मध्यरातको समय गर्मीमा गुम्सिएकी म
कयौं पटक प्रयास गर्दा पनि निदाउन सकिनँ
मेरो मनले त लहरे बर्खे झरी खोजेको थियो
तर त्यो कहाली लाग्दो तस्बिर आँखा अगाडि आइदियो
बाढी पहिरोको समाचारले भरिएको सामाजिक सञ्जाल
हामी घरमा मस्त बसेर हेर्नेलाई के थाहा उनीहरुको हाल!
एक पलमै जीवनभरिको संघर्ष माटोमा मिलिगयो
बाढीसँगै बगेको हजारौँको सपना अधुरै रहने भयो
कति थिए होला ऋण ब्याज, त्यसमा अझै थपिने भयो
खेतबारी, अन्न र वस्तुभाउ सबै लथालिंग भयो
दुई छाक हातमुख जोड्न पनि गाह्रो पर्ने
सम्पत्तिको नाममा त्यही ठेला थियो रे गुजारा गर्ने
बासस्थान, मठमन्दिर, साधनस्रोत सबै लगिदियो
क्षणभरमै सबैको भविष्य उधांग पारिदियो
आँखाबाट खसेका ती आँसुका ढिका अनि भक्कानिएको मन
अर्कै दिशातर्फ मोडिएको डुंगा जस्तो भयो जीवन
पुरानै ठाउँमा फर्केर जिन्दगीको नयाँ सुरुआत कसरी गर्लान्
सानातिना खुड्किला र दुःखसुख मिसिएको खोला फेरि कसरी तर्लान्?
लाखौँ नेपालीको जीवन बर्खाका कारण उठिबास भाछ
कत्ति असन्तोषी यो मन, मलाई भने गर्मी कम गर्न पानी चाहिया छ
भयो, अलि समय पानी नपरिदियोस्, पृथ्वीले सहेन
यति सोच्दा सोच्दै त्यही गर्मीमा निदाएछु पत्तै भएन।