रमिला, तिमी परदेश छिरेकै दिनदेखि लकडाउन भयो
तिमी त्यतै थुनियौ, म यतै थुनिएँ,
मनमा ज्वाला दन्किए पनि
आशातित भविष्यको पर्दाभित्र लुकेको
तिम्रो आगमनको घडी कुर्दै मन शान्त पार्दै थिएँ,
भित्री मन रोए पनि बाहिर हाँसेकै थिएँ।
निष्पट्ट अँध्यारो रातपछि उज्यालोको आशामा
दिनहरु घुम्दै थिए, जेनतेन म सार मिलाउँदै थिएँ,
तर अँध्यारो रात दिन हुन नपाउँदै
हनहनी ज्वरोले सतायो।
तिमो र मेरो तन मिलेको बेला
तिम्रो र मेरो मन मिलेको बेला
बढ्ने धड्कन झैँ हिपिक हिपिक धढ्कन बढिरहेछ।
बन्दीगृहभित्र तिम्रो यादले हरपहल सताइरहेछ
गुप्तबासबाटै तिमीलाई सम्झिरहेछु।
तिमीसँगै भए झ्यालको छिँडीबाटै भए पनि
तातो पानी पिलाइदिन्थ्यौ होला
तिमीसँगै भए मास्क लगाएर भए पनि हेर्थ्यौ होला
सुपर इनर्जीका आइटमहरु मिलाई मिलाई पिलाउँथ्यौ होला
परैबाट नयाँ योग र आसनको कासन गर्थ्यौ होला
हाँस्दै र नाच्दै यो कठिन दिन भुलाउँथ्यौ होला,
लामो लाम लागेर भएपनि सुई र औषधिको फारम भराउँथ्यौ होला
पहुँचमा हुनेले त सुई लगाइसके अरे रमिला!
तर
मेरो आसपास मान्छे छैनन्!
मान्छे त छन्, तर केवल
कोही गुटका मान्छे छन्
कोही उपगुटका मान्छे,
कोही मन्त्रीका मान्छे
कोही पार्टीका मान्छे
लाइनमा रहेका पनि अफेन्सिपका मान्छे अरे
त्यहाँ पनि तँछाड, मछाड भइरहेछ
अझ डिफेन्सिपका मान्छेको यहाँ डेटा नै छैन,
अक्सिजनको त कुरै नगरौं
यहाँ सिटामोल पनि अनमोल भइसकेको बेला
धड्कनको रेखा गुणात्मक भइरहेछ
मलाई ज्वरोले हनहनी च्यापिरहेछ
कथमकदाचित बाँचियो भने
गुट र उपगुटको होइन,
पार्टी र मन्त्रीको होइन,
मान्छेलाई मान्छे भएर बाँच्ने कला सिकाउनु छ,
सर्वसाधारण पनि मान्छे हुन् भन्ने देखाउनु छ।
रमिला,
बन्दीगृहभित्र तिम्रो यादले हरपहल सताइरहेछ
गुप्तबासबाटै तिमीलाई सम्झिरहेछु।