थाप्लोमा नाम्लो र डोकाेको अजम्बरी प्रित बोकेर
मुसुक्क हाँस्दैहाँस्दै
बाध्यताको उकालो चढिरहेको
तिम्रो फोटो
एकाबिहानै अखबारमा छापिएको देख्छु !
त्यसपछि पाे बल्ल बुझेँ
भोकको खकन टेक्तैटेक्तै
अर्काको भारी बाेकेर
आफ्ना ओठका बगैँचामा मुस्कान फुलाइरहन सक्नु
कति ठूलो कुरो हो रहेछ!
शीतैशीतको भारले नुहिएर
अरूलाई उमङ्गित पारिरहने पात जस्तै त रहेछौ तिमी !
जीवनभर अभावै अभावको ढाकरले नुहिएर पनि
अरूका अघि मुस्कुराइरहन्छौ
र आभास हुनै दिँदैनौ
दर्द र पीडा ।
सत्ते हाेला मेराे प्रिय मान्छे
अहिले म तिम्राे त्यही फाेटाे हेर्दै
मनभित्रका निराशाका बादल च्यातेर
तिम्रै परिश्रमी मुस्कानका चमकभित्र आफैँलाई समाहित गरिरहेछु !