आफ्नो घरको बार्दलीबाट उर्लिएको पल्लो छेउको खोला हेरेँ। मन भने धेरै उदास थियो। खोलाको पानी कहीले तल कहीले माथि गर्दै उर्लिदै गड्गडाएर बगिरहेको थियो।
एकाएक खोलाले नजिकका तटीय क्षेत्रका वस्तीहरुमा ताण्डव मच्चाउन थाल्यो। घरपरिवार विस्थापित भए। त्यसको भयानक विराट रुप देख्दा मेरो आङ जिरिङ्ग भयो। कहीले डरले आँखा बन्द गर्थें, फेरि आँखा खोल्थेँ र अत्तालिन्थेँ।
आखिरमा म चिच्याउन कराउन थालेँ 'छिटो भागौँ, छिटो निस्कौँ।'
आमा मझेरीमा आफ्नै काममा तल्लीन देखिनु हुन्थ्यो। बाबा भुइँमै बसेर किताबका पानाहरुमा के-के लेख्दै हुनुहुन्थ्यो। 'के बोलेकी नानी!' आमाले हकारेको स्वरमा भन्नुभयो।
'आमा-बाबा बार्दलीबाट हेर्नु त! मानव वस्ती र पूर्वाधारहरु बगेका छन्। खोलाले गाउँ नै सखाप पार्न र कटान गर्न बाटो बिराएको छ। त्यहाँ हारगुहार चित्कारको निरन्तर आवाजले एउटा डरलाग्दो अवस्थाको चित्रण गर्दै छ। त्यहाँ सबथोक फरक र भयंकर देखिन्छ।'
चाख दिँदै मेरो कुरा सुन्नु भएका बाबाले भन्नुभयो 'दैव पनि कस्तो निष्ठुरी, हामी गरिवमाथि नै बज्रिनु पर्ने!'
'आफैले संगालेर राखेको खेतबारी, गाईवस्तु, रुख-विरुवा, फलफूल र आफ्नो प्यारो घर छोडेर म कही जान्नँ' भन्दै आमा रुन थाल्नुभयो।
तर बाबाले 'झिटिगुन्टा बोकेर बाहिर निस्क, अलमल नगर' भन्नुभयो। अनि अचानक आमा भुइँ कोपर्दै माटो तिर हेर्दै 'म जाँदिनँ कतै' भनी अर्धमुर्छित हुनुभयो।
'के नचाँहिदो कुरा गर्छेस् तँ!' बाबा आमासँग झर्किनु भयो, 'मलाई अप्ठ्यारो पार्न, दुःख दिन! आइज छिटो जाउँ यहाँबाट निस्की।'
आमाको पाखुरा समात्दै बाले घर बाहिर तान्नुभयो। कति दुखी भएका थियौँ हामी सबैजना त्यो दिन।
आमाले हलचल नगरेपछि 'के गर्ने त अब? हृदयविदारक दृश्य हेरेर बस्ने?' बाबाले लाचारिको शब्द ओकल्नु भयो।
'सबै एक चिहान हुने?'
एकाएक सन्नाटा छायो। त्यस उकुसमुकुसमा कोही केही बोलेनौँ। चुपचाप मनमा गाठो पारेर गहभरि आँसु सहितको भारिमनका साथ अघि बढ्यौं।
हेर्दाहेर्दै आफू बसेको भिरालो जमिन पछाडि छुट्यो सधैँको लागि। लगातार एक घण्टा हिँडेपछि सुरक्षित ठाँउमा पुग्यौँ। तर न त त्यहाँ मेरो घर थियो न त कुनै गन्तव्यको ठेगाना।
त्यहाँ मजस्तै थुप्रै लुरे ज्यान, गम्भीर आँखा र निराशाजनक अनुहारहरु छरपष्ट थिए। त्यो डर, त्रास र संकटमा रुमल्लिएको समय थियो। कोही यताबाट उता र कोही उताबाट यता कुद्थे।
कहिल्यै नसकिने चित्कारले त्यस ठाँउमा उराठलाग्दो समयको बयान गर्थ्यो। कोही 'मेरो त सर्वस्व सक्कियो, आकाश झर्यो' बोल्दा बोल्दै चुप हुन्थे। कोही 'लौन! मेरा बाबुनानी कता गए कता' टोलाउँदै कराउँथे।
कोही छिनमै हाँस्ने छिनमै रुने गर्दथे। सबैले आ-आफ्ना केही न केही गुमाएका थिए। बगाएका थिए। त्यहाँ बेग्लै कथा व्यथा र पीडाको निष्ठुरी संसार थियो। झन् त्यसमाथि लगातार बर्सिएको मनसुनले गर्दा सबै त्रासले गुजमुट्टिएर एकै ठाँउ बसेका थिए। त्यही पनि सबै एक्लाएक्लै थिए।
रातभरि आफन्तहरुलाई सम्झेर रुँदै थियौँ। तीन, चार दिन त बस्ने ठाँउ नपाएर सडकमै बित्यो। पालपुनि बाहेक अरु बस्ने ठेगाना थिएन। शोक र भोकले गलिन अनुहार र मलिन स्वरमा दुई, चार प्याकेट चाउचाउले खुसीको त्यान्द्रो ल्याउन सकेन।
त्यो काहालीलाग्दो रात हाम्रो घाउहरुलाई सुम्सुम्याउने, दुःखलाई बिर्स्याउने कुनै ठाँउ थिएन। आफ्नो पीडा आफैँभित्र गुम्सिएर बस्दा घाउ आलो नै रहिरह्यो। तैपनि मर्ने कि बाच्ने ठेगान नभएको त्यो ठाँउबाट हामी कसरी उभो लागेका थियौँ, त्यो आफैमा संघर्षको कथा थियो।
धेरैपछिसम्म आमा टोलाइरहनु हुन्थ्यो। उहाँ बारम्बार एउटै प्रश्न दोहोर्याइ रहनु हुन्थ्यो, 'फेरि अर्कोपालि त त्यस्तो हुँदैन नि नानी? हामी फेरि उठीबास हुनु पर्दैन नि नानी?'