न सग्लै छँदा भ्याक्सिन पायो,
न ढलेपछि आइसियू र अक्सिजन
यता र उता दौडाउँदैमा प्राण गयो,
के गरी बुझाउलिन् मदनकी मुनाले मन!
सरकारले सक्दैन रे, घरमै मर्नु भन्छ रे भन्दै
आँखाभरि आँसु भर्थ्यो त्यो
आउँथेन, टप्प टिपी लान्थेन, मिति पुगेकै थिएन, टारेर टर्थ्यो त्यो।
हजार रुपैयाँको भ्याक्सिन म आफैं किनेर लाउन सक्थेँ,
मिलाएन सरकारले
कैयौँले बलि चढ्नु पर्ने भोक मिसनखोरसँगको
लडाइँमा तिनका सुनियोजित हारले।
पानी बिनाको माछा झैँ निसासिनु पर्दा
रोक्किएको सासमै सत्तोसराप गर्थ्यो त्यो
आउँथेन, टप्प टिपी लान्थेन, मिति पुगेकै थिएन, टारेर टर्थ्यो त्योl
समयमै भ्याक्सिन पाएको भए आज
ऊ हामीसँगै अझै लिला हेर्दै हुन्थ्यो
बुढी आमा छोडी जानु छैन मलाई,
हस्पिटल चाहार्दै गर्दा ऊ भक्कानिंदै रुन्थ्यो।
हुकुमे र बैठकेहरूले गर्दा म मर्दैछु भन्दै छिनछिनमै मुर्छा पर्थ्यो त्यो
आउँथेन, टप्प टिपी लान्थेन, मिति पुगेकै थिएन, टारेर टर्थ्यो त्यो।
पानीमुनि पुगेर भए नि दुई मुठी अक्सिजन ल्याइदे सरकार
भन्दै मुर्छा परिरह्यो
राजनीति तातिरह्यो, चिसिन नपर्नेहरू चिसिँदै गए,
दायित्वहरू त्यसरी नै टरिरह्यो
लालाबाला टुहुरा बनाइ, २३ वर्षे प्रियालाई छोड्ने भएँ
भन्दै बिलौना गर्थ्यो त्यो
आउँथेन, टप्प टिपी लान्थेन, मिति पुगेकै थिएन, टारेर टर्थ्यो त्यो।