तिमीले देखेजस्तै मेरो जीवन भैदिएः म, म होइन तिमी नै हुन्थेँ!
भोक लाग्दा रूने मन छैन मसँग। नयाँ लुगा लगाउन पाउँदा गाउँभरि डुलेर साथी/संगी जम्मा गरी सबैलाई देखाउने रहर पनि छैन। कुनैे चाडपर्व आउनै हुँदैनथ्यो। आयो कि, हामीबीच होडबाजी नै चल्थ्यो कसले कति कमाउने भनेर। अझैं दसैँमा त आफ्नो मात्र होइन वल्लो पल्लो गाउँ अनि आफन्तका सबै घरहरुमा पुगिन्थ्यो। टीका लगाउँदै गर्दा नजर भने दक्षिणामा नै पुग्थ्यो। टीका थाप्नेभन्दा दक्षिणा पाउने उद्देश्यले कति घरहरुमा डब्ल्याएर पनि पुगियो।
चन्द्र, प्रविण, सन्दिप, अन्जना, प्रमिला, अग्रज र मेरो एउटा छुट्टै समूह थियो। उमेर अनि भावनात्मक रूपले पनि अग्रज र म अलि नजिक थियौँ र एउटै कक्षामा पनि पढ्थ्यौँ। म अलि फरक स्वभावकी थिएँ। अरूलाई जित्नैपथ्र्यो। हरेक पटकको दक्षिणा पनि मेरो नै धेरै हुनुपथ्र्यो। कतिपटक अरुको दक्षिणा धेरै हुने बेलामा अग्रजले आफ्नो दक्षिणा मेरोमा सुटुक्क मिसाइदिन्थ्यो र मेरो जितमा ऊ पनि खुसी हुन्थ्यो। समय परिवर्तनशील हुँदोरहेछ। अहिले त्यो उमेर, त्यो दिन, त्यो समय छैन मसँग। धेरै बोल्ने म अहिले थोरै बोल्ने भएकी छु, जित्नैपर्ने मेरो स्वभाव अहिले हारमा पनि मौन रहने गरेको छ। गाउँ डुल्न पाउँदा रमाउने मन अहिले आफ्नै कोठा र छतहरूमा सीमित छ। आफैँमा कति अत्यासलाग्दो छ, उफ्! यो जिन्दगी...।
भारी जति गह्रौँ हुन्छ त्यति नै हिँड्नलाई गाह्रो हुँदोरहेछ। त्यसैले कहिलेकाहीँ यो गह्रौँ मनले आशा गर्छ त्यो बालापन पाउन पाए, आहा ! कति भाग्यमानी हुन्थ्यौँ होला। म त्यो बालापन सम्झेर रोमाञ्चित हुन्छु। मन फुरूङ्ग भई भुवाझैँ उडेर क्षितिजमा हराउन पुग्छ। त्यही क्षितीजबाट पातलो घुम्रे कपाल फुरुफुरु पार्दै मेरो स्मरणमा अग्रज आइपुग्छ। ऊसँगै म पनि थिएँ। हामी सँगै स्कुल जाँदै थियौं। घरदेखि स्कुल पुग्न करिब पन्ध्र मिनेटको बाटो हिँड्नुपथ्र्यो। हिँड्दाहिँड्दै मैले बिस्तारै अग्रजको हात समाउन पुग्छु। ऊ बिस्तारै रोकिन्छ र मतर्फ फर्किन्छ।
मैले इसारा गर्दै अगाडि देखाउँछु। हामीभन्दा अगाडि तीन जना स्कुले साथी बारीको डिलमा उभिएर कुनातर्फ हेर्दै थिए। अर्को साथी बारीको कान्लाबाट फर्किँदै थियो। उनीहरू हामीभन्दा ठुला कक्षाका साथी थिए। हामी रुखको छेल पर्छौँ, उनीहरूले हामीलाई देख्न पाएनन्। हामीलाई बुझ्न गाह्रो भएन, उनीहरूले दिउँसोलाई खाजा लुकाएका हुन् भनेर।
त्यो बारीमा कोदो पाक्ने समय थियो। उनीहरु गएलगत्तै हामी बिस्तारै त्यही बारीको कुनामा पुग्यौँ। दायाँबायाँ केही समयको खोजाइपछि पोको पारेर लुकाएको प्लास्टिकको झोला भेट्छौँ। झोलाभित्र सेलरोटी थिए। अहा ! सेलरोटी खाऊँखाऊँ म हतारिँदै बोल्छु तर अग्रज भने त्यसो नगरौँ भन्दै थियो।
‘झल्लू’ म ऊतर्फ हेर्दै रिसाएर बोल्छु। मेरो अगाडि ऊ सधैँ हाथ्र्यो। यसपटक फेरि पनि मैले जितेँ। त्यहीं बसेर सकेजति सेलरोटी खायौँ, बाँकी रहेको त्यहीं छिरोलेर छोडिदियौं र स्कुलतर्फ लाग्यौँ। त्यो दिनको पहिलो क्लास छुट्न पुग्यो। गुरुले ‘कुखुरी काँ’ गर्न लगाउनु भयो। त्यो दिनभर गुरुको सजायले गर्दा नरमाइलो लाग्यो। स्कुल छुट्टीपछि सबैजना घर फर्कंदै थियौँ। अग्रज पनि सँगै थियो। बिहान खाजा लुकाउने चारजना साथीहरू चार समूहमा बाँडिएछन्। पछि थाहा भयो, दिनमा खाजा खान भनेर चारजना सँगै आएका रहेछन् तर त्यहाँ पुगेपछि खाजा हराउनुमा एउटाले अर्कोलाई दोष दिँदै चारजना चारतिर भएछन्। त्यो कुरा थाहा पाएपछि बिहान गुरुले दिएको ‘कुखुरी काँ’ को सजाय क्षणभरमै भुलेर अग्रज र म खुसीले बुरुक्क उफ्रिँदै घरतिर भाग्यौँ।
तोरी फुलेर धेरैपटक फाँट पहेँलै भए। धेरै पटक खहरे भेलले बस्तीहरूलाई थर्काए। समयले पनि हामी बीचमा धेरै परिवर्तन गरिदियो। फ्रक र कमिजमा स्कुल दौडिने म कुर्ता सरवालमा सजिन थालें। बिस्तारै स्कुले जीवन पार गर्यौँ। अग्रज सानैदेखि पढ्नमा अब्बल थियो भने म पनि कहिल्यै फेल हुँदिनथेँ। हामीले एकैपटक एसएलसी पार गर्यौँ। म उच्च शिक्षाको लागि सहर पसेँ।
अग्रज गाउँको क्याम्पसमा अध्ययन गर्दै स्कुलमा पढाउन थाल्यो। अग्रजले यति धेरै सफलता पाउनुमा उसकी आमाको मुख्य हात रहेको थियो। कुनै कुराको अभाव महशुस नगरोस् भनेर उसकी आमाले रातदिन दुःख गर्थिन्। सानै छँदा बाबुको देहान्त भयो तर त्यो घटनाको कुनै सम्झना अग्रजलाई छैन रे ! रुँदा होस् या हाँस्दा, मावली घरमा जाँदा होस् या आफन्तकहाँ, अग्रजलाई आमाको साथ र काख थियो। उनले एक्लो छोरालाई कहिल्यै अभाव महशुस गर्न दिइनन्। घरको काम बाहेकको अन्य समयमा उसका दुई आमा छोरा हाम्रो घरमा टुप्लुक्क आइपुग्थे। उसकी आमाले हाम्रो घरको काममा सघाउँथिन्, त्यसले गर्दा पनि ऊ र म सँगै खेल्न र हिँड्न कुनै अप्ठ्यारो थिएन। सँगै खेल्ने भएर होला हाम्रो सामीप्यता बढ्दै गएको थियो।
एक पटकको कुरो हो, हाम्रा घरका सदस्य र अग्रजकी आमा हाम्रो घरको काममा व्यस्त हुनुहुन्थ्यो। हामी दुई खेल्दा खेल्दै मल्याङ्दी खोलामा पुगेछौँ। गर्मीको समय मल्याङ्दीको कुलुकुलु गर्दै बगेको पानी देख्दा मैले मन थाम्नै सकिनँ।
‘अग्रज आऊ’ भन्दै शरीरका सबै लुगा फुकालेर एउटा पेन्टीको भरमा म खोलामा पसिहालेँ। अग्रज पनि के कम, मेरो सिको गर्दै सबै लुगा फुकालेर खोलाछेउको ढुङ्गामाथि राख्दै मसँगै खोलामा पस्यो। सानो लाजको टुक्रो छोप्न उसले पनि भुलेको थिएन। हामी दिनभर पानीमा यसरी खेल्यौ हाम्रो काम खेल्नु मात्र थियो। खेल्न पाउँदा हामीले घर भुलेका थियौं। भोक तिर्खा सबै भुलेका थियौं।
अकस्मात् मैले लगाएको पेन्टी पानीले भिजेर शरीरसँग नमिल्दो भएछ क्यार ! खोसिदियो खोलाले मेरो शरीरबाट। ‘अग्रज............’ म चिच्याउँन पुगेँ।
ऊ मेरो नजिक आयो। खोलाले बगाउँदै गरको पेन्टीतर्फ इसारा गरेँ। ऊ क्षणभरमै दौडियो र पेन्टी समातेर मलाई ल्याएर दियो। मैले लगाएँ, अहँ, त्यहाँ कुनै लाज र सङ्कोच थिएन, थियो त केवल बालापन। ती पल अहिले अग्रजले विर्स्यो कि कुन्नी ! मलाई भने ती क्षण सम्झिँदा अहिले पनि काउकुति लागेर आउँछ। मन फूलको थुँगो झै हलुङ्गो भएर आउँछ। अहिले पनि एक्लै भेट्दा अग्रजले ती क्षणको सम्झना गराए हुन्थ्यो जस्तो लाग्छ। लाजले हो या केले हो कुन्नी शिर झुक्न पुग्छ, उठाएर हेर्दा त ऊ धेरै टाढा पुगिसकेको हुन्छ।
आजभोलि घरभन्दा बाहिर त्यति निस्कन मन लाग्दैन। दिनभर कोठाभित्र नै भुल्न थालेकी छु। घरदेखि तल बाटो अनि बाटाको छेउमा धारो पनि छ। अकस्मात् अग्रजलाई त्यही बाटो हुँदै धारातर्फ जाँदै गरेको झ्यालबाट देख्छु। मेरो शरीरमा एक्कासि तरङ्ग बढेर आउँछ। अघिसम्मकी लुखुरी म एकैछिनमा जाँगरिली बन्न पुग्छु। कतिखेर उठेर सिधै बाटामुनिको धारामा पुगिछु आफैँले पत्तो पाउँदिन। धारा नजिकै पुगेर दायाँबायाँ हेर्दै सुस्तरी बोलाउँछु– ‘अग्रज.......।’
घोप्टो परी धारामा हात धुँदै गरेको अग्रज टाउको उठाएर मतर्फ हेर्दै बोल्छ– ‘के भो इच्छा?’
अग्रजले मेरो नाम लिएर बोलाउँदा उफ्...! भित्र भित्र मेरो मन आनन्दित भएर आउँछ। आँखा चिम्म गर्छु, बिस्तारै आँखा खोलेर हेर्दा उसले मलाई नै हेरिरहेको थियो। अप्ठ्यारो मान्दै दायाँबायाँ हेर्दै बिस्तारै बोल्छु– ‘कहाँ गएर आएको?’
अग्रज मलाई हेर्दै बोल्छ–‘घरमा आमा अलि बिरामी हुनुहुन्छ त्यसैले आज स्कुलबाट बिदा मिलाएर चाँडै आएको।’
उसका कुरा सकिन नपाउँदै हतारिँदै बोल्छु– ‘ए हो र ? के भो आमालाई ? सँगै जाऔँ न त, म पनि आमालाई भेट्छु।’
अग्रज मलाई अघि हिँड्न आग्रह गर्छ। यसरी हिँड्न पाउँदा मलाई खुब आनन्द आउँछ। लाग्छ, यसैगरि अघिपछि भएर सधैँ हिँडिरहुँ।
‘केही त बोलन अग्रज’– हिँड्दै गर्दाको शून्य मौनता भङ्ग गर्दै बोल्छु।
‘अँ हेर न, बिहान आमालाई अलि च्यापेजस्तो लाग्यो त्यसैले डाक्टरकोमा लगि घरमा आउँदा अबेला भयो। नजिकैकी बहिनीलाई आमाको ख्याल गर्नू है भनेर स्कुल दौडिएँ। जागिर नखाए केले हातमुख जोर्ने, जागिर खाँदा यस्तो छ हालत!’ अग्रज म तर्फ फर्कन्छ। म उसलाई हेर्दै सोध्छु– ‘भनेपछि आज तिम्ले खाना पनि खाएका छैनौँ?’
‘म त स्वस्थ नै छु नि, बरू बिमारी आमाले खाना खानुभएको छैन होला!’ अग्रज हिँड्न थाल्छ। ‘उफ्..!’ मेरो मन ममताले भरिएर आउँछ र आँखासम्म पुग्छ। अग्रजले नदेख्ने गरी सलको छेउले आँसु पुच्छु।
घर पुग्दा आमा पिँढीको छेउको भित्तामा अडेस लगाएर बसेकी हुन्छिन्।
‘आमा नमस्ते!’ म आडैमा गएर बस्छु।
अग्रज आमाले औषधी खाए नखाएको बुझ्छ र लुगा फेर्न कोठामा छिर्छ। उमेर धेरै नभए पनि शोक र बिमारले गर्दा अनुहार कलेटिएको थियो। अनुहारमा अस्वाभाविक चाउरीपना थियो। ओठ निला देखिन्थे। एकैछिनमा चियाको कप बोकेर अग्रज हाम्रो अगाडि आइपुग्छ। आमालाई एउटा कपमा दुध दिँदै चियाको कप मतर्फ बढाउँछ। चियाको कप समाउँदा मेरा हातका औँलाले उसलाई छुन पुग्छन्। त्यतिबेला उसलाई के भो कुन्नि ? मेरो मन र मुटु भने ढुक्क फुलेर आउँछ।
‘अग्रज ! तिमीले चिया मात्र होइन यसरी हाँसेर दियौ भने म कपभरिको विष पनि पिउँन तयार छु। तिमीले छोइदिँदा यी औँला पनि पवित्र भए।’ अकस्मात् आमाको आवाजले मेरो कल्पनाका तरङ्ग भङ्ग हुन पुग्छन्। म कप समातेर चिया पिउँन थाल्छु।
आमा भन्दै थिईन्– ‘जा बाबु, खाना पकाएर खा, हे दैव ! यो बिमारी शरीरले कति जनालाई दुःख दियो,’ उनी लामो सुस्केरा काढ्दै आफ्नो दायाँ हात शिरमाथि राख्छिन्। आमाका कुरा सुनेपछि मेरो मन झन् कटक्क भएर आउँछ। दुखेको मनसँगै अग्रजलाई हेर्न पुग्छु। ऊ पनि चिया सुरुप्प पार्दै मतिर हेर्छ। उफ्! अग्रजको हेराइले मेरा आँखा चियाको कपभित्रै अडिन पुग्छन्। एकैछिन समय मौन रहन्छ। मेरो कल्पनाका तरङ्गहरु बेलुन जसरी फुलेर जान्छन् र अन्तमा फुट्न पुग्छन्। मनको बेलुन फुट्दा पनि साँच्चीकै मन फुटेजस्तै हुँदोरहेछ। फुटेको मन बोकेर जुरुक्क उठ्छु। म उठेको देखेर मसँगै अग्रज पनि उठ्छ र बोल्न पुग्छ– ‘के भो इच्छा ?’
म पहिले अग्रजलाई अनि आमालाई पालैपालो हेरिरहन्छु। ‘हैन, नानीलाई के भो भनेको?’ अग्रजकी आमा मलाई हेर्दै आत्तिएको भावमा बोल्छिन्।
‘आज म भात पकाउँछु आमा !’ म अठोटका साथ बोलेकी हुन्छु।
मेरो कुराले अग्रज र आमा झस्किँदै एक अर्काको मुख हेर्न पुग्छन् मानौं आज उनीहरूले कहिले पनि नसोचेको कुरा सुन्दैछन्।
‘होइन के भो नानी तिमीलाई? पर्दैन, अग्रज आफैं पकाइहाल्छ नि?’ आमा अरू के के भन्दै हुन्छिन् म भने पिउँदै गरेको चियाको कप समातेर सरासर किचनतर्फ लाग्छु। मेरो पछिपछि अग्रज आइपुग्छ।
‘इच्छा यो के गर्न लागेकी? म आफैँ पकाउँछु के ! बरू तिमी गएर आमासँग बस न,’ अग्रजले यसो भन्दै किचनमा जान मलाई रोक्दै थियो। बिस्तारै म अग्रजतर्फ फर्किन्छु। उसले किचनमा नजानलाई याचना गरिरहेजस्तो लाग्छ।
‘झल्लू, खुब पकाएर खायौं खाना!’
मेरो मुखबाट यस्तो शब्द फुत्किन्छ। आफैंलाई अप्ठ्यारो र ग्लानि बढेर आउँछ। ‘होइन, अकस्मात् यो शब्द मेरो मुखबाट कसरी निस्कियो हँ?’
एउटा सानो टेबल, टेबलमाथि दुई चुले ग्याँस, ग्याँसको वरिपरि भर्खरै पकाउँदा उम्लिएर पोखिएको चिया, त्यसको दाहिनेपट्टि भाँडा राखिएको सानो र्याक, र्याकभित्र असरल्ल भाँडा। र्याकको मुनिपट्टि मसला पिँध्न राखिएको सिलौटो, त्यसको छेवैमा फिँजाएर राखिएका केही आलु, प्याज। सानो किचन कोठा। लाग्छ, हप्तौँदेखि सफा गरिएको थिएन। चिया पिएर सकिएपछिको खाली कप एक छेउमा राखेर अग्रजतर्फ फर्किएर बोल्छु– ‘अग्रज, धारामा गएर पानी लिएर आऊ।’
अग्रज कपाल कन्याउँदै हातमा बाल्टी समातेर धारातर्फ लाग्छ। म भने कोठाका सामान मिलाई कुचो लिएर बढार्न थाल्छु। ऊ पानी लिएर आइपुग्छ।
‘लु ! आलु, प्याज र तरकारी काट, म भात बसाल्छु।’
उसले तरकारी काट्न सुरु गर्छ। म चामल पखालेर भात बसाल्छु। दुवै मिलेर खाना पकाउँछौँ। मसँग कामको कुनै अनुभव नभए पनि अग्रजसँग बसेर काम गर्न पाउँदा निकै फुर्तिली हुन्छु। अझ भात पस्केर खान दिने बेलामा यो मन त्यसै फुरुङ्ग हुन्छ।
अग्रज भात खाँदैहुन्छ, म उसको नजिक बसेर खाना थपिरहेकी हुन्छु। मनभित्रैबाट एउटा तरङ्ग आएर छुट्टै संसार निर्माण गरिदिन्छ।
***
‘आज घर फर्किन अलि अबेला हुन्छ, त्यसैले मलाई खाना नकुर्नू,’ भात खाँदै अग्रज बोलिरहेको हुन्छ।
‘ल, कहाँ हुन्छ? हुँदैन हुँदैन, हजुर छिट्टै आउनुपर्छ। हजुरबीना म एक्लै कसरी खान सक्छु! अनि हजुर नहुँदा यो बाबु पनि कसरी आत्तिन्छ भन्ने हजुरलाई थाहै छ ?’ नजिकै खेल्दै गरेको छोरातर्फ फर्किएर बोलेकी हुन्छु म।
‘बुझ न मेरो कुरा! आज एक जना स्टाफको जन्म दिन, स्टाफलाई पार्टी दिँदैछ अनि नगएर भयो त?’ बोल्दै गर्दा उसको अनुहार रातो पिरो भएर आउँछ। उसको बदलिएको अनुहार देख्दा मैले बुझिहाल्छु आज पनि उसको गाँसमा खुर्सानी परेछ। गिलाँसको पानी नजिकै सारिदिन्छु। पानी पिएपछि फेरि मलाई हेर्दै बोल्छ–
‘तरकारीमा खुर्सानी नराख्नू भनेर तिमीलाई कत्ति लागेन है?’
ऊतर्फ फर्केर दुवै हातले मेरो कान समाउँदै बोल्छु– ‘सरी’।
टाउको हल्लाएर माफ गरेको इसारा दिन्छ। ‘उफ् ! यो अग्रज अलिकति पनि पिरो खान सक्दैन तर मलाई भने पिरो नभै हुँदैन। हरेक दिन खाना पकाउँदा प्रायः खुर्सानी राख्दिनथें तर कहिलेकाहीँ कसरी पर्छपर्छ। सानो छँदा धेरै पटक बाजी नै पथ्र्यो कसले धेरै पिरो खाने भनेर। धेरै पिरो खान सकेकोमा गर्व गर्थेँ म तर अहिले पिरो नखाने भएकी छु। कहिलेकाहीँ अझै पनि तरकारी पिरो बनाउन हात सल्बलाउछन् र अग्रजको मन दुःखाउन पुग्छु। भात खाँदै गरेको अग्रजको स्वाँस्वाँ र सँसुँले मेरो तरङ्गित मन टुट्छ र अग्रजको किचन कोठामै फर्कन्छु। नभन्दै गाँसमा खुर्सानी परेछ क्यारे अग्रज किक्लिक्क गर्छ। उसको निधारमा चिटचिट पसिना झर्दै थियो। तत्काल गिलाँसमा पानी दिन्छु र आफ्नो हातले दुवै कान समातेर सरीको भावले टाउको हल्लाउँछु। उसले एक गिलाँस पानी एक सासमै रित्याउँछ।
‘के गरेको? कान समात्नै पर्छ र?’ पानी पिइसकेपछि मेरो हातलाई तल झार्दै बोल्छ ‘ल बाबा ल भयो, मलाई पिरो भएकै छैन!’ फेरि गिलाँसको बाँकी पानी पिउँछ। म अझै अटेर गरेर उसलाई हेर्दै कान समातिरहन्छु। म चाहन्छु, उसले मलाई धेरै माया गरेर फकाओस् तर ठीक विपरीत उसले खाना नखाई मलाई हेरिरहन्छ। चार आँखा दुई हुन्छन्।
***
‘अग्रज !’ आमाको चर्को आवाज मेरो कानसम्म ठोकिन आईपुग्छ। म झस्किँदै उठ्छु र आमा भएतर्फ दौडिँदै जान्छु।
‘एक गिलाँस तातोपानी देऊ न नानी, दवाइ खानेबेला भो।’
‘हस् आमा !’ म पुनः कोठामा फर्किन्छु। अग्रज भात खाँदै हुन्छ।
साँझमा बिदा भएर घरतर्फ फर्कन्छु। अग्रज मलाई छोड्न अलि वरसम्म आउँछ।
यस धरतीमा जसले मलाई जन्म दियो उसको कत्ति पनि सम्झना छैन। मलाई जन्म दिएलगत्तै यस संसारबाट टाढा भएकी मेरी आमाको न्यास्रोपन कम गर्न र मेरो हेरचाहका लागि भनेर बाबाले मैयाँलाई यस घरमा ल्याउनुभएको अरे! बाबाको आफ्नै व्यवसायलाई सह्मालेका दुई दाजु पनि सधैँ व्यस्त हुनुहुन्छ। घरमा प्रायः मैया र म मात्रै हुन्छौँ त्यसैले लाग्छ, मैया मेरी साथी हो, आमा हो अनि मेरी अभिभावक पनि। मलाई के मन पर्छ के पर्दैन, कतिखेर भोक लाग्छ, कतिखेर रिस उठ्छदेखि लिएर कतिखेर सुत्ने र उठ्ने सबै कुरा उसलाई थाहा छ।
अहिले त मैया पनि बुढी हुँदै गएकी छ। मेरो लागि उसले विवाह नै नगरी बसेकी छ। आजीवन मेरो हेरचाह गर्ने भनेर घरमा भित्रिएकी मैयाँ अहिले मेरी आमाको स्थानमा छ। सानी छँदा मैयालाई मैले खुब सताएँ रे! उसकै मुखबाट सुनेकी। स्कुलमा सबैले आफ्नी आमाको कुरा गर्दा मैले घरमा आएर मैयासँग आमाका बारेमा सोध्थें रे! त्यतिबेला मैयाँले मलाई दिनमा भए सूर्य र रातमा भए जूनलाई देखाउँदै ‘तिम्रो आमा ऊ त्यहाँ जानु भएको छ, चन्द्र सूर्य लिएर भोलि आउनुहुन्छ’ भन्दै मलाई भुल्याउँथी रे !
उसका कुरामा म पनि सजिलै भुलिन्थेँ। म सानैदेखि झगडालु स्वभावकी थिएँ। भनेको नपुगे तिनै चन्द्र सूर्यतर्फ फर्केर रोइ कराइ गरिहाल्थेँ। कति पटक त म आकाशका जून तारा हेरेरै छतमा निदाउँथें र व्यूँझदा आफूलाई ओछ्यानमा पाउँथेँ। रिस उठेको बेला आमालाई भनिदिन्छु भन्दै तिनै चन्द्र सूर्यपट्टि फर्केर कुरा लगाउँथें उमेर बढ्दै जादा म पनि धेरै बुझ्ने भएँ। मैयाको माया र साथले गर्दा सबै कुरा भुल्दै गएँ। एक दिन कोठामा बसेर टिभी हेर्दै गरेको बेला मैयाँ चिया लिएर कोठाभित्र पसी र छेउको टेबलमा राख्दै भनी– ‘नानी चिया यहाँ राखे है?’
चिया राखेर ढोकाको छेउमा पुगेकी मैयालाई बिस्तारै बोलाउँछु ‘मैया.... ।’
ढोकानेरबाट मैयाले बिस्तारै फर्केर हेर्छे।
‘आऊ न यहाँ, एकैछिन बस न !’
मैया फर्केर आई र नजिकै कुर्ची तानेर बस्दै बोली– ‘केही काम थियो र नानी ?’
‘त्यस्तो त खास्सै केही छैन तर किन किन आज मन साह्रै अतालिएको छ, त्यसैले तिमीलाई बोलाएको ।’
‘त्यसरी अतालिनु हुँदैन नानी!’ म यसरी नै अतालिएको बेला मसँग सधैँ बोल्ने वाक्य बोली मैयाँले।
‘मलाई सधैँ एउटै कुराले पोलिरह्यो र आज पनि त्यही कुराले पोलिरहेछ।’ म उसको अनुहार हेरेर बोल्छु।
‘कुन कुराले पोल्यो नानी ?’ मैयाँले विनम्र भएर मेरो मनको कुरा जान्न खोजी।
‘सबैले मलाई ढाँट्दै आए र म पनि ढाँटिँदै आएँ, आज तिमीले मलाई नढाँट है ?’ म उसको नजिक सर्दै बोल्छु।
‘नानीकै लागि मैले मेरो सम्पूर्ण जीवन समर्पण गरेकी छु। मेरो जिन्दगीभित्रका कुनै पनि कुरा नानीसामू लुकाएँ जस्तो लाग्दैन। बरू आफ्नै मनसँग आफैँलाई ढाँटेकी छु तर नानीसँग त्यस्तो केही ढाँटेजस्तो लाग्दैन त!’ मैयाँ निर्धक्क भएर बोल्छे ।
उसको निर्धक्कताले मलाई सन्तुष्टि मिल्छ। मैले सोध्ने प्रश्नको मैयाँले कस्तो उत्तर देली? हुन त यस्तो कुरा मैयाँसँग नगरेकै राम्रो हुने थियो तर किनकिन आज उसलाई सोध्न मन लागेको छ। बिस्तारै ऊतर्फ फर्केर सोध्छु–
‘मैया, साँच्चै भन त अब मेरी आमा कहिले आउनुहुन्छ?’
मेरो कुराले ऊ अवाक् हुन्छे। निकैबेर मेरो अनुहारमा हेरिरहन्छे र मुसुक्क हाँस्दै बोल्छे– ‘नानी, तिम्रो आमा कहाँ जानुभएको छ र? मलाई त लाग्दैन कि आमा कतै जानु भएको छ भनेर। दिनमा सूर्यको प्रकाश बनेर उज्यालो छर्नुहुन्छ, अनि रातमा जूनको प्रकाश बनेर धरतीभरि पोखिनुहुन्छ। अब पनि मैले आमा कहाँ हुनुहुन्छ भनेर बताइरहन पर्छ र?’
यति भनिसकेपछि बसेको ठाउँबाट मैयाँ बाहिर लाग्छे। ओझेल नपरुन्जेल म उसलाई हेरिरहन्छु। वास्तवमा मैले मैयालाई ढोकाबाट फर्काएको आमाको बारेमा सोध्नलाई थिएन आफ्नै अस्थिर मनको बारेमा सोध्नलाई थियो। मनभित्रको छटपटीको बारेमा सोध्नलाई थियो। मनभरि भए पनि मुखमा आएर पोखिन सकेन। पोखिए त उनै वर्षौँ पहिलेका जिज्ञासाहरु, अनि तिनै घाम र जून।
धेरै दिनदेखि कोठाभित्रै हराइरहेँ ।
एकदिन मैया हड्बडाउँदै मेरो नजिक आइपुगी। उसलाई यसरी हतारिएको देख्दा म पनि हतारिँदै सोध्छु– ‘के भो मैयाँ, किन यसरी आत्तिएको ?’
‘अग्रज ! अग्रज ! एकोहोरो अग्रजको नाम लिएपछि म झन् आत्तिन पुग्छु। यतिन्जेलसम्म बसेकी म जुरुक्क उठेर मैयालाई समाउँदै बोल्छु– ‘के भो मैयाँ अग्रजलाई ?’
‘अग्रज......अग्रजकी आमा यो संसारमा रहिनन् रे !’, मैयाँ हड्बडाउँदै बोल्छे।
एकाएक मेरा हातगोडा फतक्क गलेर आउँछन्। मैयाँको छेउमा पुगेकी म फर्केर आई पहिलेकै ठाउँमा बस्छु। आफ्नै छाती छाम्छु। धड्कनको गति बढिरहेको थियो।
‘उफ्..... ! अस्तिसम्म त अवस्था त्यति नाजुक भएजस्तो लाग्दैनथ्यो तर आज अकस्मात् के यस्तो घटना सुन्नुपर्यो?’ एकमनले घटनाको विश्वास पनि गरेन तर अर्को मनले विश्वास गर्न बाध्य बनायो किनकि स्वयम् मैयाँको मुखबाट सुनेकी थिएँ। आजसम्म मैयाँले कुनै झुट बोलेकी छैन, मेरी आमा घाम र जून हुन् भन्नेबाहेक। त्यतिबेलासम्म मैयाँ कोठाबाट बाहिर गइसकेकी थिई। टेबलमा रहेको बोतलबाट गिलाँसमा पानी खन्याएर पिउँछु र कोठाबाट बाहिर निस्कन्छु। मेरो शरीर स्वतः अग्रजको घरतर्फ मोडिन्छ।
सानैमा बाबु गुमाएको अग्रजको जीवनमा फेरि अर्को बज्रपात परेको छ। यो धरतीमा जन्म दिएर जसले थिरिथिरि गर्दै दुई पाइला हिँड्न सिकायो उनै ममतामयी आमालाई आफ्नै आँखाअगाडि गुमाउनु पर्दाको पीडा आज अग्रजले भोगेको छ।
‘उफ.. !’ सम्झिएर आँखा भरिन पुग्छन्। अग्रजको घर पुग्दा घरको आँगनी मानिसहरुले भरिएको थियो। लासलाई घाटतिर लैजाने तैयारी गर्दै रहेछन्। अकस्मात् अग्रजलाई देख्न पुग्छु। कपाल मुण्डन गरेर एक छेउमा टुक्रुक्क बसेको ऊसँगै अकस्मात् आँखा जुँध्न पुग्छन्। उसलाई त्यो अवस्थामा देख्दा मन झन् भक्कानिएर आउँछ। मुटु थरथर काँप्न थाल्छ। उसलाई धेरैबेर हेर्न सक्दिन र ऊबाट नदेखिने गरि छेल पारेर उभिन्छु तर मन भने अग्रजमाथि नै थियो। उसले पनि देखेनछ कि क्या हो ! यताउति नजर दौडाउन थाल्यो। उसले के खोजेको हो कुन्नी तर मेरो मनले सोच्यो उसले मलाई नै खोजिरहेको छ। मन दह्रो बनाइ बिस्तारै उसको नजिक जान्छु र कानैमा मुख लगेर सुस्तरी भन्छु– ‘तिमी एक्लै छैनौं अग्रज त्यसरी उदास नबन, म छु नि तिम्रो साथी।’
केही समयपछि लास बोकेर सबैजना खोलातिर लाग्छौँ। फर्किंदा आधा रात कटिसकेको थियो।
समय कति बलवान् रहेछ! हिजोका बालक आज युवा भएका छौं र भोलिका प्रौढ हामी नै हौँ। आज यस्तो भइएला भन्ने हिजो कल्पनासम्म पनि गरेका थिएनौँ र पनि भएर छाड्यौँ। भोलि कस्तो भइएला ? मात्र प्रौढ भइन्छ भन्ने हाम्रो अनुमान मात्र हो। जिग्दगीको के भर छ ? बीचैमा टुट्न पनि त सक्छ ! तर टुट्नेतर्फ भने हामी कत्ति पनि सोच्न सक्दैनौँ।
हामी जे सोच्छौँ त्यो होइनौँ र जे होइनौँ त्यो मात्र सोच्ने गर्छौं। अग्रजमाथिको पीडाले आजभोलि म दुख्न थालेकी छु। उसको भागमा पर्ने दुःख कष्ट मलाई पनि बाँढिलिन धेरै पटक भगवानसँग प्रार्थना गरेकी छु। धेरै दिनपछि हिजो बाटामा भेट्दा पहिलेभन्दा निकै दुब्लाएको पाएकी थिएँ। मसँग केही भन्न खोज्दैछ भन्ने अनुमान पनि लगाएकी थिएँ। भन्न त वर्षौ पहिलेदेखि म पनि खोज्दैछु तर भन्ने आँट गरेकी छैन। सबै भन्न सकिने तर यो प्रेम प्रकट गर्न कति गार्ह्रो, बुझ्नेले नै नबुझेपछि बुझाउनेलाई झन् हैरानी हुँदोरहेछ। ऊ आफैँ मसँग आएर भनोस् भन्ने मैले चाहेकी छु र त्यो दिन पर्खेर बसेकी छु। यतिबेला उसलाई एउटा साथीको आवश्यकता छ ।
साँच्ची उसको दुःख बुझ्ने साथी म बन्न पाए! त्यो दिन पनि आउला र मेरो जीवनमा? आहा! आयो भने त्यो दिन मेरो जीवनको सबैभन्दा सुखद् रहनेछ। सम्झिँदा पनि मन फुरुङ्ग भएर आउँछ। आँखा चिम्म गरेर उसलाई सम्झिन्छु, मनभरि उसकै तस्वीर नाँचिरहन्छ।
अग्रजसँग भेट नभएको धेरै दिन भो। भेट हुनु पनि कसरी? म दिनभर कोठाभित्र हुन्छु। ऊ दिनमा स्कुल अनि साँझबिहान घरमा व्यस्त। भेट्नका लागि कि त ऊ मेरो घरमा आउनुपथ्र्याे कि त म उसको घरमा जानु पथ्र्याे। आज त उसलाई नभेटी भएन! मनभरि उसलाई भेट्ने चाहना बोकेर घर जाने तयारी गर्न थाल्छु। त्यसैबेला मैयाँ हातमा चियाको कप लिएर आइपुग्छे र टेबलमाथि राखेर फर्कन खोज्छे।
‘मैयाँ !’, म मैयाँलाई नहेरी बोल्छु ।
‘हजुर...... !’ –ढोकानेर पुगेकी मैयाँ रोकिँदै मतर्फ फर्केर बोल्छे।
‘आज मलाई फर्किन अलि ढिला हुन्छ होला है’–म आफ्नै सुरमा बोलेकी हुन्छु।
‘किन र नानी ? कहाँ जान लाग्नु भएको ?’ –मैयाँले एकैपटक म जाने स्थान र फर्किन ढिलो हुने कारण सोध्न भ्याउँछे।
‘आज अग्रजको घरमा जानुछ’ –मैयाँलाई नढाँटी बताउँछु।
‘अग्रजकोमा...?’ मैयाँ आश्चार्यमा पर्छे।
‘अँ अग्रजकोमा.., तिमी छक्क पर्यौ त ? के म अग्रजकोमा जान हुँदैन र ?’ –म मैयाँतर्फ फर्केर बोल्छु।
‘हुन्छ नि, किन नहुनु ? मैले जानुहुँदैन कहाँ भनेकी छु र ? अस्ति मात्र बाबा र अग्रजले कुरा गरेको देखेकी थिएँ त्यसैले सोधेकी।’
‘बाबा र अग्रजले कुरा गरेका रे! कहाँ नि?’ मैयाँका कुरा सकिन नपाउँदै म बोल्न पुग्छु।
‘यहीँ बैठक रूममा नि ! त्यतिबेला तपाईं आफ्नै रूममा हुनुहुन्थ्यो।’
मैयाँको कुराले मेरो मन झसङ्ग हुन्छ। अनि अग्रज आएको कुरा मलाई किन नभनेकी भनेर मैयाँलाई बेसरी गाली गर्न मन लाग्छ तर उसको अगाडि यति मात्र बोल्छु– ‘ए..ए....।’
मैया त्यहाँबाट निस्कन्छे। म अग्रजलाई मनमनै बेस्सरी गाली गर्छु– ‘मेरो घरमा आएर मलाई नै नभेटी जान्छ!’ फेरि मनलाई नै प्रश्न गर्छु ‘कसरी भेटोस् त बाबाको अगाडि?’ मन त्यसै फुरुङ्ग भएर आउँछ। चिया पनि नपिई हतारहतार मेरा पाइलाहरू अग्रजको घरतर्फ मोडिन्छन्। घरमा पुग्दा सबै सुनसान थियो। दायाँबायाँ हेर्छु अनि देख्छु, अग्रजको कोठाको ढोका खुलै छ। ढोकामा उभिएर भित्र हेर्छु, अग्रज हातमा पुस्तक लिएर पढ्दै थियो।
‘अग्रज.... !’ म बिस्तारै बोल्छु।
ढोकामा मलाई देख्दा ऊ झस्किन पुग्छ र अकस्मात् हातको किताब भुईंमा खस्छ।
‘किन, के भो ? किन डराएको ?’ म हाँसेर प्रश्न गर्छु।
ऊ खिस्स हाँसेर मलाई हेर्दै खसेको किताब टिप्न लाग्छ। मलाई भित्र नबोलाउने? म हाँसेरै सोध्छु।
‘अरे, भित्र आउन..’ अग्रज उठेर आफू बसेको खाली कुर्ची देखाउँदै बोल्छ। म सरासर भित्र पस्छु र उक्त कुर्चीमा गएर बस्छु। ऊ नजिकैको खाटमा बस्छ। हातमा समाएको किताव र्याकमा राख्दै फेरि बोल्छ– ‘केही काम थियो कि?’
‘म यहाँ आउनलाई काम नै चाहिन्छ र?’ उसलाई अप्ठ्यारो पार्ने गरी बोल्छु। साँच्चै ऊ अप्ठ्यारोमा पर्छ र हाँस्दै कपाल कन्याउन लाग्छ। बोल्ने अक्कर पाउँदैन। पुनः म बोल्छु– ‘के गर्दै छौ भनेर तिमीलाई भेट्न आएकी नि।’ एकछिन् सन्नाटा छाउँछ।
‘तिमी बस्दै गर ल ?’ भनेर अग्रज बाहिर निस्कन्छ। ऊ गएपछि कोठाको चारैतिर नजर डुलाउँछु। कोठा सामान्य तर पुरै अस्तव्यस्त। खाटभरि असरल्ल किताब अनि कपडा छरिएका थिए। एकएक गर्दै किताब मिलाएर र्याकमा राखिदिन्छु अनि कपडा पनि। अग्रज चिया लिएर कोठाभित्र पस्छ र मतर्फ बढाउँछ। म नबोली चिया समाउँछु।
‘तिमीलाई खोई त? म त एक्लै खान्न के?’ मनमनै म उसलाई घुर्की देखाउँछु। ‘प्लिज खाऊ न !’ ऊ पनि मनमनै फकाइरहेको हुन्छ ।
म मरी गए फकिन्न। अन्तमा एउटै कपमा पालैपालो गरी चिया पिउने सहमति गर्छौं। ‘उफ्, कतिसम्म कल्पेकी मैले!’ आफैँलाई सरम लागेर आउँछ। केही नबोली चिया पिइरहन्छु। ऊ मलाई हेरिरहन्छ।
‘तिमी किन नपिएको?’ यस पटक म उसलाई प्रश्न गर्दिनँ। साँझ फर्किने बेलामा अलि वरसम्म मलाई छोड्न आउँछ। म अघि र ऊ पछि भएर हिँड्छौ। हिँड्दै गर्दा म बोल्छु– ‘अस्ति मेरो घरमा गएर पनि मलाई भेटेनौ है?’
‘अँ, बाबासँग भेट भएको थियो!’ हिँड्दै गर्दा ऊ बोल्छ।
‘ए ! बाबा भएर नभेटेका ?
‘अँ....’ उसको यो छोटो उत्तर।
‘अग्रज.....,’ हिँड्दै गरेकी म रोकिएर ऊतर्फ फर्केर बोल्छु। ऊ मलाई हेरिरहन्छ।
‘मैले एउटा सपना देखेकी थिएँ।’
‘कस्तो सपना ?’ऊ हतारिँदै बोल्छ।
‘अर्को दिन भन्छु ल’ भन्दै फेरि हिँड्न सुरु गर्छु। अहिल्यै भनन भनेर उसले ढिपी गर्दैन। केही समयपछि हामी छुट्टिन्छौँ। पर पुगेर फर्केर हेर्दा अग्रज त्यहीँ उभिएर मलाई नै हेरिरहेको थियो।
रातभर निद्रा लाग्दैन अनेकथरिका तरङ्ग मनभरि सलबलाउँछन्। उसलाई भन्न मन लागेको थियो– ‘अग्रज, मैले तिमीसँग सँगै जीवन जिउने सपना देखेकी छु!’ मनभरि आएर पनि मुखसम्म आउने बेलामा सबै हराएको थियो।
‘मैले एउटा सपना देखेकी थिएँ’ मात्र भन्न सकेँ। बाँकी कुरा भन्न नसकेकामा थकथक लागेर आउँछ। अर्को दिन भेट हुँदा सबै कुरा दृढ भएर भन्ने कल्पना गर्दै कोल्टो फर्किन्छु। आँखा झिमिक्क नगर्दै भालेहरु दोहोरी खेल्छन्।
***
आज बिहानैदेखि सिमसिम पानी परिरहेको छ। पानी परेकै कारण जाडो बढेर आएको छ। झ्याल खोलेर बाहिर हेर्छु, चिसो बतास भित्र पस्छ। तत्काल झ्याल बन्द गर्छु। बेडमा आएर पल्टिन्छु। कसैले ढोका ढकढकाउँछ। खोल्छु, मैयाँ बाहिर उभिएकी हुन्छे।
‘के भो मैया ?’ उसलाई प्रश्न गर्छु।
‘अग्रज....,’ मैया सुस्तरी बोल्छे।
‘के भो अग्रजलाई ?’ म हतारिँदै बोल्छु।
‘केही पनि भएको छैन, अग्रज तल बैठक रूममा।’ मैयाँ मेरो आँखामा आँखा जुँधाएर बोल्छे।
‘माथि नै पठाइदेऊ’ मैयाँ जान्छे।
मेरो मुटु ढक्क फुल्छ। ‘मैयाँले ‘अग्रज’ भन्दा किन आत्तिएकी हँ म यसरी ?’ आफैँलाई मनमनै प्रश्न गर्छु। फर्केर बेडमा आएर बस्छु। ढोकामा अग्रज देखा पर्छ।
‘आऊ न भित्रै’ बेडबाटै नजिकको कुर्ची देखाउँदै बोल्छु।
अग्रज कुर्ची तानेर बस्दै बोल्छ ‘कतै डिस्टर्व त भएन ?’
‘नाइँ नाइँ के को डिस्टर्व नि ?’ मैले तिमीलाई नै सम्झिएर बसेकी थिएँ? म उसको नजिक सर्दै बोल्छु।
‘मलाई सम्झिएकी ? किन ?’ ऊ जिज्ञासु भएर मलाई हेर्छ।
‘तिमीलाई सम्झिनै नहुने हो र? भन, आज कति कामले यहाँसम्म दुःख पायौ? मलाई भेट्न त पक्कै पनि होइन होला? घरमा बाबा पनि हुनुहुन्न?’ म आज अग्रजलाई त्यसै छाड्ने मनस्थितिमा हुँदिनँ त्यसैले पनि अलि बढी नै रसिली बन्छु। ऊ केही लजाएजस्तो गरी बोल्छ।
‘हुन त यो घर मेरा लागि कहिल्यै पनि पराई भएन, यस घरका सदस्य आफ्नै लागे। मेरो भोको पेट धेरै पटक यस घरले भरेको छ । त्यसैले यो घरप्रति सधैँ ऋणी छु।’
‘अरे बा ! के सोचेथेँ तर अहिले के हुँदैछ ? चाहन्थेँ, मजसरी ऊ पनि मसँग जिस्कियोस् तर परिणाम उल्टो ?’ म मनमनै बरबराउँछु।
बाहिर पानी झन् बर्सिदै थियो। मनभित्र कताकता काउकुती बढिरहेको थियो। अग्रज भने रुन्चे अनुहार बनाएर फेरि बोल्छ– ‘तिमी त मेरो बाल्यकालदेखिकी साथी हौ। तिमीले जत्तिको सायद अरु कोहीले पनि मलाई बुझ्न सक्दैन। हुन त विगत सबै इतिहास भएको छ। तिमीले सबै कुरा भुलिसकेकी छौ होला तर मसँग सबै इतिहास सुरक्षित छ। म चाहेर पनि भुल्न सक्दिनँ। तिमीले भुलेकी छौ भने म फेरि सम्झाउँन पनि चाहन्न। आज म तिमीलाई भेट्न भनेर घरबाटै आएको हुँ। तिमीलाई भेट्न पाऊँ भनेर बाटाभरि कामना पनि गरेको थिएँ । मेरो कामना पुरा पनि भयो जुन तिमीलाई भेट्न पाएँ।’
अग्रज यसरी बोल्दै गर्दा उसको बोली लड्बडिएको थियो भने मेरो मन गरुङ्गो हुँदै गएको थियो।
‘साँच्चै आज उसलाई के भएको छ हँ?’ आफ्नै मनलाई प्रश्न गर्छु। आँखा रसिला भएर आउँछन्। अलि नजिक सर्छु र बिस्तारै उसका हातका औला खेलाउन थाल्छु। उसले कुनै प्रतिक्रिया जनाउँदैन मात्र मेरो अनुहार हेरिरहन्छ। केही समयको मौनतापछि मेरो अनुहार हेरेर ऊ बोल्छ– ‘इच्छा ...?’
‘हुँ...?’ म उसका हातका औला अझै जोड्ले दबाउँदै ऊतर्फ हेरेर बोल्छु।
‘म तिमीसँग विदा हुन आएको।’
‘कस्तो बिदा ?’ म उसलाई हेरेर अवाक् हुन्छु।
‘अन्तिम बिदाई ! म भोलि विदेश जाँदैछु। विहान ११ बजेको फ्लाइट छ। अन्तिम समयमा आएर मात्र तिमीलाई भनेँ, मलाई माफ गर! एक मनले नभनौं भन्ने लागेको थियो तर अर्को मनले मान्दै मानेन। तिमीलाई पनि नभन्ने हो भने नजिकको साथी हुनुको औचित्य नै के रह्यो र? त्यसैले ढिलै भए पनि तिमीलाई जानकारी गराएको छु। मलाई बिदा देऊ।’
यति भनिसकेर मैले अँठ्याइरहेका हातका औला आफूतिर तान्दै दुई हात जोडेर पुनः बोल्छ– ‘कहीँ कतै तिम्रो मन दुखाएको भए मलाई माफ गर! म फर्केर आउनेछु।’
यति भन्दै कुर्चीबाट जुरुक्क उठ्छ र सरासर बाहिर लाग्छ। म ऊ गएको बाटो हेरेर निकै बेर टोलाइरहन्छु। ऊ जाने बेलामा ‘नजाऊ’ सम्म पनि भन्न सक्दिनँ। एक मनले त बाटो छेकेर ‘नजाऊ’ भन्दै उसको गोडा समाती ह्वाँह्वाँ गरी रुँदै भन्न मन लागेको थियो– ‘मलाई छोडेर नजाऊ अग्रज, मेरो मनले त तिमीलाई साथी मात्रै होइन जीवन साथीको रुपमा स्वीकार गरेको छ। दुःख सुख जे छ दुवैले बाँडौँला।
हुनत मेरो मनले तिमीलाई चाहे पनि तिमीसँग मेरो विवाह सम्भव छैन। सामाजिक परम्परा, मूल्यमान्यता र संस्कार पनि छन्। त्यो भन्दा ठूलो बाधक मेरो आफ्नै परिवार छ तर मैले तिमीसँग प्रतिलोम विवाह गरेर सग्लो समाजलाई चुनौति दिनु थियो। तिम्रा कुराले आज मेरा सबै योजना सपना बन्न पुगेका छन्। खरानी बनेर हावामा उडेका छन्।’
यसरी मनले आफैलाई भने पनि उसका अगाडि अवाक् हुन्छु। गोडा समातेर रुँदै भनेको भए अग्रज जानबाट रोकिन्थ्यो कि रोकिँदैनथ्यो होला? तर भोलि विहान ११ बजे उसको टिकट भने पक्का थियो। निकै बेरसम्म त्यहीँ बसेर टोलाइरहन्छु। सानै छँदा आमालाई गुमाएकी म माया के हो? अनुभूतिसम्म गर्न पाइनँ। जब मेरो जीवनमा अग्रज आयो, उसको नाम सम्झिँदा पनि आनन्दित हुन्थेँ म। उसलाई सम्झिएर मायाको गहिराइसम्म पुगेको कल्पना गर्थेँ। छुट्टै सपना बुनेकी थिएँ । छुट्टै संसार बसाएकी थिएँ। आफ्ना सपनाहरूलाई जब बिपनामा परिणत गर्ने दिन आउँदै थियो आज उसैको मुखबाट विछोड र बिदाईका कुरा सुन्दैछु।
त्यसै त एक्ली म ऊ बीनाको यो जिन्दगी झन् एकल र निरसताले भरिएको महशुस गर्दैछु। ऊसँगको विछोडले भित्री मनसम्म गएर यसरी छोयो कि उज्यालो दिन पनि रात भएको छ।
कतिखेर आँखाबाट पीडा झर्न थालेछन् पत्तै भएन। मन न हो फेरि सम्झिन पुग्छु ‘मैले जसरी उसले पनि पक्कै माया गर्छ होला! मलाई आफ्नो ठान्छ होला! होइन भने किन यसरी मलाई भेट्न आउँथ्यो होला र? मलाई नभेटी जान पनि सक्थ्यो नि? मलाई नभेटी गएको भए पनि त म के गर्न सक्थेँ र? मनमा माया थियो र पो मलाई भेट्न आयो! अनि उसले जाने बेलामा पनि भनेको छ ‘म फर्केर आउनेछु।’
एक मन दुःखी भएको छ किनकि मबाट ऊ टाढा जाँदैछ तर अर्को मन खुसी भएको छ किनकि ऊ फर्केर आउनेछ। ऊसँगका रमाइला पल सम्झेर टोलाइरहन्छु। बाहिर भने पानी झन् बर्सिदै थियो।
रातभर निन्द्रा लाग्दैन मलाई। मनभरि कुरा खेलिरहन्छन्। बिहानपख कतिखेर निदाइछु पत्तै भएन। मैयाँ आएर उठाउँदा पो झल्याँस्स व्युँझिएँ। उठेर घडी हेरें, अहो ! ९ः३० भैसकेछ। झटपट उठेर मुख कुल्ला गर्दै बाथरुम गएँ। फर्केर आएपछि मैयाँले ल्याएर राखिदिएको चिया पिउने कप मात्र के उचालेकी थिएँ मेरो नजर नजिकैको एउटा नेपाली कागजमाथि पर्यो। चियासँगै उक्त कागज मैयाँले राखिदिएको हुनुपर्छ। यस्तै अनुमान लगाएँ। पट्याएर राखिएको कागज खोल्दै पढ्न सुरु गरें। एक पटक पुरै पढेँ।
पढिसक्दा पत्यारै लागेन र फेरि पढेँ। पत्र पढिसक्दा आफैँलाई रिँगटा लागेर आयो। कतै म सपनामा त छैन? आफ्नै पाखुरा चिमोटेँ। अहँ यो सपना होइन। निधारबाट चिट्चिट् पसिना झर्न थाल्यो। यति ठूलो घटना घट्दा पनि म पुरै बेखबर! तिमीले यो के गर्यौ अग्रज! अस्ति भर्खर अग्रज मेरो घरमा आएर बाबासँग भेट भएको कारण यो पो रहेछ! अग्रजको पुरै घरजग्गा मेरो नाममा तमसुक गरिएको रहेछ। त्यसबापत अग्रजले केही रकम सापटी लगेको रहेछ। सायद विदेश जानलाई केही पैसा अपुग भएका कारण अग्रजले यो कदम उठाएको हुनुपर्छ ।
यत्रो घटना हुँदा पनि तिमीले मसँग किन लुकाएर राख्यौ अग्रज? मलाई एक पटक मात्र भनेको भए पनि तिमीलाई नपुग पैसा म सहयोग गर्न सक्थेँ नि तर तिमीले मसँग सहयोग माग्न आवश्यक ठानेनौं र आफ्नो नामको घरजग्गा मेरो नाममा तमसुक गरी मुग्लान भासियौ। मलाई अनि मेरो मायालाई जीवनभर चिन्ने प्रयास गरेनौ! अग्रज, तिमीले मलाई कहिल्यै चिनेनौ। सयौँ भोल्टेजको करेन्टले आफ्नै शरीरमा झट्का दिएजस्तो लाग्यो मलाई। आफूलाई सम्हाल्न नसकेर ओछ्यानमा पल्टिन पुग्छु। आँखाबाट बलिन्धरा आँसु झरिरहेको थियो।
त्यसैबेला बाहिर केही कराएको आवाज आउँछ। झटपट उठेर झ्याल खोल्छु र आकाशतर्फ हेर्छु। आकाशमा जहाज उडिरहेको थियो। ओझेल नपरुन्जेलसम्म एक तमासले जहाजलाई हेरिरहन्छु। आँखाबाट तप्पतप्प आँसु झर्न थाल्छ। अनायास स्थिर ओठहरू सल्बलाउँछन्।
‘यो के गर्यौ झल्लू तिमीले ...?’