आमा,
भोलि म जन्मनेछु!
भोलि बिहान घाम उदाउन अघि
भाले बास्न-बास्नै लाग्दा
जब तिमी आँगन लिप्न
गोबर लिन गोठ जानेछौ
तब म,
म तिम्रो पेटमा सल्बलाउन थाल्नेछु।
म चाहान्न तिमीलाई पीडा दिन
तर जब तिम्रो न्यायो गर्भ
मेरो निम्ति बाफिलो बन्दै जानेछ
म उकुसमुकुसिनेछु
अनि खेल्ने ठाउँ नपाएर
अस्तिअस्तिको भन्दा
जोडजोडले मुड्की र लात्ती बजार्नेछु
जब तिम्रा ओठ-मुख सुक्नेछन्
र गोडा थरथरी कापेर
तिमी भुइँमा थचक्क बसिजानेछौ,
बल्ल तिमीले व्यथाले च्यापेको चाल पाउनेछौ।
अनि त तिमीले आमा बन्नुको प्रथम धर्म
निर्वाह गर्नै पर्नेछ- मलाई जन्म दिने!
देव्रे हात पेटमाथि र दाहिने गोठको खाबोमा
बेस्सरी कसेर बल गरिरहनू,
भुइँमा जोरजोरले लात्ती बजार्नू,
गाउँ बिउझिने गरी चिच्याउनू,
आँखाका कापबाट अश्रुधारा बग्न सक्छन्
बग्न दिनू,
रगतका अन्तिम बुँदबुँद भुल्किने गरी
तिमी प्रयास गरिरहनू,
किनकि सिर्जनको निम्ति
उच्च स्तरको उर्जाको खाँचो हुन्छ
एउटा यस्तो उर्जा
जसले रगत र आँसुको व्यथाको गीत गाउँछ।
आमा,
म चाहान्न तिमीलाई अझ धेरै पीडा दिन
जब तिम्रो चिच्याहट
बिहानीको शून्यतालाई चिर्दै
गोठभरि गुञ्जायमान हुनेछ,
सृष्टिको महाशून्यतामा
पहिलो बिस्फोटको आवाज जस्तो,
भट्टीमा चापले पड्केर निस्केको आगोको लप्का जस्तो,
तब तिम्रो तल्लो पेटमा आगो लाग्नेछ
अनि त मैले अवतरित हुनै पर्छ
वसन्तको खुला आकाशमा
सास फेर्न, बामे सर्न र आफू रोएर तिमीलाई हँसाउन।
आमा,
तिम्रो पाँचौँ सन्तानको रूपमा
म भोलि बिहान
तिम्रो मौनता बाटुले मुस्कानले तोड्नेछु
जब तिम्रो झुसे श्रीमान् गणेशमान
मेरो अनुहार हेर्नभन्दा अघि
खुट्टाका कापबीच चियाउने छ,
तब पितृत्वको गर्विलो भार बोकेको
लिंगको नमस्कार पाउनेछ
उसका छाती फुलेको देखेर
तिमी पनि मुस्कुराउँनेछौ आमा,
तर मेरा चार वटी दिदीहरू
बा'को खुसी देखेर आफू चाहिँ
खुसी हुनेछन् कि दुःखी?
तर अहिले त मैले अन्तिम पटक
निदाउनु छ तिम्रो न्यानो गर्भमा,
आमा,
आज मलाई साचिराख तिमीभित्र,
भोलि त
युगले सरापेको तिम्रो कोखको भारी पन्छाउन
म
तिम्रो
प्रतीक्षारत आशाको त्यान्द्रो
घाम उदाउन अघि
वैशाख १५ को मिर्मिरे बिहानीमा
जन्म लिनेछु
र दिनहरू फेरि उस्तै शोसक हुने छैनन्।