तुफानी तुफानी यो कालो साँझ आज
सिताराका होइन
आँसुका केही हरफ लेख्न बसेकी छु
लेख्छु जस्तै:
आफ्नै यी हात काटेर प्रियलाई कोसेली पठाउँदा
उनको मन नपग्लेपछि
त्यो रात जूनलाई होइन, अन्धकारलाई हेरिरहेँ
बिछोडको बन्चरोले मुटुका घाउ निचोरिएर
आँसुका थोपाथोपामा चुहिरहँदा
आशाका स्तन जानिजानि नचुसेर
निराशाका विष चाटिरहेँ
तुफानी तुफानी यो कालो साँझ आज
सिताराका होइन
आँसुका केहीं हरफ लेख्न बसेकी छु
उदास उदास रातहरुमा आएर प्रिय
चुम्थेँ मलाई
उडिरहेका धुवाँलाई डढेलोको ज्वालाले झैँ
ओठ उनका, राता तीर भएर जलाउँथे
ठुङ्गिरहने एक्लोपनका गरुडहरुलाई
र असिम स्नेहका गुलाबी कमलहरुमा
घन्टौं गुमनाम रहन्थेँ म
तर यो साँझ आज, यो कालो साँझ आज
छैनन् प्रिय यहाँ
हुने छैनन् अब उनी कहिल्यै मेरो
यो सोचले, हाय यो कठोर सोचले
आदम्खोर बाघलेझैँ चिथोरिरहेछ मेरो ढुकढुकीलाई
सहनै गाह्रो, सहनै गाह्रो
यो खालिपन
दूर क्षितिजमा लहराइरहेका अन्जान छाया
यादहरु प्रियका, घोचिरहेका
तीखा सुइँ भएर चारैतिर मुटुमा
स्वप्नहरू मेरा, हाय मेरा स्वप्नहरू
पातझरमा कोइलीको एक वियोगान्त गीत
मैले असीम प्रेम गरेकी थिएँ, पागल म
चाहन्थे सँगै जीउन
शेक्सपियर र उनको सोनेट भएर
यहाँका मुस्कानहरु, यहाँका रोदनहरु
हातमा हात जोडेर प्रियको
तर आज
कति निराशा, कति निराशा
तुफानीतुफानी यो कालो साँझ आज
सिताराका होइन
आँसुका केहीं हरफ लेख्न बसेकी छु
प्रेम नगरेर मुस्कुराउनुभन्दा
यसरी, साँचो हारमै रोएर
मनलाई धुजाधुजा हुन दिएर
अस्तित्वका रहस्यहरु जितिरहेकी छु
यो बेचैनी
उफ्! यो तुफानी साँझ आज
सिताराका होइन
आँसुका केही हरफ लेख्न बसिरहेकी छु।