तोने खोलाको किनारमा छौं हामी। पुल यति लामो छ कि एक छेउबाट छिरेका हामी अर्को छेउ कहाँ पुगेर टुंगिन्छ, देखिँदैन। सिनजी सानलाई सोध्छु म- 'यो पुलको अन्तिम बिन्दु कति टाढा होला?'
ऊ गम्भीर मुद्रामा बोल्छ- 'च्युगोकु (चीन) सम्मै छ होला।'
म हाँस्छु- 'उसो (झुट)।'
ऊ फेरि हाँस्दै बोल्छ- खांकोकु (कोरिया) सम्म त पक्कै छ।
ऊ कहिले काहीँ गम्भीर कुरालाई पनि सहजै लिइदिन्छ। म चकित हुन्छु उसको चेहरा देखेर। मलाई यो पुल देखेर यसै पनि रमाइलो लागेको छ। एक त यो नदेखिनेसम्म लामो छ र यो घुमाउरो पनि छ।
सिनजी सानले अर्को रोचक कुरा पनि सुनायो, तोने खोला जापानकै दोस्रो ठूलो खोला हो। खोला यति ठूलो छ कि मानौँ बीचबाटै समुन्द्र बगेको छ। मेरो मनमा कुरा खेले- जापानिजहरूले संसारकै लामा पुल भनेर दर्ता गर्न खोजे भने कति वटा दर्ता होलान्?
जहाँ राजमार्गदेखि रेलमार्गसम्म अनगिन्ती लामा पुल र सुरूङ छन्। तर उनीहरूलाई कतै देखाएरभन्दा पनि आफूले सुबिधा लिएर खुसी हुने हो भन्ने लाग्छ। सिनजी सान पनि त्यस्तै छ। ऊ खल्तीमा पैसा सक्काएरै भए पनि ब्रान्डेड सामान प्रयोग गर्न चाहन्छ।
आज ऊसँग नयाँ चिज छ जो उसले आजसम्म देखाएको थिएन। रेवनको चस्मा। चस्मा यति राम्रो छ कि त्यति राम्रो चस्मा मैले आजसम्म देखेको थिएन। चस्मा मागेर हेरें झन् मन पर्यो।
मूल्य सोधें, ९ मान अर्थात् नेपाली करिब ९० हजार। र हाँस्दै भनें- यो मलाई उपहार भयो।
उसले झन् मिठो हाँसो फर्कायो मानौं कि चस्मा मेरो भैसक्यो। र भन्यो- म अहिले चस्मा दिने स्थितिमा छैन, कुनै दिन टन्न पैसा हुन्छ मसँग अनि तँलाई सँगै लगेर किन्दिन्छु।
चस्मा लगाएर पोज दिदैं सोधें 'कस्तो देखियो?'
उसले गज्जब देखियो भन्यो। मैले फोटो खिच्दिन्नस् भनें- उसले मोबाइल माग्यो र मेरो फोटो खिच्दै सोध्यो 'फोटो खिचेर के गर्छस्?'
मैले भनें 'सञ्जालमा सेयर गर्छु, साथीहरू प्रतिकृया दिन्छन्।'
उसले अचम्म पर्दै भन्यो 'खासमा मलाई फोटो खिच्न कुनै रहर लाग्दैन। फोटो त नयाँ ठाउँको खिच्ने हो। आफूले प्रयोग गर्ने सामानको पनि फोटो खिच्छन् र? अरूलाई देखाएर के हुन्छ? सामान त आफ्नो रहरले किन्ने हो खुसीले लाउने हो। अरूलाई देखाएर के अर्थ?'
हामी पालमुनि छौं। लाइटको व्यवस्था गरिएको छ। नजिकै पुलमा गाडी ओहोरदोहोर गरिरहेका छन्। पुलमा जडान गरिएको बत्ती दिपावलीमा बालिएको झिरझिरे जस्तै लाग्छ।
नजिकै तोने खोला आफै सुरमा हिँडिरहेको छ। समथर भएर होला तलाउ जस्तै शान्त छ। खान पिउनकै लागि विभिन्न परिकारहरू छन्। मानिसहरू आफ्नै सुरमा छन्। हामी जस्तै पालमुनि आफ्नै सुरमा भएका सयौं छन्। ठूलो भिड छ तर शान्त छ। गाडी यता उता गरेको उज्यालो देखिन्छ, आवाजको खासै प्रवाह हुँदैन।
भरे साँझ सबै जम्मा हुन्छन्। रमाइलो माहोल छ। हाँसो ठट्टा व्यग्र चल्छ। सबैको केन्द्रमा म पर्छु। नयाँ भएर पनि होला। उत्सुक भएर विभिन्न प्रश्न गर्छन्। नेपालमा पनि यस्तै गर्छौ, यस्तै हुन्छ जस्ता प्रश्न गर्छन्। म योभन्दा धेरै हुन्छ। अझ रमाइलो हुन्छ भन्छु। तर भन्दिनँ।
हामीहरू जम्मा भएर अर्काको कुरा काट्छौं, एकको सफलतामा हामी दुखी हुन्छौं। हामी अरूको प्रगतीदेखि सहन्नौँ। यहीँ जापानकै जमघट पनि, विभिन्न समूहमै विभाजित भएर पार्टी गर्छौं। कसरी हुन्छ अरूभन्दा आफूलाई ठूलो देखाउन खोज्छौं।
अगाडि हजुर कति राम्रो भनेर चाकडी गर्छौं, पछाडि सकेसम्म खुट्टा भाच्छौं। हल्ला गरेर अरूलाई नि बाधा पुऱ्याउँछौं। तँभन्दा म के कम भनेर त्यही पाखुरा सुर्कन्छौं र लड्न पनि पछि पर्दैनौं। हामीमा गोर्खाली हुँ भन्ने अहंकार छ।
मुगलानमा छिरेर जुठा भाँडा माझेको र शौचालय सफा गरेको काम बिर्सेर आजसम्म कसैको गुलाम नभएको कुराले छाती फुलाउँछौं। स्वाभिमानको शिर सगरमाथाले देखाउँछौं। यी सबैकुरा म मनमा खेलाउँछु मात्रै भन्न सक्दिनँ। किनकि म नेपाली हुँ, म सानो हुन झुक्न हुँदैन भन्ने कुरा अरूको जस्तै मेरो पनि मुटुमै जरा गढेर बसेको छ।
पार्टीमा रमाइलो बढ्दै जान्छ। कामका सिलसिलामा भएका तितापिराहरू एकअर्काले पोख्छन्। आफूले गरेका उपलब्धिहरू सुनाउँछन्। कमजोरीको समीक्षा गर्छन्। आफ्ना योजना र रहरका कुरा गर्छन्। माहौल शान्त र उल्लासमय छ। पिउनेहरूले पिइरेका छन्। सबै रमाइलो मुद्रामा छन्। अट्ठहास हाँसोका फोहरा छुटेका छन्।
रात ओरालो लाग्दैछ। सिनजी सान र म विस्तारै नजिकिएर कुरा गर्न थाल्यौं। उसले बोकेको किरिङ (साचोको झुप्पो) मा अमेरिकाको झण्डा थियो। मैले सोधें 'यो अमेरिकन झण्डा किन बोकिस्?'
'यत्तिकै राम्रो लागेर।'
'आफ्नै देशको झण्डा बोकेको भए राम्रो हुने।'
उसले बिस्तरा लगाउँदै भन्यो- 'जापानिजहरू मुख्य त कामलाई प्राथमिकता दिन्छन् भन्ने कुरा त तैंले जापान बसाइबाट पक्कै अनुभव गरिस् होला। मुख्य कुरा पनि त्यही हो, आफ्नो देशका लागि के काम गरियो भन्ने महत्वपूर्ण ठान्छन् जापानीहरू।
उनीहरू लाउने खाने कुरामा मतलब गर्दैनन्। फेरि यहाँ अधिकांश सामान बाहिरैबाट आयात हुन्छ, त्यो भएर पनि झण्डा या अरू सामान कुन देशको प्रयोग गर्ने भन्ने कुरालाई महत्व दिन्नन्।
उसले भनेको एउटै कुरा मेरो मनमा गढिरह्यो- हामी कामलाई प्राथमिकता दिन्छौँ, देशका लागि सामान कुन प्रयोग गर्छौं हैन। मैले देश सम्झिएँ, हामी कुरालाई प्राथमिकता दिन्छौँ। विदेशी कुरा मन पराउनेलाई दलाली या शरणार्थी करार गर्छौं। मनमा खेलाइरहें तर उसलाई भनिनँ।
रात छिप्पिदो छ। झन्डै १२ बज्न लाग्यो। भोलिको समय तालिका आजै मिलाइएको छ। यतिबेला सबैजसो सुत्ने तर्खरमा छन्। गाडीहरूको उज्यालो पनि कम भइसकेको छ र मान्छेको आवाज पनि। आफ्नै धुनमा के-के गरिरहेछ सिनजी सान।
उसले कपडा खोल्यो। सामान्य त जापनिजहरू लजाउन्नन्। हामी नेपालीलाई एउटा टिसर्ट बाहिरको सर्ट खोज्न पनि कुनो र अँधेरो कता छ भन्ने छल्न खोज्छौं। उसले मेरै अगाडि टिसर्ट फुकाल्यो। निख्खर सेतो छाला। हिउँको थुप्रो जस्तो। झुस रौं नाम छैन।
मेरो नजर त्यताभन्दा पनि उसको शरीरमा खोपिएका निला अक्षरहरूमा परें। अर्थात् उसले शरीरमा ट्याटु खोपेको रहेछ। ती पनि निला अक्षरहरूले। अझ रोचक कुरा त यो छ कि- ती लेखिएका अक्षरहरू हिन्दीमा छन्।
मेरो उत्सुकताले पुलै छुन खोज्यो। एकैसासमा सोधें- 'हिन्दी भाषा छ त?'
उसले मन्दमुस्कान 'हो' भन्यो।
'कसरी लेखेको?' मैले सोधें।
उसले छेवैँमा आएर बस्दै बेलीविस्तार लाउन थाल्यो।
'कलेज पढ्दा एकजना भारतीय शिक्षक थिए। उनले भाषाका कुरा गर्थे, संस्कृतिका कुरा गर्थे। भन्थे- जापानिज भाषाभन्दा हिन्दी भाषा मिठो छ र हिन्दीभन्दा संस्कृत। अझ जापनिजभन्दा संस्कृत निकै कठिन पनि छ।'
उसलाई संस्कृत भाषाको ज्ञान र त्यसप्रतिको चाखले म ऊ झन् आकर्षित भएँ। उसले थप्दै गयो- 'मलाई रहर छ संस्कृत पढ्न। हिन्दी सिक्न मन छ।'
मैले ठट्टा गर्दै भनेँ 'नेपाली नसिक्ने?'
उसले मन्द मुस्कान सहित भन्यो- 'शेखर सानसँग सँगै काम गर्दागर्दै सिकिहाल्छु नि।'
बहुत बाठो छ सिनजी सान। इमान्दार छ र व्यवहारिक पनि छ। मभन्दा १० वर्ष कान्छो छ एउटा केटो। तर साथी जस्तै छ, हरेक कुरा दिल खोलेर भन्छ। जान्न चाहेका कुरा उत्सुकतापूर्वक सोध्छ, जवाफ दिन पनि मज्जा लाग्ने।
उसले यसअघि नै हिन्दी भाषा जानेको छस् भनेर सोधेको थियो- 'मैले काम चलाउ जानेको छु' भनेको थिएँ। आज ऊ अझ बढी खुलेर कुरा गर्दैछ र थप्यो- 'शेखर सानलाई संस्कृत भाषा आउँछ?'
मैले मुस्कुराउँदै 'अलि अलि' भनें। उसले पत्याएन। पर्ख, म देखाउँछु भनेर युट्युब खोलें र युट्युबको भिडिओसँगै स्वस्ति वाचन गरें, त्यो पनि हात हल्लाएर। उसले दंग परेर हेरिरह्यो।
फेरि-फेरि वाचन गर्न लगायो मलाई, अलि अलि आफूले पनि हात चलायो। मैले ॐ को बारेमा पनि चर्चा गरेँ। उसले वाचा गरेको छ। म अब तेरो सम्मानका लागि शरीरमा ॐ ट्याटु खोप्नेछु। उसको सम्मान दिने शैली देखेर म दंग परें।
उसले फेरि सोध्यो- 'तैंले संस्कृत कसरी सिकिस्?'
मैले भनेँ- 'नेपालमा संस्कृत पढ्नकै लागि भनेर छुट्टै विश्वविद्यालय नै छ। नेपालीहरू भारतमा पनि पढ्न जान्छन्।'
उसले प्रश्न गऱ्यो- 'नेपालमा संस्कृत, हिन्दी, अंग्रेजी पनि बोल्छन् कि नेपाली भाषा मात्रै?'
'नेपालमा नेपाली मात्रै हैन, १३०/१३१ थरी भाषा बोलिन्छ।'
१३१ अंक सुनेर ऊ झसंगै भयो र सोध्यो 'संसारभरिकै भाषा बोल्ने मानिस छन्?'
'संसारमा बोलिने भाषा र नेपाल देश भित्र बोलिने भाषा फरक छन्। नेपालीहरूको आफ्नो भौगोलिक क्षेत्र र ठाउँ र जाति अनुसारकै भाषा छ। भाषा मात्रै हैन, आफ्नै शैलीको रितिस्थिति चाडपर्व छन्, पोशाक पनि आ-आफ्नै छ।'
उसले आँखा पनि नचिम्ली कुरा सुनिरह्यो। एकछिन केही बोलेन र सोध्यो- 'ती सबै भाषा विद्यालयमा पढाइ हुन्छ?'
म बडो दुखी हुँदै भनें- 'अघिल्लो पुस्ताबाट दोस्रो पुस्तामा सरेको मात्रै हो, त्यही पनि लोप हुने स्थितिमा छ। नेपाली र अंग्रेजी भाषा अनिवार्य पढाइ भए पनि मातृभाषाका लागि विद्यालय संचालन छैनन्।'
ऊ पनि खिन्न भयो र भन्यो- 'जुन ठाउँमा जुन भाषा बोलिन्छ त्यो ठाउँको विद्यालयमा त्यही भाषा पढाउन मिल्दैन?'
उसले कस्तो गम्भीर कुरा गऱ्यो। मैले मलिन आवाजमा भनें- हामी नेपाली धेरै कुरामा धनी भएर पनि गरिब छौँ, हामी गरिबीको कारण हाम्रो शासन व्यवस्था र हाम्रो जीवनशैली हो। अंग्रेजी र नेपाली अनिवार्य गर्ने सरकारले अरू भाषालाई बेवास्ता गरेको छ। कहिले कतै पुस्तक र कार्यक्रममा भाषा बारे छलफल भए पनि १३१ भाषा पढ्न मिल्ने गरी विद्यालय छैनन्।'
ऊ दुखी भयो। मलाई झन् बढी दुख लाग्यो। ऊ दुख्नुको कारण म थिएँ। मेरो देश थियो। र मेरो देशको व्यवस्था थियो।
क्षणिक मौनतालाई चिर्दै फेरि ऊ बोल्यो- 'नेपाल त एभरेष्टको देश भनेको त भाषाको देश पो रहेछ।'
उसको कुराले मनमा गर्व महसुस त भयो तर गर्व गर्ने स्थिति छैन। दिन प्रतिदिन भाषा संस्कृति रीतिरिवाज जगेर्ना हुनुभन्दा लोप हुने तिर केन्द्रित छ।
मैले भनें 'सिनजी सान घडिले १२ पनि छोडिसकेको छ, सुतौं अब। भोलि सबेरै उठ्नु पर्छ। फेरि म यसरी बाहिर पालमा आजसम्म सुतेको छैन। यो पहिलोअनुभव हो। कुरा गर्दै गरौंला हामी हिँड्ने बाटो लामो छ।'
लहरै बत्ती बलेको लामो पुल तिर देखाउँदै उसले भन्यो- 'त्यो पुल जत्रै।'
मैले भनें- 'हैन, त्यो तलको तोने खोले जत्रै।'
ऊ हाँस्दै आफ्नो पालभित्र छिऱ्यो। म आफ्नो पाल तिर लागें। लामो पुलमा उज्यालो पोख्दै पातलोसँग सवारी कुदिरहेका छन्। तोनेखोला आफ्नै लयमा बगिरहेको छ।