तरबारको तागतले म विचार काट्न सक्दिनँ
म त बुद्ध जन्मेको देशको मान्छे
तिम्रा अनेक विचारले मेरो शिर झुक्दैन
म त सगरमाथाको देशको मान्छे
जीवनका दुःखले पनि हरेस खान्छ मसँग
म त सीता जन्माउने देशको मान्छे
यस्तो मूल्यवान् देशको नागरिक म
आज आफ्नै देश सम्झि आफै छक्क पर्छु म
धारिलो इतिहास खुर्किएर बनेको मेरो देश
आज किन स-सानो विषयमै अल्मलिएको छ
गहिरो छाप विश्वमा छोडेको मेरो देश
आज आफै सस्तो राजनीतिमा अल्झिएको छ
आँटिला उच्च शिरहरु जन्माएको मेरो देश
आज खै किन ढाकाटोपी लत्रिएको छ
लाग्छ मेरो देश आज मैबाट खोसिँदै छ
लाग्छ मेरो देशको इतिहास आज ओसिँदै छ
कैयौं पानाहरु च्यातिएर लेखिएको लोकतन्त्र
आज मन्त्रमात्र जप्ने जोगीले भरिएको छ
कति सपनाका घाँटी रेटेर पाएको स्वतन्त्र
पुटुक्क परेका माननीयले स्वाहा भएको छ
रगतका खोला बगाएर आएको गणतन्त्र
आज आफ्नै मुलुक पराई झैं भएको छ
कठै! मेरो देश फाली बिनाको हलो जस्तै भैसक्यो
कठै! मेरो देश अपुरा सपनाहरुको थलो नै भैसक्यो।