बितेका छ महिना
पुसदेखि जेठसम्ममा
जुन पीडा भो-
नितान्त क्रुर
विभत्स रह्यो
भोक्ता म संविधान हो!
आकाशको जहाज,
तैरँदै गरेको पानी जहाज
गुड्दै गरेको बस होस्,
छ सेकेण्ड त्यस्तै चित्र दोहोरिँदा-
को दृष्य देखाउन
सक्ने को होस्?
हिसाब जान्ने
बाबु नानी!
यो वा त्यो-
ठाउँ- जिल्लाबाट पठा'को
नगद-विद्युतीय अभिलेख
छ सेकेण्ड गायब भो!
यसले देशको
गति र अवस्थिति
कस्तो हुँदो हो?
देशका अप्रेशन थिएटरका डाक्टरले
सबै काम गर्नेदेखि पालनहार, संरक्षकले झैं
छ सेकेण्ड कैँची चलाए के हुँदो हो?
देशको भूगोल र भविष्य यही गतिमा बढे-
भोलिको देश रहँदो हो?
राजनीतिमा नाफा घाटा त
विश्लेषणको पाटो भो
कोरोना महामारीबीच पनि
कानुन राजनीति शास्त्र,
इतिहास अध्येताका लागि
अतुलनीय गुन भो!
सदा आदरणीय देशबासीहरू,
संसारका हितचिन्तकहरू,
इमान्दार पछुवाहरू,
बीचबीचका खेलाडीहरू
त्यस बेलाको तुहिएको/कुहिएको-
धन, श्रम हिसाब गर
सक्तैनौ तिर्न,
प्रायश्चित गर!
विगतको छ महिना
'छ सेकेण्ड वा छैन सेकेण्ड' मान
'लोकमान थियो' को रेकर्ड नरहे झैं
'यो अभिलेख दिमागमा छैन' ठान
म हुँ नेपालको संविधान!