म आफै भन्छु, म कालो
मेरो रुप अनि रंग कालो
बुझ्दैनौ किन तिमी अक्सर
निष्पट्ट अन्धकारमै चम्किन्छ उज्यालो।
दागले भरिएको चम्किलो शशि कालो
सेतो पानामा कोरिने मसि कालो
निच सोच राख्ने तिमी
तिम्रो नजर अनि वसि कालो।
भेदक दृष्टि छ तिम्रो,
देख्छौ दायाँ अनि बायाँ कालो
आफ्नै ममताकी खानीले दिएको माया कालो
तिम्रो त शरीर मात्रै सेतो हो
हेर तिमीसँगै हिँड्ने तिम्रो छाया कति कालो!
कालो शरीरको मेरो प्रत्यक अंग कालो
भेद गर्ने तिम्रो त्यो ढंग कालो
सेतो मात्रै आवश्यक हुन्थ्यो भने
किन प्रत्येक रातको रंग कालो!