यसो खल्तीमा हात हाल्यो, एउटा जीर्ण पर्स भेटिन्छ। ०७६ सालको बन्दाबन्दीभन्दा केही पहिले किनेको। सत्र महिनासम्म खल्तीमा राख्दाराख्दै थोत्रो भइसकेछ। तथापि दिन फिर्ला कि भनेर पाइन्टको खल्तीमा बास बसिरहेको छ।
पर्सवालालाई लकडाउनको बेलामा आक्कल झुक्कल मात्र यसको अनुहार हेर्ने अवसर मिल्यो। यसको रुप सम्झन मात्रै पनि निकालेर यसो हेर्नुपर्ने नियती सिर्जना भयो। विश्वव्यापी रुपमा फैलिएको कोभिड संक्रमणका कारण लकडाउन नहुँदासम्म दैनिक वा मासिक रुपमा हात्तीहरु पर्समा लस्करै भित्रिन्थे।
कति लोभलाग्दो देखिन्थ्यो त्यो हात्तीको बथान। जब हात्तीहरु सल्बलाउँथे तब पर्स धनीको मन फुरुङ्ग हुन्थ्यो। मनोवैज्ञानिक रुपमा सन्तुष्टि मिल्थ्यो।
पर्स धनीको जीवनमा कतिवटा पर्सहरु फेरिए, कुन मोडल र मूल्यका पर्सले खल्तीमा बास पाए, त्यसको कुनै गणना भएन। लकडाउन पहिलाका पर्सहरुको कथा नै बेग्लै थिए। लटरम्म फल लागेको रुख जस्तो।
टकटकाउँदा पनि दुई/चार वटा नोटहरु खस्ने। केही नगद अनि डेविट/क्रेडिट कार्डहरुले पर्स सजिएको हुन्थ्यो। पर्समा लक्ष्मी लामो समय नटिके पनि राख्ने र लेनदेन गर्ने माध्याम बन्थ्यो। राखिरहन नपाए पनि हात्तीहरु देख्ने अवसर मिल्थ्यो। स्पर्श गर्ने अवसर हुन्थ्यो।
तथापि आज ती दिनहरु क्रमशः हराएर गएका छन्। र पहिलेको अवस्थामा फर्कन सक्ने कुरामा पनि संशय बढ्दै गएको छ। पोष्ट कोभिड अर्थतन्त्रमा हाम्रो जस्तो देशमा पुर्ववत अवस्थाको आशा गर्नु बाहेक भर पर्ने विश्वासिलो आधार बनिसकेको छैन।
छाला वा कपडाले बनेको सामान्यतः नगद राख्ने वस्तु पर्स हो। यसको शक्तिका बारेमा मानिसहरुले पहिले गम्भीर रुपमा हेरेका थिएनन्। पर्स यति शक्तिशाली हुँदोरहेछ भन्ने कुरा लकडाउनले मानिसहरुलाई सिकाएको छ।
यतिसम्म कि यसको वजनले धेरैलाई आफूतर्फ तान्ने सामर्थ्य राख्दो रहेछ। चुम्बकभन्दा शक्तिशाली हुँदोरहेछ पर्स। बाहिरबाटै हेर्दा पकेटमा पुट्ट फुलेको पर्सले कस्लाई खुसी बनाएन होला र? पहिला स्वयम। त्यसपछि लोग्ने-स्वास्नी खुसी। छोराछोरी, परिवार प्रफुल्ल। साथिभाइ, इष्टमित्रहरु प्रसन्न।
पर्समा यति शक्ति हुँदो रहेछ कि नचाहेर पनि यसले सबैलाई भेटघाट गराइरहने। नचिनेकाहरुसँग पनि परिचित गराउने। विभिन्न जमघट, घुमघामको वातवरण बनिरहने।
खप्तड, पाथिभारा, घलेगाउँ, फिक्कल, सिरुबारी, लुम्बिनी, रारा, कर्णाली, सदर चिडियाखाना, नारायणहिटी दरबार संग्राहलय, फेवाताल जस्ता कैँयन ठाउँहरुको भ्रमणको चाजोपाँजो मिलिरहने। पर्स गह्रौँ छ भने यो सब सम्भव छ। नत्र आकाशको फल आँखा तरी मरको अवस्था हुन्छ।
पर्सकै शक्तिका कारण नजिक-टाढाका आफन्तहरुको फोन, म्यासेज पनि आइरहने। बर्थडे, एनिभर्सरी, भातख्वाई, बिहे, व्रतबन्ध, पूजाआजा र अझ भन्नुपर्दा हराइसकेका परम्पराका नाममा ककटेल, मकटेल जस्ता विभिन्न नामधारी पार्टीहरु भइरहने। फलस्वरुप पारिवारिक, सामाजिक सम्बन्धको दूरी निकट बन्ने।
त्यसैगरी पर्सको शक्तिले मानिसको मनोविज्ञानमा पनि सकारात्मक असर पार्दो रहेछ। गह्रौँ पर्सकै कारण सबैबाट अधिक माया मिल्दो रहेछ। र समाजले सम्मान दिँदो रहेछ। आफ्नो परिचयलाई व्यापकता दिने पनि यही पर्स रहेछ।
कति ख्याति कमाउने भन्ने सन्दर्भ पर्समा नै भर पर्ने रहेछ। पर्स गह्रौ भए समाजको जयजयकार, नभए तिरस्कार। पर्सको शक्ति कल्पना गरेभन्दा अधिक हुँदो रहेछ। यतिसम्म कि अपराधी नै भएपनि सामाजिक काममा टन्न पैसो दान गरेपछि समाजले सारा पाप पखालिदिने।
शुद्ध बनाइदिने। अझ उही दानवीर, धर्मवीर बन्ने। अझ भनौँ पर्स नै त्यस्तो चिज रहेछ जसले क्षणिक भएपनि सत्यलाई असत्य र असत्यलाई सत्यमा परिणत गराउने।
त्यसैले त नेपाली कहावत 'छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी'को अर्थ लकडाउने सत्य सावित गर्दैछ। खाली पर्सकै कारण कतिपय हिजो भएका खुसीहरु क्रमशः लुटिँदै गएका छन्। हासोहरु खोसिएका छन्।
मिलनहरु विछोडमा परिणत भएका छन्। सम्बन्धहरु नकारात्मक दिशातर्फ मोडिएका छन्। परिचितहरु अपरिचित बन्दै गएका छन्। निकटहरु टाढिएका छन्। झिलिमिली अवस्था अध्यारोमा परिणत हुँदैछ। मह नै चुक जस्तो बन्न थालेको छ।
अनायस जीवन नै दुःखान्त तर्फ धकेलिँदै छ। सम्बन्धको दायरा क्रमशः खुम्चँदै गएको आभाष हुँदैछ। उर्जाको ठाउँमा निष्कृयता बढेको छ। त्यसैले त पहिले सबैभन्दा महत्वपूर्ण वस्तुका रुपमा रहेको पर्स अहिले अभागी, कर्मखोटी बन्न विवश छ। यावत कारणहरुले गर्दा पर्सको नाम नै लिन नपरे हुन्थ्यो भन्ने अवस्थामा पर्सधनी पुगेको छ।
पर्सधनीको नियती हेर्दा लाग्छ कसैको पनि सधैँ एउटै समय नरहँदो रहेछ। सबैका राम्रा, नराम्रा दिन आउँदा रहेछन्। कोरोना महामारीका कारण व्यवसाय गर्नेले त्यो बन्द गरेर बस्नु परेको छ। ज्याला मजदुरी गर्नेहरु आफनो ज्याला गुमाउनु परेको छ।
कतिपय रोजगारी गर्नेहरु समेत आफ्नो रोजगार गुमाउनु परेको छ। प्रकृति फरक भए पनि सबै तहका मानिसहरुका व्यथा एउटै छन्। कोभिड-१९ ले लगभग सबै आर्थिक अवस्थाका मानिसहरुमा केही न केही नकारात्मक प्रभाव छाडेकै छ। कसैकोमा कम त कसैको बढी।
यसकारण कैयन् दिन वा महिना बित्दै जाँदा पनि खाली पर्सको नियती बदलिन सकेको छैन। पर्सको पर्खाइ केवल पर्खाइमा मात्रै सीमित रहेको छ। हालसम्म पर्सको भाग्य फिरेको छैन।
अझै कहिलेसम्म रित्तो पर्स बोकेर हिँडनु पर्ने हो निश्चित छैन। कतिपय कम्पनीहरु बन्दाबन्दीले आफै तहस नहस भएका छन्। कतिपयले क्षमता हुँदाहुँदै पनि आफ्ना कर्मचारीहरुलाई पारिश्रमिक दिएका छैनन्।
यहाँ अधिक मर्कामा त साना पर्सधारीहरु परेका छन्। पर्स नै सन्दुक हुनेहरुको उठीबास भएको छ। पर्स नै सम्पत्तिको श्रोत हुनेहरु जीवन मरणको दोसाधमा परेका छन्। आफूले पाउने मासिक पारिश्रमिक बैंक खातामा नपुग्दै हिसाब सकिइसक्नेहरुको बेहाल भएको छ।
अब यो खाली पर्सको मर्का सम्बोधन गर्ने कस्ले? पर्सहरुलाई ढाडस दिन सरकार अग्रसर हुनुपर्दछ। ज्याला, रोजगारी गुमेका वा पारिश्रमिक नपाएकाहरुलाई सम्बोधन गर्ने आर्थिक प्याकेज सरकारले अविलम्ब सार्वजनिक गर्नुपर्छ।
त्यसो नगरिए कतिपय निजी संस्था, कम्पनीहरुमा कार्यरत कर्मचारीहरु अझै धेरै समयसम्म अन्योलमा बस्नु पर्नेछ। रित्तो पर्सको पीडा अनवरत रुपमा सहिरहनुपर्ने हुन्छ। पैसाको अभावले मानसिक तनाव थपिँदै जाने छ।
क्रमशः घरायसी हिंसाले प्रश्रय पाउने छ। चोरी डकैती, बढ्ने छ। डिप्रेसन हुँदै यसको घातक असर स्वरुप आत्महत्या, हत्या जस्ता अपराध पनि हुन सक्ने प्रबल सम्भावना रहन्छ।
रित्तिएका पर्सहरुको नियति पूर्णरुपमा बदल्न पहिला सरकारले स्थायी समाधान स्वरुप कोरोना विरुद्धको खोपको प्रबन्ध गर्नुपर्दछ। जबसम्म सबैले खोप लगाउन पाउँदैनन् तबसम्म एउटा भेरिएन्ट हराए पनि अर्कोको त्रासले मानिसहरुको दैनिकी सहज बन्न सक्दैन।
दैनिकी सहज नबनेसम्म एकादुई व्यवसायहरु संचालनमा आएपनि सम्पूर्ण व्यवसायहरु संचालनमा नआएसम्म त्यसको नकारात्मक असर समग्र अर्थ व्यवस्थामा परिरहन्छ। फलस्वरुप अधिकतम जनताहरु अभागी पर्स बोकेर भौतारिन बाध्य हुनुपर्दछ।
विचरा पर्स। अमुक वस्तु। स्तम्भमा केवल रुपक। पर्सको पीडा सुन्न लायक नै छ। वास्तवमा पैसा केही हैन। साथसाथै पैसा सबथोक हो पनि। पैसाले नै जीवन जीउन सम्भव छ। पैसाको अभावमा यो भौतिक संसारमा मानिस बाच्न सम्भव छैन।
एक स्टेप हिँड्न असम्भव छ। पैसाबिना जीवन धान्न, शिक्षा आर्जन गर्न, स्वस्थ रहन सम्भव छैन। निशुल्क भन्ने त अक्सिजन मात्र छ यो मेटिरियलिस्ट संसारमा।
अमेरिकन सफल व्यावसायी हावर्ड ह्युज्स भन्छन् पैसाले खुसी किन्न सकिँदैन। त्यसैगरी मन खुसी नभए पैसा भएपनि रमाउन सकिँदैन भनिन्छ। यी विचारहरुका आधारमा पैसा सबैथोक हैन भन्ने वास्तविकता स्वीकार्दा स्वीकार्दै पनि जीवन दर्शनले नचल्ने रहेछ।
सास रहे आश रहन्छ। आफ्ना न्यूनतम आवश्यकताहरु पूरा नभए मानिस चाहेर पनि खुसी रहन सक्दैन। पैसाको अभावमा त्यो सम्भव छैन।
पैसा नै खुसीको जननी हैन। खुसी किन्न सकिन्न। तथापि पैसा जीवनको लागि आवश्यक कुरा हो। खुसी हुन पहिला न्यूनतम जीवकोपार्जनको आधार तयार हुनु पर्छ।
जीवन रहनु पर्छ। त्यो आधार तय गर्ने एक महत्वपूर्ण अवयव पैसा हो। तसर्थ पर्सको मर्म शासकहरुले बेलैमा मनन गरून्। जय होस्।