सरकार! मलाई पटक्कै विदेश जान मन छैन। पल्ला घरकी दिदी, वल्ला घरका काका विदेश जानुभयो। घर-खेत जोड्नु भयो। छोराछोरी बोर्डिङ स्कुलमा पढ्छन्।
यी सबै देखेर पनि मलाई विदेश जान मन छैन। पटक्कै मन छैन। विदेश अर्थात् बिरानो देश, अर्काको देश, म कसरी त्यहाँ परिचय बनाउँ! अनि कसरी र कता आफ्नाको पहिचान र चिनारी खोजूँ।
हो सरकार! जति पटक आफैले आफैलाई सम्झाए पनि त्यो विदशी माटो टेक्न यी मेरा गोडा तयारै भएनन्।
आफ्नो काखबाट सन्तान टाढा हुँदा कुन बाबा आमा विचलित हुँदैनन् र? पठाउन नचाहेरै पनि अभावको अन्धकारमा रुपलिएको घरको छिँडीमा टुकी नै सही उज्यालो थप्ली छोरीले भनेर मैले १२ कक्षा सकेर बस्दा नै बाबाले विदेशबाट पैसा आउने घरको खुसी सुनाउनु भयो।
आँखाभरि आँसु पारेर आमाले त्यसैमा सही थाप्नु भयो। मैले बुझ्नु पर्यो, नचाहेरै पनि उहाँहरु म विदेश जाओस् भनिरहनु भएको छ। म अनौठी छु। आधा पेट सही आमाले पकाएको खाएकी छु।
बाबाको छत्रछाया पाएकी छु। सानो भाइको माया र आदर जमेकै छ। यसैले होकि? यो खाउँलाउँको वयमा पनि कसैको थालीको पकवान अनि परिधानले छोएन मलाई। हो सरकार! पटक्कै छोएन।
बर्खाभरि साहुको खेत अधियाँ र ठेक्का गरेपछि वर्षदिन चुलो बल्ने बाबुको छारी म, असारभरि खेत रोपर बिए पढ्न भर्ना खर्च जुटाएँ। कोट र पाइन्ट सिलाएँ।
केही महिना पढ्दै गर्दा जात, धर्म, लिंग र आर्थिक हैसियत नहेरी जसरी सूर्यले ताप दिन्छ, वृक्षले शितल दिन्छ, स्वच्छ हावा बहन्छ उसैगरी विश्वभरि मडारियो कोरोना भाइरस। स्कुल, कलेज, बन्दव्यापार सबै ठप्प भए।
वर्ष हैन, दुई वर्ष बित्यो। पढ्न र परीक्षा दिन सहज उपायका खाजीमा सम्बन्धित निकाए लागेन। फी उठाउन बिहान-बेलुका स्कुल, कलेज खुले, भर्चुअल कक्षा सञ्चालन गरी पढाइ भयो। एसइईको नतिजा स्कुलले तयार गर्यो।
तर त्यही सरकारले ०७६ मा बिए प्रथम वर्ष पढेका विद्यार्थीलाई ०७८ सम्म पनि परीक्षा लिने सहज प्रविधि (भर्चुअल) विधि बनाउन सकेन, किन?
एक वर्षको सहज परीक्षाको नतिजा भोलि दोस्रा, तेस्रा, चौथो पूर्ववत लिँदा हैसियत मापनमा कुनै समस्या नहुने बुझ्नु आफ्नो दायित्व ठान्न नसक्ने सरकारको शिक्षा नीतिले धरै जिन्दगी बर्बाद गर्दैछ।
मेरो एउटा साथी रुँदै डोली चढी। अर्कीले पासोमा झुन्डने असफल प्रयास गरी। गाँउमा सुन्दै थिएँ, पढाइ पूरा गर्न नपाई विवाह हुन लागेर पल्ला गाउँकी केटीले विष सेवन गरिछ। यो उमरका हदबन्दीले केटाभन्दा केटीलाई असर गर्ने रहेछ।
खै आमाको मायाले होकि! ज्यानै लिने विकृतिको शिकार नभएकी म अब पढेर आफ्नै देशमा उच्च पदस्त अधिकारी बन्ने चाहनाको बलि चढाएर विदेश जाने तयारी गर्दैछु आज। हो सरकार! तेस्रो वर्षमा पनि प्रथम वर्षको परीक्षा दिन नपाएपछि!