म बस्ने कोठाको पश्चिमपट्टि एउटा झ्याल थियो। झ्यालबाट बाहिरको सबै दृष्य देखिँदैनथ्यो। किनकि, म बसेको घरको सामुन्ने अर्को घर नारिएर विराजमान थियो। यसो भनौँ, खाली जग्गा बाँकी थिएनन् वरपर।
बीचमा साँघुरो गल्ली थियो जहाँ दुई गाडीहरु वारपार हुन पनि कठिन पर्थ्यो। मेरो झ्यालबाट पल्लो घरको आधा भाग प्रष्ट देखिन्थ्यो तर पूर्णरुपमा त्यस घरको झ्याल देखिन्थ्यो। निलो रंगले सजिएको त्यो झ्याल घाम अस्ताउँदै गएपछि झन् चम्किन्थ्यो।
यसको कारण थियो, पश्चिमतिरको यात्रामा निस्किएको सूर्यको प्रकाश सोझै त्यो घरको झ्यालको चेहरामा ठोक्किन आइपुग्थ्यो। अर्कोतिर, झ्यालको वरपर परेवाहरु घुमिरहन्थे। सायद झ्याल आसपास तिनीहरुको बासस्थान हुनुपर्छ।
परेवा बसेको घर शान्तिको प्रतीक पनि मानिन्छ। तर, कति शान्ति र फलदायी थियो त्यो घर! म एक, दुई दिनको पाहुनालाई कहाँ थाहा थियो र?
त्यो झ्यालबाट एक स्त्री घरीघरी मुन्टो निकालेर तल आँखा बिछ्याउँथी। अनि, तलबाट माथि आउँदा उसका आँखा मेरो झ्यालतिर ठोक्किन्थे।
उसका आँखाको हेराइले एक्कासी तातो बतास झ्यालबाट भित्र ह्वार्र पसेजस्तो अनुभूति हुन्थ्यो र मभित्र कुन्नि कस्तो कस्तो आवेग जन्मिन पुग्थ्यो र शरीर एकैचोटि जोडले झंकारिन्थ्यो, जसरी अग्निमा शरीरको कुनै अंग पर्दा च्वास्स हुन्छ।
म थाकेकाले ओछ्यानमै पल्टिएर त्यो दृष्यलाई देख्थेँ। मलाई उठेर हेर्नुभन्दा सुतेर हेर्दा बेजोड आन्नद पैदा हुन्थ्यो।
‘यो दृष्य हेर्दा मलाई किन यति स्वर्णीम आनन्द पैदा हुन्छ हँ! म लमतन्न भएर सुतेपनि आँखा किन उतिरै बगिरहन्छन्? बिहानभरि ट्रेनिङमा सिकेका कुराप्रति किन मन जाँदैन मेरो?’
जीवनको यात्रामा कहिलेकाहीँ यस्तै त हुन्छ, अचिनारुलाई देख्नु पर्छ र उतै तानिन्छ, आँखा, मन, होस, सबै। फलस्वरुप, अकारण मनको तरेलीमा संवेगको बाक्लिँदो लहर बन्दै र भत्किँदै जान्छ।
यो धरामा सास फेरिरहेको दरिलो प्रमाण त हो नि। नत्र मैले कहाँ देख्न सक्नु र यो सुन्दर संसारलाई। नत्र मैले किन अकारण जन्माउनु र अनेक विचारलाई। हो, मैले निश्चय नै देख्न सक्दिनँ थिएँ त्यो एक जोडी स्वेत रंगका परेवाको साँचो प्रेमलाई।’
ऊ मेरो झ्यालबाट भित्रपट्टि एकटकले हेर्ने मन गर्दिन थिई या उसले हेरेको बेला मेरा आँखा उसको हेराइमा नपरेको हुन्। त्यो त मलाई यकिन छैन तर त्यो गोरी थिई, गोलाकार अनुहारकी।
मलाई उसको शारीरिक बनावट त्यति बेलासम्म त्यति बिध्न थाहा पनि छैन तर जति थाहा छ मेरो अनुमानमा, उसको निवासजस्तै आधा। फगत आधा। हो, म उसको आधा माथिल्लो भाग मात्र देख्न सक्थेँ।
त्यो दिन देख्दा निलो कपडा परिधान गरेकी थिई। सायद, त्यही भएर पो हो कि उसको बनावटले भन्दा पनि उसको निलो रङको पहिरनले, सम्पूर्ण उसका कृयाकलापले तानिरह्यो।
एक मध्यान्ह ऊ छटपटिएर झ्यालपट्टि आई र किन-किन मेरो ध्यान खिचिरही, नजानिँदो रुपमा। म तमतन्न भएर सुतेपनि आँखा उतिरै बगिरहे। मलाई शंकै लाग्छ, आधुनिक होटल वा लजमा बिस्तराको सेटिङ पनि कायदाले गरेका हुन्छन् क्यार।
एक मिटरको पनि खाली भाग नराखी घर ठड्याएका हुन्छन् सहरमा, झ्याल-झ्याल ठोक्काएर। किन झ्याल झ्याल ठोक्काउनु हो? किन आँखा-आँखा जुधाउने अवस्था सृजना गर्नु हो? गाउँमा त यस्तो हुँदैन।
त्यस दिन म ट्रेनिङबाट आएर दिनमा एक झमक्क निदाएर ब्युँझिँदा तीन बजेको थियो। म ब्युँझिँदा त्यो झ्याल बन्द थियो, मानौँ मेरो हेराइ बन्द भयो। घामलाई पनि निहारिकाले पर्दा लगाएको रहेछ। केवल उज्यालोविहीन अवस्थामा थियो झ्याल।
म चार पर्खालभित्र अब थुनिएँ तर झ्यालबाट तल, निकै तल देखिने मानिसहरुको जाग्रित चहलपहल झाँगिएको थियो जब साँझ ढल्किँदै गइरहेको थियो। एकछिन त्यतापट्टि गौर गरेर मैले मेरो डायरी बिस्तरामा बसेर पल्टाएँ।
बिहानको ट्रेनिङमा केही टिपोट गरेको थिएँ। तर, टिपोट कुराभन्दा पनि मलाई तालिम दिने ती वृद्ध उमेरका जवानी कुराहरुले कुत्कुत्याइरह्यो निकै बेरसम्म।
यसरी मेरो मनको पर्खालमा एक किसिमको परिहासको चित्र एकाएक टाँसिन आइपुग्यो। ‘मानिसहरुले उमेरको भर्याङमा खुड्किला उक्लदै गएपछि किन जवानी डकार्छन हँ?’
ऊ कम सिपालु थियो र? चलनचल्तीको भाषामा भन्दा ऊ त ‘स्याल’ थियो। उसको आँखा समान लिङ्गतिर भन्दा पनि ती विपरीत लिङ्गका अधबैँसे नारीहरुतिर थियो जो जोडले हाँसिरहन्थे उसको कुरामा लोली मिलाएर।
मुख चोसो बनाएर ‘होनि, होइन र?’ गर्थ्यो जतिखेर पनि उनीहरुलाई हेर्दै। आखिर बुझिल्याउने हो भने ट्रेनिङ दिने बुढा पुरुष हुन् या कक्षाकोठामा विद्यार्थीसँग कामित कुरा गर्न खप्पिस भइसकेका शिक्षक, महिलाप्रति आकर्षित नै हुन्छन् क्या।
उमेरले छेक्छ भन्नु पनि फगत भनाइ मात्र। के म आफूलाई ढाँट्न सक्छु र अब? सक्ने हो भने मैले पनि बारबार उतैतिर नहेर्नु पर्ने हो नि? त्यो पल्लो घरको निलो झ्यालतिर बारबार गौर नगर्नु पर्ने नि?
तैपनि, एकछिन विश्राम लिने निधो गरेँ। त्यसपश्चात, मैले मेरो डायरी केही मिनेटसम्म सुतेर ओल्टाइ पल्टाइ गरिरहेँ।
म गाउँबाट काठमाडौँ आएको थिएँ- ट्रेनिङको लागि। मलाई लाग्छ, म आधा जिन्दगी भोगचलन गरिसकेको मानिसलाई केको ट्रेनिङ सेनिङ! त्यही भएर ट्रेनिङकै लागि भन्न पनि लाज लाग्छ। नढाटीभन्दा राजधानी घुम्न आएको, पार्टीको सोर्स फोर्स लगाएर।
अलिअलि पैसा पनि हुने र सहरको जिउँदो वास्तविकता देखिने। वास्तवमा गाउँ र सहरमा घनघोर तखता छ। म सहरलाई चिन्न जोड गर्छु तर सहरले चिन्दैन। गाउँलाई चिन्न मन हुनै पर्दैन। गाउँले आफैँ चिन्छ।
ममात्र होइन अरु साथीहरु पनि थिए पल्लो कोठामा। उनीहरुलाई कति पटाइ लागेको होला? के मन खुस होला र यो सहरको चार दिवालभित्र खुम्चिएर बसिरहन? सायद, कोही त बजरतिर गइसके होलान्।
त्यसपश्चात, म तल पुगेँ काउन्टरमा र एक कप चिया मगाएँ। अनुमान साबित भएछ, अमृत सर पनि बाहिर जानु भएको रहेछ र उहाँ पनि भर्खर आएर चिया पिउँदै हुनुहुँदो रहेछ। थाहा छैन मलाई उहाँ कता हानिएर आइपुग्नु भएको थियो।
मैले एउटा सहरी जिज्ञासा तेर्साएँ, ‘मान्छेहरु भिडभाडमा कसरी खुसी हुन्छन् सर? ल हेर्नुहोस् त बाहिर। कस्तो व्यस्तता है, मिनेट फुर्सद छैन सहराँ!’
उहाँले मेरो कुरामा ध्यानै दिनु भएन। मलाई लाग्यो, मेरो भनाइलाई सहरमा बसेर व्यवहारमा अमृत सरले उतारिरहनु भएको छ। हुन त उहाँ पनि सहरीया हो, सहरमा आधा र गाउँमा आधा बसाइ छ।
गाउँमा जागिर भएर मात्र हो, हामीसँग अडिनु भएको। यसमा गुनासो नै किन र? तर बुझिल्याउँदा प्रतिकृया नै नफर्काउने त मान्छे कहाँ हो र उहाँ। सायद सहर टेकेपछि मेरो कुरा त्यति दिलचस्पी लाग्न छाडेको छ उहाँलाई, विगत एक वर्षदेखि।
सहरको हावापानीले दुई दिनमै कायापलट मान्छे त। यसो मतिर फर्किएर खिस्स हाँसिदिँदा उहाँको के नै पो जान्थ्यो र? खैर, केही छैन। म झिनामसिना कुरामा चित्त दुखाउने मान्छे हैन।
तरपनि मन न हो, म ओल्लो कुनामा नमिठो मान्दै आइपुगेँ। एक अखबार तान्दै त्यसको पाना पल्टाएर बसेँ। शीर्षक मात्र हेरेँ, सबै पानाका। नयाँ कुरो केही छैन या नयाँ समाचारपट्टि मेरो आँखा पुगेनन्। शीर्षक फरक छन्।
पन्ध्र वर्ष अघि प्रतिपक्षी नेता भनाउँदोले गरेको आलोचना एउटै छ। परिवर्तन त भए होलान् नि यतिका वर्षको अन्तरालमा, तर ती परिवर्तनहरु यो अखबारले लेखिदिएन। कसो गर्ने अब? मैले अर्को अखबार तान्दै अमृत सरलाई पुलुक्क हेर्दै सरसर्ती शीर्षकतिर आँखा पुर्याएँ।
खै यो अखबरले गुणगान गाएकै छ सरकारको। मैले अखबरको नाम जुधाएँ। शत्रुता पाएँ तिनीहरुको शीर्षकमा। अमृत सरले हेर्दै गरेको अखबर तन्किएर हेरेँ र उनको चेहरामा पनि हेरेँ। उनी अझै ठेगानमा आइपुगेको ठम्याइनँ।
मैले अर्को अखबार सुल्झाउन पनि नखोजेको होइन। तर, उनी त्यो बेला नहाँसिदिँदा म अगाडि बढ्न सकिनँ। खिसिक्क हाँस्नु पनि त सहमति जनाउनु हो नि। होइन र?
मानिसहरु त्यसै विभाजित छन्। खै केले विभाजनको दिशामा होमाउँछ मानिसलाई? जुगाधी विचारले किन यसरी डोहोर्याउँछ मानिसलाई? परिणाममा, आपसमा बेमेल र फरक धारको हाँडीमा किन पस्न मन गर्छन् मानिसहरु?
त्यतिखेर यस्तो भान भयो मलाई- ‘मानिस पनि त स्वार्थी प्राणी हो नि। पौरख गरेर सफलता पाउन कम मुस्किल छ र आजको जमानामा? आजको युगमा कुनै सिद्धान्तको पर्खालमा नअडिसिए त ऊ पछिको पछि। सायद त्यही भएर मसँग अमृत सर रिसाए क्यार।
म उनको सबै विचारमा त लोली मिलाउन सक्दिनँ नि। मेरो विचारसँग पनि त मेल खानुपर्यो नि। तर, सम्बन्ध नै टुटाउनु पनि मूर्खता। के हामी फरक धारम टेकेर कहिल्यै मुस्कुराउँन सक्दैनौँ र? खै, सक्छौँ कि।’
म अमृत सरसँग रिसाउँदै द्वारतिर लम्किएँ। तिनै युवती तल झरेकी रहिछन्। कस्तो कायदा! संकेतार्थ उनको निलो कपडाले मेरो ताजा स्मृतिको पन्तुरो फुकाल्यो र त्यो निलै झ्यालतिर ठोक्कायो। यो निलो कपडा र त्यो निलो झ्याल।
आखिर नियाल्ने हो भने आधुनिक युवतीको परिधान एउटै रंगको हुन्छ। तीनको कपडामा, नङमा, लालीमा एकै किसिमको रंग। मानौँ, मलाई अब अवसर मिल्यो तर म के भनेर बोल्ने उसँग? कुन सम्बन्धले बोलाऊँ उसलाई।
ती युवतीले मेरो मुखमा हेर्दै र मलाई छिचोल्दै गइन् र सोझै भित्र काउन्टरमा पुगिन्। झन् ठूलो अवसर आयो अब त मेरो ढोकामा। मेरो मनभित्र एउटा रमाइलो तर्क अपर्झट आयो, ‘सायद मलाई चिनिन् होला तिनले।’
यतिकैमा अमृत सर जुरुक्क उठे र मलाई बोलाउन तम्सिए, ‘दयानन्द दाइ, ए दयानन्द दाइ, मलाई त साह्रै पटाइ लाग्यो हो यो सहराँ। अब चार दिन कसरी बिताउनु होला?’
मलाई थाहा थियो हाम्रो सम्बन्ध फेरि झाँगिन्छ भनेर। तर, चैते झरीसरी हुने पो हो कि? उनले पुलुक्क त्यो युवतीतिर हेर्दै मलाई अल्झाउन खोजे। ती युवती हामीतिर हेर्दै मुसमुसाउन पुगिन् अमृत सरको कुरा सुनेर।
‘अचम्म लाग्दा मानिसहरु, ऊ बठ्याई गरिरहेछ मलाई प्रयोग गरेर। के म बोल्नु र उसँग?’
यद्यपि, मैले सहजै भनेँ, ‘आउनु, नजिक बसौँ। गफ गरौँ।’
अमृत सर मेरो नजिकको सोफामा बस्न आइपुगे, पल्लो कुनाबाट। उनलाई केले तान्यो एक्कासी ओल्लो कुनातिर? त्यो त मलाई प्रष्टसँग थाहा थियो। भन्न त मन थियो, ‘मन पर्ने शीर्षकको खुराकहरु पढेर बसेको भए भैहाल्थ्यो नि।’ तर भनिहालिनँ।
सम्झिएँ त्यो ट्रेनिङ दिने तालुखुइले बुढोलाई, सम्झिएँ मलाई स्नाकोत्तरमा त्यो ताका साहित्य पढाउने गुरुलाई। कम थिए र ती?
युवतीसँग झट्ट बोलिहाल्ने पुरुषको सूचीमा म पर्दिनँ। मलाई नियाल्नु पर्छ एकछिन। मलाई उसको बोली सुन्नु पर्छ एकछिन। मलाई तान्नु पर्छ उसको विचारले। हो, कारण पनि यही हो। म हरेक कुरामा दोस्रो हुने गर्छु।
त्यसैले त सोर्सफोर्स लगाउनु पर्छ मलाई। किनकि, मानिसहरु मौकामा हिरा फोर्न पछि पर्दैनन् तर म पछिपछि सर्छु। यो मेरो कमजोरी पनि हो। त्यही भएरै आजकाल मैले मेरो प्यारो छोरो उदिपलाई यसको विपरीत स्कुलिङ गरिरहेको छु।
खै कसलाई छोयो मेरो कुराले? भन्न चाहिँ मैले भनेँ, रिसाएर होइन ठट्टा गरेर, ‘समय चापन गर्न तपाईँलाई मात्र होइन सर, सहरका सबैलाई गाह्रो भएको छ।’
ती युवती काउन्टरमा उभिएर गफ हाँकिरहेकी थिइन्। होटलको काउन्टरमा कस्तो गफ हुन्छ? मलाई थाहा छैन। उनका दुई हात काउन्टरको टेवलमा चढेका थिए र उनको सम्पूर्ण पुष्ट शरीर त्यतैपट्टि ढल्किएको थियो।
मैले त्यसो भनिदिँदा उनले पुलुक्क ढल्किएर मलाई हेरिन्। त्यसपछि, मैले उनको कपडा पनि नियालेँ। निलै थिए कपडा। चप्पल पनि नियालेँ, चप्पलको माथिपट्टि निस्किएको फुर्को पनि निलै रहेछ।
मरो ब्रम्हले भ्याएजति सबै नियालेँ मानौँ, म कुनै अनुसन्धान अधिकृतले गर्ने काम गरिरहेको थिएँ। परिचयको सिलसिला अगाडि बढ्यो। तर, अमृत सरले मलाई बोल्ने फुर्सद कहाँ दिए र? यसो परिबन्ध मिलाएर बोल्न खोज्यो, अगाडि अगाडि बोलिहाल्ने।
यद्यपि नजानिँदो रुपमा त्यो युवतीका आँखा मेरो हाउभाउतिर सल्किएका थिए। देखादेख त हिजैबाट नजानिँदो रुपमा भइसकेको थियो। खै, यो मेरो भ्रम थियो या वास्तविक अनुमान? मैले केही सोच्न सकिनँ।
बुझिल्याउँदा उनी महिला अधिकारकर्मी रैछिन्। महिलाका पीडालाई मल्हम लगाउँदै राजधानीमा एक दशक बिताइसकेकी अधबैँसे महिला। उनको परिचयको सिलसिलाले एउटा सम्मान नपाउँदै अमृत सर खुट्किला उक्लिए।
मैले भनेँ, ‘पख्नुहोस् पख्नुहोस्।’
उनी नसुनी सरासर सिँढी चढे। तर, मलाई त्यस महिलाको कुराले छोइसकेको थियो। ‘राजधानीमा महिला हिंसा पहिलेको तुलनामा बढिरहेको कुरा आजको पत्रिकाले भनिरहेको छ।’
मैले भर्खर जे पढेको, त्यही सहजै भनेँ तर उनले सुनेपनि मेरो कुरालाई वास्ता गरिनन्। त्यसपछि, आफ्नो मनले मनलाई थुम्थुम्यायो, ‘ठिकै छ त, सुन्नै पर्छ र मेरो कुरामा केही बोल्नै पर्छ भन्ने पनि छैन। मैले त भर्खर पढेको कुरा बताइदिएको मात्र त हुँ।’
म कोल्टे फर्किएँ। तल टेबलमा आधा चिया चिसो भइसकेछ। मैले एक सुरुप्प पारेँ र पुन: दरबाजातिर लम्किएँ।
माथि परेवाहरु कलहमा थिए। झगडा गरेर यता र उता भुर्भुर उडिरहेका थिए। यतिकैमा एक परेवा तल भुइँमा धन्मनिँदै आइपुग्यो। सडकको बीचमा आएर उसका पयर रोकिए।
मेरो मनमा चिसो पस्यो, ‘बरु, उडेर जाओस् यो परेवा, मानिसहरुको भिडमा परेर आफ्नो प्राण नत्यागोस्।’
मनसाय त्यही भएर मैले अगाडि बढेर धपाउने चेष्टा गरेँ। मेरो आवाजको प्रभाव रती पनि परेन परेवामाथि। गाउँको मान्छेले सहरको परेवाललाई कसरी प्रभाव पार्न सक्छ र?
सहरमा बस्न अभ्यस्त भइसकेका परेवाहरुले मान्छे हेर्ने बित्तिकै चिन्दा रहेछन्। धपाउँदैमा किन उड्थ्यो र? एकछिनमा एक सटरको कुनोमा आएर सन्तोषले चुच्चो पखेटामा लगेर प्वाँख मिलायो।
म भित्र पसेँ। भित्रपट्टि कोही थिएनन्, फगत सुनसानप्राय: थियो। मात्र केही सिसाका जुठा कपहरु टेबलमाथि विराजमान थिए र विभिन्न नामका अखबारहरु। तर, थुप्रै प्रश्नहरु जीवित थिए जो उडेको बेलुनझैँ उचाउचा हुँदै जाँदै थिए।
म आश्चर्यतामा धकेलिँदै चिसो चियाको अन्तिम घुट्की लगाउँदै सरासर सिँढी चढेँ। कोठामा पुगेर घरी ओछ्यानमाथि बसेँ, घरी झ्यालतिर पुगेँ, घरी त्यो निलो झ्यालतिर हेरिरहेँ, घरी झ्यालबाट मुन्टो निकालेर तल हेरिरहेँ र अन्त्यमा डायरी पल्टाएर बसेँ।
तर डायरीमा लेखिएका अक्षरपट्टि मेरो ध्यान गएन। गयो मेरो ध्यान, त्यही ट्रेनिङ दिने पाको ट्रेनरतिर। त्यसपछि, अमृत सरतिर। र अन्त्यमा, त्यो निलो झ्यालतिर।