उता गाउँमा कोदालो चलाएर,
हिलो सम्याएका बाबाका हातहरू
पटक्कै थाक्न जानेका छैनन्
उता घरका धन्दा सकेर
खाजा पुर्याउने आमाका गोडाहरू
पटक्कै थाक्न जानेका छैनन्
तर, यता सहरमा बसेको छोराका
मोबाइमा औँला चलाउँदा चलाउँदै
उसका हातहरू फतक्क गल्छन्
उता गाउँमा सागका काइनाहरू
उखेलेर बनाएका गुन्द्रुक र सिन्की
महिनौँ राख्दा पनि सडेकै छैनन्
उता जंगलको घाँस खुवाएर
वस्तुबाट निकालेको तागतिलो घिउ
वर्षभरि राख्दा पनि बिग्रेको छैन
तर यता सहरमा हिजो मात्रै किनेका
धनियाँ नामका स-साना कल्लीहरू
फ्रिजमै राख्दा पनि फतक्कै गल्छन्।
उता गाउँका मेहनती दाजुले
एक्लै मेहनत गरेको कमाइले
परिवार पालेर बचतसमेत गर्छन्,
उता गाउँकी अर्की एक्ली बज्यैले
सामाजिक सुरक्षाको भत्ता मात्रै बुझेर
जहान परिवारलाई खुवाउने गर्छिन्
तर यता सहरमा घरका सबैले
रातदिन व्यापार र जागिरसमेत गर्दा
ढुकढुकी नचलेर मनहरू गल्छन्।
तागत फलेर पो के गर्नु त्यो गाउँमा
गलेकै सहरमा नीतिहरू बन्छन्
धान फल्छ गाउँमा जनशक्ति सहरमा
गमलाको रोपाइँले कृषियुग ल्याउँछन्
उर्वरता सिद्धियो घेडेरीको लहरले
अझै पनि कृषिप्रधान रट्न लगाउँछन्
गाउँ भो बेवास्ता सहर भो भद्रगोल,
तैपनि सपना स्विजरल्यान्ड देखाउँछन्।