'मेरो दिन दुःखमय होस् या सुखमय, उसको अंगालोमा आफूलाई बिसाउथेँ। उसको अंगालो मेरो आँसुको थोपा र हाँसोको खित्काको समिश्रण थियो। जस्तो दुःख सुखमा पनि उसको अंगालोको न्यानोपनमा आफ्नैपनको अनुभूति हुन्थ्यो।
त्यो अनुभूति निकै नै आनन्ददायी हुन्थ्यो। म ढुक्कले भन्न सक्छु, ऊ मेरो जीवन यात्राको सारथी हो जोसंग मलाई जीवनको युद्ध जित्नु छ।
'युद्ध जित्न पनि युद्ध गर्न आउनुपर्छ रे! तिमी मलाई युद्ध गर्न सिकाउछौ नि?'
मेरो प्रश्नमा ऊ पुनः प्रश्न गर्छ 'कस्तो युद्ध?'
'मलाई पुनः प्रश्न चाहिएको हैन मलाई तिमी उत्तर मात्र देऊ, भन सिकाउछौ कि नाई?
ऊ फिस्स हाँस्छ 'अन्तरमनको युद्धमा म तिमीलाई निपुण बनाउँछु। यसपछिका हरेक युद्धमा तिमी आफै खडा उत्रिनु पर्छ।'
'त्यसो भए सधैँ साथ दिँदैनौ?'
पुनः प्रश्न गर्छ 'भन तिमी मेरो अनुपस्थितिमा के गर्छौ?'
'ढुंगाको भर माटो र माटोको भर ढुंगा भए पनि दुवैको अस्तित्व फरक फरक छ नि! म तिमीलाई सधैँ साथ दिन्छु तर तिमी आफ्नै खुट्टाको बलमा उभिनुपर्छ। मैले त उभिने हिम्मत मात्रै दिने हो।'
उसका कुराहरु निकै व्यवहारिक हुन्छन्। म धेरै गनगन गर्छु, ऊ मलाई शालीन हुन सिकाउँछ, उसले मलाई सधैँ सिकाउथ्यो र सधैँ नै सिकाइरह्यो।'
डायरी पढ्दा पढ्दै भात डडेको गन्ध मेरो नाकमा ठोक्कियो। लौ न! कसौडीमा खाना बसालेको धेरै बेर भएछ। म हतार हतार किचन तर्फ गएँ र खाना पुन: बसालिहालेँ।
अक्षयको अफिस जाने समय भइसकेछ। मेरो पनि त अफिस जाने समय भयो।
'टेबलमा खाना लगाऊ है, मलाई हतार छ आज' अक्षयको आवाज आयो।
'अब ५ मिनेट मात्र है' भनेर कुकरको सिठ्ठी पर्खिरहेँ।
मैले अक्षयको ब्यागमा त्यो डायरी भेटेकी थिएँ। डायरी निकै सुन्दर छ, सानो छ। त्यहाँ पोखिएका भावहरु सुन्दर छन, आफ्नै शब्दजस्ता छन्।
प्रश्न गरेँ 'डायरी कसको हो?'
पहिला पनि त्यो डायरी कतै कतै देखेझैँ लाग्यो। डायरीमा लक हुन्थ्यो, आज लक खोलिएको अवस्थामा भेटेँ। अक्षयलाई केही नभनी सुटुक्क डायरी पढ्दै गर्दा मनमा अनेक कुरा खेल्नु नौलो हैन।
आमा भन्नुहुन्थ्यो, 'पति-पत्नीको सम्बन्ध विश्वासको आधारमा चल्छ।'
अक्षयले मलाई डायरीको प्रसंग बारे कहीले केही भनेको छैन। म मान्छु, हामी बीच पनि गोपनियता हुन्छ। फेरि मलाई खुल्दुल बनाउने कस्तो गोपनियता? कतै हाम्रो सम्बन्ध धारमा त छैन?
मनमा यस्तै कुरा खेल्दै थियो, आँखा अक्षयमा गएर ठोक्कियो। ऊ मुसुक्क हाँस्यो। ऊ हाँस्दा साह्रै राम्रो देखिन्छ। आज त झन् निलो सुटमा ऊ निकै नै राम्रो देखिएको थियो।
डाइनिङ टेबलमा खाना लगाउँदै थिएँ। अक्षयले सोध्यो, 'खै त रेडी भएकी? तिमी अफिस जाँदिनौ?'
मैले आज छुट्टी छ भनेर टारेँ। हामीले सँगै खाना खायौँ। म सरासर कोठामा गएँ, अक्षयले 'सि अफ गर्दिनौ?' भनेर सोध्यो।
ढोकासम्म पुगेर 'बाई' भनेँ। मलाई एकदमै डायरी पढ्न मन लाग्यो, पुनः डायरी समाएँ। मैले डायरीको 'ऊ' पात्रलाई बुझ्न खोज्दै थिएँ। अप्रत्याशित रुपमा कुनै अन्तिम पानामा मेरो आँखा अल्झियो।
'के अक्षयले 'मलाई' मैलेभन्दा बढी चिनेको हो? सायद हो, ऊ कति फुर्सदिलो छ। उसले समयका रथहरुलाई लगाम लगाउँछ। साँच्चीकै समय पनि उसको हिसाबमा चल्छ। ऊ अद्भुत छ उसले जिउँदो मान्छेलाई जिउन सिकाउने गर्छ।
जीवन जिउन पनि भने जस्तो सजिलो तबसम्म हुँदैन जबसम्म जिउने माध्यम हुँदैन। म धेरै आत्तिन्छु। धेरै जसो हराउने गर्छु। धेरैजसो म आफैलाई बिर्सिन्छु तर उसलाई सम्झेको हुन्छु। मैले हेर्ने रात र देख्ने दिनको उज्यालोको किरणसरि ऊ मलाई दिशा निर्देशन गर्छ।
मेरो हार्ने र आत्तिने बानी विरुद्ध ऊ मलाई प्रोत्साहन गर्छ। मलाई आफ्नै डरदेखि डर लाग्छ। ऊ मलाई कयौँ पटक आलोचना गरी गरी निडर बन्न लगाउँछ।
एकदिन मैले प्रश्न गरेँ 'तिमी मेरो लागि यति समर्पित किन?'
प्रश्न खस्न नपाउँदै उसले भन्यो, 'यो त आकाशको विशालतामा सूर्यले आफूलाई समर्पण गरेजस्तै हो, तिमी विशाल छौ, म तिमीमा घनिभूत हुन चाहन्छु।'
ऊ मभित्र किन अनन्त देख्दै छ? किनकि प्रकाशले मात्र आकाशको विशालता देखाउँछ, नभए कसलाई के थाहा आकाश कहाँसम्म छ! मैले उत्तर बुझिनँ।
हात रोकियो, अर्को पाना पल्टाउन मेरो लागि सहज थिएन। मन अतालियो, साँच्चै यो डायरीको ऊ पात्र मेरै अक्षय हो? लेखिएको त्यही छ। हाम्रो मागी विवाह भएको भए मन यत्ति अस्थिर हुन्थेन होला।
अक्षय र मेरो प्रेम विवाह भएको हो। हाम्रो सम्बन्ध सिच्दा सिच्दै मबाट धेरै कमी कमजोरी भएका हुन् तर हरेक मेरो कमजोरीबाट अक्षयले सम्बन्ध अड्याउने बलियो आधार सिर्जना गर्दथ्यो।
हाम्रो विश्वासको जगमा नै वैवाहिक सम्बन्ध सुमधुर थियो। अक्षय 'तिमी मलाई कति माया गर्छौ?'
'धेरै गर्छु।'
'अनि मैले विश्वास तोडेँ भने?'
'म टुक्राटुक्रालाई सम्हालेर जोड्छु।'
'अनि खाटा देखियो भने?'
'जोड्न सक्नु नै ठूलो हो, पूर्णता केहीमा छैन नि।'
हुन पनि हो, अक्षयको माया मप्रति कहीले कम भएन।
मैले अक्षयलाई भनेकी थिएँ, 'तिमी धेरै हराउँछौ, तिमीलाई भेट्टाउन पाएकै छैन।'
उसको उत्तर थियो, 'बाटो नचिन्दा अलमल्ल पर्नु स्वभाविक हो। कही केही हराएको छैन। हिजोभन्दा आज परिमार्जन मात्र भएको हो। तिमीले मलाई भेट्टाउन आजलाई खोज्नुपर्छ। लागि पर्न सक्छौ?'
अक्षयले मलाई सिकाउथ्यो, सम्झाउथ्यो, एक आकृतिमा ढाल्दै थियो, तर…।
फोन आयो। याद छैन योभन्दा अगाडि कहीले फोन आयो! आज ठूलै आवाजमा फोनको घन्टी बज्यो 'एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा साथीको साथले पनि फरक पार्दछ जिउनुमा…'
फोन हेरेँ, दिदीको कल आएको रहेछ। उठाएँ। दिदी बोल्नुभयो, 'के छ नानी सन्चै छौ? म आज तिमीलाई भेट्न आएको, गेट खोल्देऊ न।'
मैले 'हुन्छ' भनेर फोन राखेँ। मैले अक्षयको दिदी भेट्दै छु। दिदी मेरो साथीजस्तै हुनुहुन्थ्यो। केही समय यता दिदी आफ्नो घरको कामले व्यस्त हुनु हुन्थ्यो। दिदीले झ्याप्प अंगालो हाल्नुभयो। हामी भित्र गयौँ।
मेरो कोठामा सामान फिजिएको थियो। किताब, पेन, कापी, लुगा इत्यादी। मैले गल्ती टार्न खोजेँ, दिदी सामान भर्खरै फिजाएको। दिदी हाँस्नुभयो, मिलाउन थाल्नुभयो। किचनमा गएर पानी लेराएँ।
किचन सुनसान देखियो, अहो! अझैसम्म सानो ग्यास बलेर खाना पाकिरहेछ। कस्तो भुसुक्कै बिर्सिएछु! दिदीलाई पानी दिएँ र मैले पनिसँगै कोठा मिलाएँ। कोठाको कुनामा बेवारिसे पारामा फ्याकिएको डायरीमा दिदीको ध्यान गयो।
'अहो! यो डायरी यहाँ छ' दिदीले डायरीबारे सबै बुझेझैँ गरी भन्नुभयो। सम्हालेर उठाउनु भयो।
'नानी मैले यो डायरीमा मेरो भाइको जीवन्त अनुहार भेट्छु, धन्य छ तिमीले यसलाई सम्हालेकी छौ।'
बुझ्न खोजेँ 'कसको डायरी हो यो?'
'जानी जानी सोधेको कि के गरेको हँ? हरेक दिन तिमीले अक्षयलाई डायरीमा उतार्ने गर्थ्यौ, कति विघ्न माया तिमीहरुको, अक्षय साथमा नभएको धेरै भैसक्यो।'
सबै बुझेझैँ मैले फेरि टारेँ, 'हो नि दिदी, अक्षय डायरीमा सुरक्षित छ, सधैँ मसँगै छ। मलाई उसको छायामा अझै हुर्किनु थियो, अझै जान्नु थियो भइपरि आउने मेरो यात्राका चट्टानहरु बारे, जुनदेखि मलाई बिल्कुलै डराउनु छैन।'
दयाभावले दिदीले मलाई हुर्नु हुन्थ्यो, हेर्नु भयो, हेरिराख्नु भयो, हेरिरहनु भयो।