पोहोर
हेलिकप्टर चढेर आएको
चामलको बोरा
चुहिएको छानो चढेर
कुहिएको चामल पकाउने
चुल्हो ओतिरहेछ
उ हेर त आमा
बादल मडारिएको
हाम्रो वस्ती
पहिरोले बडारिएपछि
एक बोरा चामल
एक पोका नुन
आलु, दाल र चाउचाउ
फेरि आउने भो
हेलिकप्टर चढेर
हाम्रो वस्ती
राहत बनेर
तिमीले घण्टौँ
लाइन बसेर
भोट हालेकाहरु
कर तिरेर पालेकाहरु
गाउँ फर्कनलाई
हाम्रो घरमा बाढी पस्नुपर्छ
ऊ त्यो पहरो
खस्नुपर्छ
एक थान पाल
एक सरो धोती
भाँडाकुँडा पाउन
तिमीले जिन्दावाद र मूर्दावाद
भनेको हुनुपर्छ
नभए त घण्टौँ लाइन बसेर पनि
रित्तै हात भोकै पर्नुपर्छ
बाढी पस्नुपर्छ
पहिरो खस्नुपर्छ
वस्तीहरुमा
सुत्केरीले प्रसव पीडामा
नपाएको हेलिकप्टर
सिटामोल नबोकिएका हेलिकप्टर
माननीयहरु बोकेर
मेरो वस्ती माथि
थिचिएका
किचिएका
तैरिरहेका
शवहरु गन्दै
उड्छ
भटटट...
हरेक साल
सप्तकोशी उर्लिएपछि
हाम्रो सर्वस्व पुरिएपछि
पर्यटक समाजसेवीहरु
आउँछन् बोकेर
राहत
फोटो खिच्छन्
छापिन्छन् पत्रिकाहरुमा
हाम्रो दुःख बेचेर
पीडा देखाएर
कहलिन्छन्
समाजसेवीहरु
राहत बाँडेर
म
सुरक्षित वस्ती चाहन्छु
एकपटक होइन
पटक पटक माननीयहरुको
मेरो वस्तीमा गस्ती चाहन्छु
झरीमा नचुहिने छाना चाहन्छु
दुई छाक पेटभरि खाना चाहन्छु
आङमा एकसरो नाना चाहन्छु
यदि तिमी
साँच्चीकै समाजसेवी हौ भने
दीर्घकालीन
समाधान चाहन्छु
ए सरकार
ए समाजसेवी हो
साँच्चै आउने भए
तिम्ले ल्याउने भए
यी र यस्तै
बोकेर आऊ
राहत।