थाकेको शरीरलाई आराम दिन आराम गरी बसिरहेको मुढालाई मैले दुःख दिने विचार गरेँ र मुढामा बस्दै भनेँ, 'आमा चिया बन्छ?'
आमाले खुसी हुँदै भन्नु भयो, 'बन्छ बाबु। कालो कि दूध हालेको बनाम्?'
ठट्यौली पारामा हाँस्दै मैले भनेँ, 'चिया पनि कालो हुन्छ र आमा? हा हा...।'
आमै पनि सँगै हाँस्नु भयो। आमैको हाँसो अगाडि मेरो हाँसो मत्थर बन्यो।
'दिल खोलेरै हाँस्नु भयो त आमा?,' मैले भने।
'दिल! दिल पनि बन्द हुन्छ र खोल्नलाई?'
'हामी जस्ता गरिब र गाउँलेको दिल सधैँ खुल्लै त हुन्छन् बाबु,' आमैले मुस्कुराउँदै जवाफ फर्काउनु भयो।
आमाको गहकिलो शब्दले आफूलाई म सहरिया भएछु जस्तो लाग्यो। चिया बसाल्दै गर्नु भएकी आमैलाई मैले भनेँ, 'आमा चिनी अलि बढी नै होस है, मलाई गुलियो मन पर्छ।'
'हुन्छ।'
आमैले प्रसंगलाई फेरि जोड्दै भन्नुभयो, 'दिल त सधैँ खुल्लै हुन्छन् बाबु। दुःख र आँसुले कहिल्यै दिलको बाटो बिराउँदैनन्। त्यसैले बाटो बिराएर आउने बेला बखतको खुसीमा हाँस्न किन लोभ गर्नु?'
किताबमा पढेका कथाका सामान्य पात्रका घटनाले मन छुने मेरो स्वभावलाई आमाका यस्तो शब्दले भावुक बनाइहाल्यो। सुख कसैको पेवा होला तर खुसी कसैको पेवा हुन्नन् भन्ने मलाई लाग्छ।
त्यसैले आमाको करिब छ, सात दशकको जीवनलाई एक कप चियासँग साट्न मन लागेर थप जिज्ञासा राखेँ, 'किन र आमा, खुसीको बाटो नभएर हो कि खुसीको मुहान नभएर हो?'
'खुसी नभएपछि फराकिलो बाटो भएर पनि के नै हुन्छ र बाबु? जसरी बगर भए पनि बगरमा बग्ने पानी नभए खोला हुँदैन। अनि जसरी वर्षाको समयमा बगरमा बग्ने भेलले खोलालाई धोका दिन्छ त्यसैगरी कहिले काहीँ आउने खुसीले पनि धोका दिँदो रहेछ बाबु।'
आमैले मनको गाठोलाई कोट्याउन खोज्नु भयो।
यस्तो बुढेसकालकी आमालाई यस्त गहकिला शब्द कसरी आउँछ? मैले बुझ्न सकिरहेको थिइनँ। र भनेँ, 'मैले बुझिनँ नि आमा? खुसीले धोका कसरी दियो र?'
चियालाई चियाजालीले सार फेर गर्दै आमैले मलिनो स्वरमा भन्नु भयो, 'छ वर्ष पहिले महाभूकम्पले ल्याएको खुसीले थोका दिए जस्तै यो कोरोना जातिको रोगले पनि थोका दियो बाबु। भूकम्प जाँदा पनि छोरा-बुहारी घर सम्झेर गाउँ फर्केका थिए। अब त सधैँ गाउँ बस्नेगरी छोरा-बुहारी आए जस्तो लागे थियो तर एक महिनामै फेरि काठमाडौँ फर्किएँ।
त्यसैगरी कोरोना रोग लाग्दा पनि छोरा बुहारी गाउँ आए। यसपालिको खुसीले अब त धोका खान्न होला। अब चाहिँ सधैँ बस्ने गरी आए जस्तो लागेको थियो। तर फेरि धोका खाएँ। दुई महिना बसे, अहिले फेरि काठमाडौँ लागिसके। म एक्लै बुढी घरमा के गर्नु भनेर यही एउटा सानो चिया पसललाई साथी बनाएको छु।'
आमैले चियाको कप मलाई दिँदै भन्नु भयो, 'अनि बाबुको यात्रा टाढैको?'
म झस्किएँ। आमैलाई म कसरी भनौँ कि म पनि त्यस्तै एक पात्र हुँ जसले घरमा भएको बुढा बा र आमाको खुसीलाई धोका दिएको छु। कसरी भनौँ कि म पनि कोरोनाको कहर छेल्न गाउँ आएको थिएँ र आज कोरोनाको कहर कम भएसँगै काठमाडौँको यात्रा गर्दै छु।
कुरालाई मोड्दै मैले अघिदेखि नै हाम्रो वार्तालापको साक्षी बनि बसिरहनु भएका एकजना बुढा बालाई सोधेँ, 'बा सन्चै हुनुहुन्छ?'
बाले केही बोल्नु भएन। एकोहोरो मलाई हेरिरहनु भयो। सुन्नु भएन कि भन्ठानेर अलि चर्को स्वरमा सोधेँ, 'बा, सन्चै हुनुहुन्छ तपाईं?'
यतिकैमा चिया पसलकी आमैले भन्नुभयो, 'उहाँ दाजु आजकाल त्यति धेरै बोल्न रुचाउनु हुन्न, बाबु।'
मैले चिया पिउँदै जिज्ञासा राखेँ, 'किन र आमा?'
आमाले बा तिर हेर्दै मलिनो स्वरमा भन्नु भयो, 'हामीलाई खुसीले मात्रै धोका दियो, उहाँलाई त भगवानले नै धोका दियो।'
'किन र आमा? के भयो र उहाँलाई? भन्न मिल्छ भने भन्नुहोस् न?' मैले बुझ्ने इच्छा राखेँ।
सानो हाँसोको साथमा आमैले भन्नुभयो, 'मैले भने नि बाबुलाई, हाम्रो दिल जहिल्यै खुल्लै हुन्छ। भएको कुरा भन्नलाई मुख पनि सधैँ खुल्लै हुन्छन्। अनि भन्न सुरु गर्नुभयो, दाइको बुढिया, दुई महिना अगाडि कोरोना जातिको रोगले लिएर गयो। घर र गोठ एक हप्ता अगाडिको पहिरोले लिएर गयो।'
बा नजिक पुच्छर हल्लाएर बसिरहेको कालो कुकुर तिर इसार गर्दै आमाले भन्नुभयो, 'उ त्यही काले छ उहाँको परिवार अनि सम्पत्तिको नाममा।'
'अनि छोरा छोरी?' मैलै सोधेँ।
'छोराछोरी... भनेँ नि बाबुलाई भगवानले धोका दियो भनेर।' आमैले जवाफ फर्काउनु भयो।
फेरि भन्नु भयो, 'दाइ र भाउजू निःसन्तान हुनुहुन्थो। अब निसन्तानमात्र हैन दाइ निपरिवार पनि हुनु भयो।'
बाटोमाथि डाँडाको प्लास्टिकको छाप्रो देखाउँदै आमैले भन्नुभयो, 'ऊ त्यो निलो प्लास्टिकको छाप्रो जस्तो देख्नु हुन्छ नि?'
चिया पसलको छाप्रोको छतमुनिबाट निहुरिएर हेर्दै मैले भनेँ, 'हजुर।'
'हो, त्यही बस्नुहुन्छ अहिले। अनि यसो मन भुलाउन यता तिर आइरहनु हुन्छ।'
बा भने उही कालेलाई सुम्सुम्याइरहनु भयो। उहाँको आँखाको डिलबाट झरेको भलले बगाइरहेको उहाँको घर अनि खेत, गोठ स्पष्ट देख्न सकिन्थ्यो। मैले सोचेँ, आँखाको डिलबाट झरेको भललाई रोक्न त सँकुला तर भलसँगै बगिरहेको घर, खेत अनि गोठलाई मैले कसरी अड्याउन सकुँला। त्यसैले मैले केही भनिनँ।
यतिकैमा आमैले म तिर हेर्दै सोध्नु भयो, 'अनि चिया कस्तो भएछ बाबु?'
गफको सुरमा चियाको स्वादलाई स्पर्श गर्न बिर्सिएछु। मेरो पेट भर्न खाली भइसकेको गिलासको पेटमा बाँकी रहेको अन्तिम सर्को पिउँदै मैले भनेँ, 'गुलियो छ आमा चिया।'
गफैगफमा आमैले चिनिको ठाउँमा नुन हालेर पकाएको चियालाई किन नुनिलो छ भन्नु! चिया गुलियो-नुनिलोभन्दा पनि निकै गुनिलो लागि रहेको थियो आफूलाई।
चियाको पैसा दिँदै मैले आमालाई भनेँ, आमा यहाँको चिया गुलियो कम गुनिलो ज्यादा लाग्यो।
आमाले सायद मेरो कुरा बुझिनन्, मुस्कुराइन् मात्र। र भन्नु भयो, 'आउँदा जाँदा यसो पस्नु होला है बाबु। हुन त मै बुढी कति नै पो बाँचुला र बाबुहरुलाई चिया खुवाउन पाउँला,' फेरि हाँस्दै भन्नु भयो।
मेरोभन्दा आमाको आयु लामो छ, पक्कै भेट हुन्छ, भन्दै म मोटरसाइकल स्टार्ट गर्न थालेँ। र मोटरसाइकललाई घुमाएँ।
यतिकैमा आमैले अलि चर्को स्वरमा भन्नु भयो, 'बाबुले गफैगफमा आफू कता हिँडेको बिर्सनु भयो जस्तो छ। तपाईं त्यतैबाट आउनु भएको, काठमाडौँ तिर हिँड्न लाग्नु भएको हैन र? काठमाडौँ त यता हो त बाबु। गलत दिशातिर फर्काउन लाग्नु भयो त मोटरसाइकल!'
मैले मुस्कुराउँदै भनेँ, 'आमा यहाँ आउँदासम्म म गलत दिशामा हिँडेको रहेछु। अब जता जाँदै छु यो सही दिशा हो। र, म त्यतै फर्किएँ जताबाट म आएको थिएँ। त्यतै मोडिएँ जता एउटा खुसीको बिउ रोपेर धेरै खुसीहरु उम्रन्छन्। जता दिलहरु सधैँ खुल्लै छन्।