सिद्धान्त के हो त्यो पनि थाहा छैन
नैतिकताको डर झन लागेकै छैन।
सबैले कमाए, सबैले बनाए
मेरो पालो आएकै छैन।
अब त म पनि राजनीति गर्छु
किनभने काठमाडौँमा एउटा घर नभई त,
मलाई पनि भएकै छैन।
काम पाइन्न यहाँ
माम पाइन्न यहाँ
इमान, लगन र योग्यता
चाहिँदै चाहिँदैन यहाँ।
के हेरेर बसौं?
के गरेर बसौं? भन त,
त्यसैले अब त म पनि राजनीतिमा नआई भा’छैन।
भन्नेको मुख थाक्छ,
सुन्नेको कान पाक्छ,
यहाँ यस्तै छ,
यस्तै हुन्छ,
यस्तै भइरहेको छ,
मौलिक र मालिकको खोजी।
ह्या! छोड्दिनुस सिद्धान्त र आदर्शका कुरा,
तिथि, मिति र इतिहासका कुरा,
इमानदार सधैँ उपेक्षित हुन्छ यहाँ,
षड्यन्त्रै षड्यन्त्रको जञ्जाल छ यहाँ,
हल्लै हल्लाको धराप छ यहाँ।
फलानो काण्डको अभियोगमा
कठघरामा उभिएको फलानो
अहिले फलानो आयोगको साहेब भएछ
अनि राजनीतिभन्दा सुरक्षित र भरपर्दो के रहेछ?
छिमेकी काकाले नेता ज्यूको पार्टीमा आउन नमानेको त
उनको छोरालाई डाँकाको मुद्दा पो लागिसकेछ!
थैली चढाएर, भएभरका नातागोता जुटाएर
ठाउँ-ठाउँमा इमानदारिताको भिख माग्दैछन्,
विचरा दिनभरि सुत्छन् कुर्सीमै
सपना भए रे अधुरो बर्बराउँछन् निद्रामै।
जहाँ कालो कोट र हरिया नोटसँग न्याय बिक्रीमा छ,
सत्ता सेवा र स्वरक्षा गर्ने सुरक्षा बिक्रीमा छ,
विज्ञापन एवं प्रायोजनहरुमा पत्रकार बिक्रीमा छ,
त्यहाँ इमानदारिताको के मूल्य हुन्छ?
जागिरको के अवसर हुन्छ?
जहाँ उद्योग व्यापार बन्द गरिएको अवस्था छ।
आलु, मुला र गोलभेडालाई ग्लोबल टेन्डर गरिन्छ जहाँ,
आम मानिसले काम पाउन्न यहाँ,
माम पाउन्न यहाँ,
इमान, लगन र योग्यता
झनै चाहिँदै चाहिन्न यहाँ।
अनि अब पनि
के हेरेर बसौं म?
के गरेर बसौं? भन त,
त्यसैले अब त राजनीतिमा नआई भा’छैन।