तर्न नसकेका सपनाहरूलाई
तिमीले चलाएका पानी जहाजबाट किनारामा छुटेका यात्रुहरूलाई
तिमीले बाढेका 'मार्सी चामल' को थैलो बिसाउनु अघि
सिटामोल र जीवनजलको एउटा पोको मागिरहेका हातहरूलाई
देश छोडेर फगत १०-२० हजारका निम्ति खाडीमा लुकेका रोदनहरूलाई
आफ्नै देशमा दोस्रो दर्जाको नागरिकको पगरी ओढ्न
बाध्य पारिएका लाखौं बन्धुहरूका क्रोधनहरूलाई
तर
एकदिन
जब
इतिहासले आफ्नो बाटो फर्किनेछ
समयले एक कोल्टे फेर्नेछ
तिमीले अहिले अनन्तसम्म ठानेका
तिम्रा पानीका फोकाहरू फुट्नेछन्
बालुवाको घर, छताछुल्ल हुनेछन्
र
इतिहासले सम्पूर्ण बदला लिनेछ
तिम्रा यी अनगिन्ती
चालहरूको
खेलहरूको
घमण्ड अनि दम्भको
तब
तिम्रो रोधन अरण्य हुनेछ
बस्
कुर तिमी
इतिहासमा एक चेसको हात्ती भएर।