केवल आफ्नो रहरले जोडेका सम्बन्धहरुभन्दा यहाँ
बाध्यताले निभाउनु परेका जिम्मेवारी ठूला देख्छु अचेल,
पुस्तौंदेखि आफ्ना भनिएका रगतका नाताभन्दा यहाँ
मनैदेखि जोडिएका भावना अटल देख्छु अचेल
खहरे जस्तै बग्ने मेरा सपनाहरु आज
आफ्नै आँखा सामु समुन्द्र जस्तै अटल भएछन्,
बादल जस्तै बग्ने अनेक चाहना
फुर्सदमा नयन रसाउने बाहना भएछन्
समय बलवान सुन्दा अचम्म लाग्थ्यो मलाई
आज त्यही समयको बहावले बदलिएको मभित्रको स्तम्भ,
परिवर्तन समयले ल्याउँछ अचम्म लाग्ने मलाई
आज काँडाबीच फूल देख्छु प्रकृतिमै सृष्टिको प्रारब्ध
पलपलमा आएका सुखका बहार तथा दुःखका लहरहरु
आँसु लुकाई मुस्कुराएर पाइला टेक्ने भएछु म,
आत्मैदेखि जोडिएका गाउँ तथा स्वार्थी जमातका सहरहरु
प्रत्येक ठाउँहरूमा आफ्नो गन्तव्य चिन्ने भएछु म
अरूको नजरमा काँडा या फूल मभित्रै फुल्ने भएछु म
मभित्रै फुल्ने भएछु म।