१८ वर्षको भर्भराउँदो बैँसको उन्मादमा छे युगा। बाह्र कक्षाको रिजल्ट भर्खरै प्रकाशित भयो। डिस्टिङसन आउने त पक्का नै थियो। आयो पनि। उसलाई भने पटक्क चित्त बुझेको छैन। त्यसै खिन्न लागेको छ। कलेज टप नै गर्ने विश्वास थियो उसको।
मामुको एक्लो दुःख उसले राम्ररी बुझेकी थिई। कलेज टप गरेर मामुलाई खुसी तुल्याउने उसको सपनामा तुषारापात भइदियो। कहिल्यै कलेजमा उसलाई उछिन्न नसकेको यमनले सबैलाई उछिनिदियो।
युगालाई यमनको सबथोक राम्रो लाग्थ्यो। बोलीचाली, रुपरंग, हाउभाउ, सादगी सबै। आफूलाई पढाइमा नै जित्न सक्ने जतिको क्षमतावान लागेको थिएन।
पढाइमा क्लासकै च्याम्पियन भएकोले युगालाई सबैले चिन्थे। साथीभाइ, टिचर, प्रिन्सिपल सबैको प्रिय थिई ऊ। त्यसमाथि उसको मामु अलि हाई प्रोफाइलमा गनिनु हुन्थ्यो। त्यसै कारण पनि उसलाई सबैले फरक व्यवहार गर्दथे। आफ्नी मामुको मेहनत र आफ्नो पढाइ दुवैप्रति गर्व गर्थी ऊ।
युगाकी मामु निरन्तरको अथक प्रयासले आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएको थियो। बाबासँगको डिभोर्सपछि मामुले नै भाइ र उसको जिम्मा आफैंले लिनुभएको हो।
युगालाई आफू जति योङ र स्मार्ट लाग्छ त्योभन्दा बढी आफ्नी मामु सुन्दर र इनर्जेटिक लाग्छ। उमेरले उहाँ युगाभन्दा झण्डै दोब्बर जत्तिको हुनुभयो। ३८ वर्षको जन्मदिन मनाएको धेरै भएको छैन।
धेरैले उहाँलाई भर्खर तीस बत्तीस वर्षकी भनेर कमेन्ट गर्छन्। सँगै हिंड्दा सबैले 'हजुरकी बहिनी हो?' भनेर प्रश्न गर्छन्। युगालाई यी कुराहरु साह्रै रमाइला लाग्छन्। उसका साथीहरुको ममीहरु कोही पनि यति योङ छैनन्। स्कुल कलेजमा उसले सधैं आफ्नी मामुको प्रशंसा सुन्ने गरेकी हो। त्यसैले कसैले उसलाई मामुजस्तै भनेर कमेन्ट गरेको मन पर्छ।
उसकी मामु हेर्दा मात्र सुन्दर होइन, विचारले पनि सुन्दर हुनुहुन्छ। सधैं सकारात्मक सोच राख्ने अनि आफ्नै रुटिनमा चल्न मन पराउनु हुन्छ। बाबामामुको डिभोर्स भएको सात वर्ष भयो। औपचारिक रुपले छुट्टिएको सात वर्ष भएपनि युगाले आफ्ना आमाबाबा कहिल्यै मिलेर बसेको देख्न पाइन। होस सम्हालेदेखि नै उहाँहरुबीच द्वन्द देख्दै आएकी हो उसले।
जब उहाँहरुको डिभोर्स भयो, एघार वर्षकी युगाले मनमनै सन्तोषको सास फेरेकी थिई। घरमा सधैंको शीतयुद्धको माहौल थियो। न बाबा कहिल्यै हाँस्नु हुन्थ्यो न त मामु नै खुसी हुनुहुन्थ्यो। दुवैजना घरमा हुँदा त झन् तनावको स्थिति सृजना हुन्थ्यो। के कुराले मनमुटाव भएको हो भनेर बुझ्न सक्दैन थिई। कुनै केटीको नाम लिएर उहाँहरुको विवाद भएको मात्र थाहा थियो।
भाइ युगाभन्दा दुई वर्षले मात्र कान्छो हो तर ऊ त सधैं आफ्नै धुनमा हुन्थ्यो। मामु-बाबाबीचको तनावले उसलाई केही फरक परेकै थिएन। सानै हुँदादेखि नै टिभीमा देखाइएका हरेक चिजहरु उसलाई चाहिहाल्थ्यो। बाबाले पुर्याइदिनु पनि हुन्थ्यो। आफूले चाहेका चिजहरु आफ्नो हातमा परेपछि त्यसमै हराउँथ्यो।
युगा भने खुलेर आफ्नो माग कहिल्यै राख्न सक्दैन थिई। भाइलाई नयाँ सामान किनिदिंदा उसलाई भने बाबाले कहिल्यै पनि सोध्नु भएन केही चाहिन्छ कि भनेर। आश त उसलाई पनि लाग्थ्यो तर विरोध गर्ने साहस उसमा थिएन।
मामुले भाइले केही माग्यो भने उसलाई पनि सोध्नु हुन्थ्यो। सबै कुरामा समान व्यवहार गर्नु हुन्थ्यो। मामुको यही एउटा व्यवहारले गर्दा उसले मामुसँगै बस्ने निर्णय गरिसकेकी थिई। हुन त उसलाई सोधिएकै थिएन तर उसले जे चाही त्यही भयो।
बाबामामुको तनावको अन्त्य भएपनि उसलाई दुवैजनाको साह्रै माया लागेको थियो। कसैसँग पनि छुट्टिएर बस्नु नपरे हुन्थ्यो, चारै जना सँगै बस्न पाए हुन्थ्यो जस्तै भएको थियो।
त्यसपछिका सात वर्ष उसले पनि तनावरहित जीवन बाँच्न पाई। घरका साना-ठूला द्वन्दले पढ्ने वातावरण पटक्कै थिएन। अब भने उसले पुरै मन लगाएर पढ्न पाउने भई। पछि उसको मामाघरका हजुरबुवा पनि सँगै बस्न आउनु भयो।
सरकारी जागिरबाट रिटायर्ड हुनु भएका उहाँ पनि हजुरमुवाको मृत्युपछि एक्लै हुनुहुन्थ्यो। उहाँको आगमनपछि त युगाले झन् राम्रो साथ र सहयोग पाई। हजुरबुवालाई सबै विषयको साह्रै राम्रो ज्ञान अनि अनुभव रहेछ। पढाइमा उहाँको पुरै साथ पाएपछि युगाले कहिल्यै पछाडि हेर्नु परेन।
मामुले पनि छोराछोरीको जिम्मेवारी बाँडिएपछि अलि राहत महसुस गर्नुभएछ। सधैं खुसी देखिन थाल्नु भयो। घरको माहौल नै शान्त हुन थाल्यो। युगा र उसको भाइले दिनदिनै नयाँ कुरा सिकेकै हुन्थे हजुरबुवासँग। ६५ पर्षको उमेरमा पनि हजुरबुवा जोश र जाँगरले भरपूर हुनुहुन्थ्यो।
कहिले काहीँ युगाकी मामु विकेन्डमा साथीहरुसँग घुम्न जानुहुन्छ केही दिनको लागि। त्यतिखेर हजुरबुवाले नै उनीहरुलाई सम्हाल्नु हुन्छ। मामुका बारेमा युगाले प्रश्न गर्दा 'मान्छेले काम मात्र भन्नु हुँदैन। मामुलाई घुम्न जान देऊ, रोकटोक नगर' भन्ने गर्नुहुन्छ।
मामु कामको सिलसिलामा विदेश पनि जानुहुन्छ। दिनरात मेहनत गरेर नै मामुले आफ्नो काममा सफलता पाएको कुरा उनीहरुलाई राम्ररी थाहा छ। छोटो अवधिमै उहाँ एउटा सफल उद्यमी बन्नु भएको हो। बाबाले सुरु गरेर भताभुंग पार्नुभएको व्यवसायलाई उहाँले नै सिंचेर अघि बढाउनु भयो।
बाबासँगै हुँदा उनीहरुको झगडा मात्र देख्न पाइन्थ्यो। अहिले मामुका सफलताका कथा सुन्न पाइन्छ। उन्नती प्रगतीका कुरा सुन्न पाइन्छ। यतिमात्र होइन, कहिलेकाहीँ त मामुका अन्तर्वार्ताहरु हेर्न, सुन्न अनि पढ्न पनि पाइन्छ।
सात वर्षको अवधिमा उसकी मामुले आफ्नो व्यवसायलाई अर्कै उचाइमा पुर्याउनु भएको कुरा जगजाहेर नै छ। फेरिएको छ पुरै परिवारको जीवनस्तर पनि।
यसै कारणले पनि कलेजमा युगाको छुट्टै पहिचान बनेको थियो। ऊ आफैमा साह्रै मेहनती विद्यार्थी त हो, तर उसको मामुको सार्वजनिक व्यक्त्तित्वले सुनमा सुगन्ध थपेको थियो। बाह्र कक्षाको रिजल्ट उसले सोचेजस्तो नहुँदा आफ्नी मामुको नाम अझै चर्चित बनाउने उसको धोको भने अधुरै रह्यो।
रिजल्ट पछिका युगाका दिनहरु सकसपूर्ण रहे। उसको मन अस्थीर रहन थाल्यो। एमबिबिएसको प्रवेश परीक्षाको तयारी गर्नुपर्ने थियो उसले तर उसको ध्यान पटक्क पढाइमा केन्द्रित थिएन। यमनकै याद आउन थाल्यो।
नजानिँदो रुपमै ऊ यमनप्रति दिनप्रतिदिन आकर्षित हुँदै थिई। पहिलेभन्दा अझै राम्रो लाग्न थाल्यो उसलाई यमन। अब पढाइमा उसले जितेकोमा खिन्न होइन, खुसी पो लाग्न थाल्यो।
संयोगले उनीहरु एउटै कलेजमा भर्ना भए। एकदमै मिल्ने साथी भए। एकअर्कालाई सकेको मद्दत गर्न थाले। नजिकिए पनि। यमनको मनमा के छ युगा अनभिज्ञ छे तर किन हो किन उसलाई यमनले आफूलाई पनि त्यत्तिकै मन पराउँछ जस्तो लागिरहेको छ।
कलेजमा यमन भनेर मरिमेट्नेको कमी रहेनछ। उसले पत्ता लगाई। अलिकति पनि ढिला गर्न चाहन्न ऊ। भ्यालेन्टाइन्स डेको अवसर पारेर उसलाई आफै प्रस्ताव राखिदिई। सकारात्मक जवाफ आउने उसलाई पक्का छ। बरु अबका दिनहरु धेरै रोमाञ्चित हुने पो हुन् कि? पढाइबाट ध्यान हट्ने पो हो कि? उसलाई डर छ किनकि उसलाई एक सफल डाक्टर त जसरी पनि बन्नु छ।
सोचे जस्तो भएन। जवाफ नकारात्मक आयो यमनको तर्फबाट। ठूलो धक्का लाग्यो युगालाई। कहिलेकाहीँ सोच्दै नसोचेका कुरा हुँदा रहेछन् जीवनमा। भ्रममा बाँचेकी रहिछे ऊ पनि। युगालाई कारण जान्ने उत्सुकता भयो।
'तिमी मेरो मिल्ने साथी त हो तर मेरो परिवारले तिमीलाई मन पराउँदैनन्। भविष्य नै नभएको सम्बन्ध गाँसेर के गर्नु?' यमनको जवाफ थियो।
युगा तीन छक पर्छे। प्रस्ताव त यमनलाई राखिएको थियो, तर परिवारको चाहनासम्मका कुरा उठे। त्यसैले उसले सोधी।
'मैले त तिमीलाई पो मन पराएको! यसमा कसरी तिम्रो परिवारको कुरा आयो? तिम्रो ममी ड्याडीले त मलाई चिन्नु त के देख्नु पनि भएको छैन। फेरि तिमीले किन उहाँहरुको बहाना बनाउनु पर्यो?'
'हामी बाह्र कक्षा पढ्दा नै मैले मेरो ममीलाई भनेको थिएँ तिम्रो बारेमा। उहाँले तिम्रो मामुको नाम सुन्ने बित्तिकै यो सम्भव छैन भन्नु भयो' यमनले आफ्नो विगत खोतल्यो।
'किन? मेरी मामुले के नराम्रो गर्नु भएको छ र? उहाँ त एकल महिला भएर पनि एक सफल उद्यमी हनुहुन्छ' युगाले आफ्नो मामुको सफाईमा यी कुरा राखी।
'ए! उहाँ एक डिभोर्सी भएर हो?'
'त्यस्तो पनि होइन' ऊ अन्कनायो।
कुरा नसक्किँदै उनीहरुका साथीहरु त्यहीं आइपुगे। कुरा टुंग्याउने वातावरण नै भएन। घर फर्केर पनि युगाको मन शान्त हुन सकेन। भावनाका छालहरु उर्लिरहे। आफ्नो प्रस्ताव अस्वीकार भएको कारण आफू होइन, आफ्नी मामु भएको उसलाई बुझ्न गाह्रो थिएन।
त्यसैले मामुदेखि नै भित्रभित्रै रिस पनि उठिरहेको थियो। त्यो दिन उसले मामुलाई उहाँले थाहा नपाउने गरी हेरिरही। अचम्म मानेर। यमनको आशय बुझ्न मन लागिरह्यो। मामुलाई केही सोध्ने पनि अवस्था थिएन।
दुई, तीन हप्ता यसैगरी बिते। मामुको बिजनेस ट्रिपमा जानुपर्ने भयो। युगाको प्रस्ताव अस्वीकार भएपछि दुईबीचको कुराकानीको मात्रा घटेको थियो। तर, एउटा असाइनमेन्टको लागि यमनले उसँग मद्दत माग्यो।
कुरैकुरामा यमनले उसलाई प्रश्न सोध्यो, उसको मामु कहाँ जानु भएको भनेर। उत्तर पाएपछि उसले फेरि सोध्यो 'कोसँग जानु भएको?' भनेर। त्यसपछि सुरु भयो उसको प्रश्नोत्तरको सिलसिला।
'तिमीलाई थाहा छ तिम्रो मामुको अफेयरको कुरा?' यमनले प्रश्न गर्यो।
'के सोधेको तिमीले, होसमा त छौ तिमी?' युगाले छक्क पर्दै उल्टै प्रश्न गरी।
'तिम्रो मामु र हाम्रो स्कुल प्रिन्सिपल निर्मल सरको केही वर्षदेखि अफेयर चलेको रहेछ। गोप्य राखिए पनि केहीलाई भने थाहा रहेछ। मेरो ममीले पनि थाहा पाउनु भएको रहेछ। त्यो थाहा पाएदेखि नै मलाई तिमीसँग नजिक नहुनू भन्नु भएको थियो।'
युगा छाँगाबाट खसे झैं भई। आफूले रोल मोडल मानेको मामुको बारेमा यस्तो कुरा सुनेर। मामुको बारेमा यस्ता कुरा त कल्पनामै थिएन उसको। एकैछिनमा सम्हालिएर यमनलाई प्रश्न गरी।
'तिमीले केको आधारमा मेरो मामुको बारेमा यस्तो कुरा गर्ने हिम्मत गर्यौ? बिनाप्रमाण तिमीले मेरो मामुको चरित्रमाथि औंला उठाउन पाउँदैनौ। यदि यो कुरा गलत निस्कियो भने कसरी तिमी मेरो अगाडि मुख देखाउँछौ?'
'मेरो ड्याडी-ममीले पोहोर बैँकंकमा सँगै भेट्नु भएको रहेछ निर्मल सर र तिम्रो मामुलाई। तिमीले पनि मामुले दिएको गिफ्ट श्रुतिलाई देखाउँदै गरेको मैले याद गरेको थिएँ। त्यसपछि मलाई पनि यकिन भएको थियो। याद छ तिमीलाई? एघार/बाह्र क्लास पढ्दा तिमीलाई निर्मल सरले कति माया गर्नु हुन्थ्यो? कारण त यस्तो थियो नि।'
यमनका हरेक वाक्यहरु धेरै समयसम्म युगाका कानमा गुञ्जिरहे। आश्चर्य लाग्यो उसलाई। विश्वास गर्न गाह्रो त थियो नै तर प्रमाणहरु सहित यमनले आफ्नो कुरा राखेको थियो। त्यसैले युगालाई यी कुरा नकार्न गाह्रो हुने नै भयो।
घर पुग्दासम्म उसको दिमागमा यी नै कुराहरु खेलिरहे। निर्मल सरका कुराहरु, कलेजमा उहाँले गरेका प्रोत्साहन, आफूप्रतिको मित्रवत् व्यवहार सबै याद आए। उसले कलेज टप गर्न नसक्दा सम्झाउने पहिलो व्यक्ति उहाँ नै हुनुहुन्थ्यो।
युगाले क्लासमा राम्रो पर्फमेन्स गरेका कुरा मामुलाई पहिले नै थाहा हुन्थ्यो। टेस्टहरु बिग्रेको पनि थाहा हुन्थ्यो। मामु र निर्मल सरबीचको सम्बन्ध अन्दाज लगाउन सकिएपनि यो सत्यलाई स्वीकार्न सजिलो थिएन उसको लागि।
निर्मल सरको श्रीमती र छोरा अमेरिकामा भएको सुनेकी थिई उसले। एक्लै बस्नुहुन्छ भन्ने सम्म थाहा थियो उसलाई। त्यो बाहेक अरु जानकारी थिएन।
ऊ रनभुल्लमा परी एकछिन। आधुनिक जमानाकी ट्यालेन्टेड केटी हो ऊ, १९ वर्षकी एमबिबिएसकी विद्यार्थी, तर पनि आफ्नी आमाको अफेयरको कुरा उसलाई पचाउनै मुस्किल भयो। छटपटी बढ्यो उसको। यमनको प्रेमले व्यग्र भएको मन, अझै अशान्त भयो। आफ्नो बारेमा सोच्नै छाडेर मामुकै बारेमा सोच्न पो थाली।
बेलुकीको डिनर खाँदा पनि उसको दिमागमा त्यही कुरा घुमिरह्यो। खानामा उसको रुची नदेखेपछि हजुरबुबाले सोध्नु भयो के भयो भनेर। मामु विदेश जानुभएको थियो। भाइ त सधैं झैं आफ्नै तालमा मस्त छ।
ऊ आफ्नो वरिपरि के भइरहेको छ भनेर कहिल्यै वास्ता गर्दैन। सानैदेखि तनाव र द्वन्द देखेर हुर्किएकोले पनि होला।
सुत्ने बेलामा हजुरबुवाले उसलाई आफ्नो कोठामा बोलाउनु भयो। उसको स्वास्थ ठिक छ कि छैन भनेर सोध्नु भयो। ठिकै छ भने पनि उहाँले युगाको व्यवहारमा परिवर्तन देख्नु भएको रहेछ। युगाले मामु कहाँ जानु भएको र कोसँग जानु भएको भनेर प्रश्न गरी। त्यसपछि हजुरबुवाले बताउन थाल्नु भयो।
'युगा, तिमी आफै अब ठूली भइसक्यौ, बुझ्ने भइसक्यौ। बाबासँग छुटेपछि मामु एक्लिएको पनि तिमीलाई थाहै छ। तिम्रो मामुको पनि धेरै उमेर भएको छैन। उनको अगाडि पनि लामो जीवन बाँकी नै छ।
भोली तिमी डाक्टर बन्नेछौ। विवाह गरेर आफ्नो छुट्टै परिवार बनाउने छौ। भाइको पनि आफ्नै परिवार हुनेछ। म पनि कति नै बाँचुला र? के आफ्नी आमालाई बुढेसकालमा एक्ली भएको हेर्न सक्छौ?'
युगाका दिमागमा यस्ता कुरा त आजसम्म आएका थिएनन्। बाबासँगको तनाव अन्त्य भएको मात्र उसले बुझेकी थिई।
'हजुरबुवा, मैले त यतातिर ध्यान दिएकै थिइनँ। हजुरले हामी सबैको कति ख्याल पो राख्नु हुँदो रहेछ। हो त नि, डिभोर्सपछि पनि बाबाका त दुई/तीन गर्लफ्रेन्ड थिए क्यारे। फेरि पनि अर्को विवाह गरेर आरामले बस्नु भएको छ। अर्की छोरीको बाउ हुनु भएको छ तर मामुलाई खोई स्वतन्त्रता?'
'ठिक भन्यौ नानी, तिम्री मामुले आफ्नै खुसीले अठार वर्षकै उमेरमा बिहे गरेकी हो। हामीले निकै सम्झायौं। पढाइ पूरा गर, अनि त्यही केटासँग विवाह गरीदिन्छौं भनेर तर उनले आफ्नो जिद्दी छोडिनन्। अर्को वर्ष त तिमी जन्मिसकेकी थियौ। तिम्रो उमेरमा त उनी आमा बनिसकेकी थिइन्।
तुरुन्तै दोस्रो बच्चा पनि जन्मेपछि उनले आफ्नो जीन्दगी जीउन नै कहाँ पाइन् र! त्यसमाथि तिम्रो बाबाको साथ पनि पाइनन् राम्रोसँग। दुवैजना उरन्ठेउला नै थिए। त्यसैले आ-आफ्नै तालले जीवन चलाए। समन्वय हुन सकेन, छुट्टिए। योबीच तिम्री मामुले ठूलो आत्मबल देखाइन्।
म आफैं छक्क थिएँ। छोरी डिप्रेशनमा जाने हो कि भन्ने ठूलो चिन्ता थियो मलाई तर तिम्री मामुको साहस त मान्नै लायक थियो। तिमीहरुलाई स्कुल पठाएपछिको समय सदुपयोग गरेरै उनले आफ्नो पढाइ पूरा गरिन्। उनलाई सानैदेखि हिसाबकिताबमा रुचि थियो, व्यवसायमा रुचि थियो। दिमाग पनि तेजिलो थियो।
रुचि अनुसारकै विषय पढेकाले सफलतापूर्वक पढाइ पनि पूरा गरिन्। पढाइ पूरा गर्नाले नै उनले सोचेजस्तो गर्न सकेकी हुन् आफ्नो व्यवसायमा। अबको जीवन पनि उनले काम मात्रै भन्नु हुँदैन। तिमीहरुको भविष्य उनले उज्ज्वल बनाइदिइसकेकी छिन्।
अब उनले आफ्नो बारेमा पनि सोच्नु पर्छ। यदि उनले सोचेकी छिन् भने मेरो पूर्ण समर्थन छ। तिमीहरुले पनि उनको लागि सोचिदिनु पर्छ। आफ्नो स्वार्थले उनलाई बाँधेर राख्नु हुँदैन।'
हजुरबुवाको कोठाबाट निक्लदै गर्दा युगाका बन्द आँखा खुले झैं भए। हजुरबुवा पहिलेदेखि नै समझदार व्यक्ति हुनुहुन्थ्यो, आज त उहाँलाई झन् धेरै सम्मान गर्न मन लाग्यो उसलाई। कति बुद्धिमतापूर्वक उहाँले युगालाई सम्झाउनु भयो, उसले बुझ्ने भाषामा। मामुको गोपनियता पनि भंग हुन दिनु भएन।
कोठामा पुगेर उसले यो कुरामा धेरै सोचविचार गरी। उसलाई हजुबुवाका कुरा याद आए। पहिलेदेखि नै मामु विकेन्डहरुमा बाहिर जाँदा हजुरबुवाको पनि समर्थन र अनुमति रहेछ। छोरीलाई व्यक्तिगत स्वतन्त्रता दिनु भएको रहेछ। उसले बल्ल बुझी 'काम मात्र भन्नु हुँदैन' भन्ने कुराको अर्थ।
उसलाई यमनका कुरा पनि याद आए। मामुको अफेयरले उसको प्रस्ताव अस्वीकार भएका कुरा। आफ्नै बाबाको मुहार झल्झली आँखा अगाडि आए। मामुसँग सम्बन्धमै हुँदा पनि अरु केटीका कुराले भएका झगडा याद आए। डिभोर्सपछि पनि मस्त जीवन बाँचेर छोराछोरीको सम्झनासम्म नगरेका अनि फेरि दोस्रो पटक घरजम गरेका कुरा पनि याद आए।
समाजको यो पाटोका बारेमा त उसले कहिल्यै चिन्तन गरेकै रहिनछे। हाम्रो समाजमा त केटा मान्छेले जे पनि गर्दा हुने रहेछ। नियम कानुन त केटीका लागि मात्रै पो रहेछन्। डिभोर्सपछि पुरुषलाई केही नसोध्ने समाजले उसको मामुलाई किन आफूखुसी बाँच्न दिंदैन?
मामुको उमेर नै कति भएको छ र! उहाँको उमेरमा त बलिउडका नायिकाहरु बल्ल विवाह गर्छन्। किन मामुले आफ्ना रहरहरुलाई तिलाञ्जली दिनुपर्ने?
छिटो विवाहको परिणाम सुखद् रहेन मामुको। उसको आफ्नै पनि छिटै विवाह भयो भने उसको हालत त्यही नहोला भन्ने के छ र? कहिलेकाहीँ एक गल्तीको मूल्य जीवनभर चुकाउनु पर्ने हुन्छ। हतारमा गलत व्यक्ति रोज्नाले मामुले धेरै कष्ट सहनु पर्यो। छोराछोरीको पालनपोषण आफू एक्लैले गर्नु भयो।
बाबाले फुकेको साँढे जस्तो भएर हिंड्न पाउँदा मामुले संस्कारको दाम्लोमा बाँधिएर बस्नु पर्यो। मनभरि तनाव लिएरै भएपनि पढाइलाई निरन्तरता दिनु पर्यो। मामुकै पोल्टामा परे सघंर्ष र सम्झौताका श्रृखंलाहरु।
यमनको सोच पनि परम्परावादी अनि पितृसत्तात्मक नै रहेछ। आमाको अफेयर छ भनेर मन परेकी केटीलाई प्रस्ताव गर्न नसक्ने। गरिएको प्रस्ताव पनि आमाको बहकाइमा आएर अस्वीकार गर्ने!
आधुनिक जमानामै जन्मिए पनि ऊ सकुंचित मानसिकतामा हुर्किएको रहेछ। त्यस्तो सोच भएको मान्छे उसको जीवनसाथी पर्यो भने त उसकै जीवन पनि मामुकै जीवनको फोटोकपी हुन के बेर?
राम्रै भयो यमनले उसको प्रस्ताव अस्वीकार गरेको। गहिरो प्रेममा परेपछि उसको मानसिकता बुझेको भए त झन् अप्ठ्यारो हुने थियो। बेलैमा थाहा भयो। अबको उसको फोकस मात्र आफ्नो पढाइ हुनेछ। उसले निश्चय गरी।
निर्मल सर असल व्यक्ति हुनुहुन्छ। उहाँको पनि पहिलो परिवार टुटेको हो क्यारे। मामुलाई सर मन पर्छ भने उहाँले पनि सम्मानका साथ आफ्नो जीवनको दोस्रो ईनिङ सुरु गर्न पाउनु पर्छ बाबाले जस्तै। प्रेम गर्ने र खुसी रहने अधिकार मामुलाई पनि उत्तिकै छ।
अब मामुले उसको र भाइको लागि पिर गर्नुपर्ने अवस्था छैन। उनीहरु हुर्किसके। आफ्नो जीवन मामुले पनि चाहेकै जस्तो गरी बाँच्न पाउनु पर्छ। ज-जसलाई उसको मामुको कदम गलत लाग्छ, उनीहरुले आँखा चिम्लिए भैगो नि!
तर ऊ सदैव आफ्नी मामुको कदममा साथ दिनेछे। यति सोच्दासोच्दै उसलाई साह्रै मिठो निद्रा लाग्यो, धेरै दिनपछि।
भोलिपल्ट आफूले अघिल्लो रात सोचेकै कुरामा दृढ रहने सकंल्पका साथ कलेजतिर लागि। अब ऊ आफ्नी मामुलाई उहाँका हर कदममा साथ दिनेछे।
संस्कारको दाम्लोमा जीवनभर जकडिन बाध्य पार्ने छैन। छिटो विवाह गर्ने उहाँको गल्ती पनि दोहोर्याउने छैन। पढाइ नसकी प्रेम र विवाह जस्ता कुरामा अल्झिने छैन।