मेरो देशको गौरव
मेरो हृदयभरि फुल्दछ
लालीगुराँस बनेर।
मेरो देशको नाम
विश्वभरि चल्दछ
मादल र बाँसुरीले गरेर
कला र संस्कृतिमा
पृथक तथा नवीन छ,
हिमाल, पहाड, तराईले भनेर।
शिक्षा हुन् त उज्यालो भविष्यको ज्योति
जोगाँउछ यसले कला र संस्कृति
खुला छ आकाश खुला नै छन् सिमाना
नेपाली कला र संस्कृतिको गरौं कि अब जर्गेना
सबैको मनभरि चेतना छरी
बिताउँ कि त नेपालीपन बुध-बुध गरी
स्वयम्भुको आँखाबाट विश्व नियालिरहेंछु
शान्त र स्रिध गजुरबाट
पसुपतिको गुञ्जिरहेको उँकार ध्वनी
म सुनिरहेछु मन्द-मन्द
तिनै आँखाबाट हुसुमा उज्यालो छरिन्छु
म शब्द शब्दबाट तिनै ध्वनी गुन्जिन्छु
बेसीदेखि हिमालसम्म
चमेलीदेखि गुराँससम्म
म धोती, टोपी र बक्खु
सबै समान सजिन्छु
समाचखेवा मनाउनै गर्दा
मारुनीमा खुब रमाँउछु।
म भुल्दिनँ मेरो देशको पहिचान
गाउँछु उचालेर हृदयको झण्डा
यो नेपाली शिर उचाली संसारमा लम्किन्छ
रोधी बस्दा आँखामै नाच्दछन्
चखेवा र मारुनी
अनेक पोशाकमा सजिएका मेरा किन्नरा-किन्नरीहरू लहराएका तरुल टिकाहरू
गुन्द्रुक र ढिडो तयार गर्ने माता-पिताहरू।
निधारले दसैं बोलाउँछ, तिहार बोलाउँछ
तीजले माइतीको आँगन झुलाउँछ
म खुल्दछु बिहानीहरूसँग
ख्रिष्टमस, इद, गौरा अनि ल्होसारमा दंग
बहकिन्छु म भित्रभित्रै माया संगालेर
आउँछन चाडहरू ऋतुहरूको पछ्यौरी सुम्सुमाएर
फुल्छन् निस्फिक्रि फूलहरू
हाँगा समाएर
अनि फूल-फूलहरूबीच बढाउँछन्
आत्मीयता फैलिँदा
तराईंको पटुकी हिमालको शिरसम्म
निर्धक्क फुल्दछ छाती स्वभिमानको रंग
जरुवाको एक घुट्को पानीसँगै
म पिउँछु मेरो देशको देउरालीको सितल हावा
जब फैलिन्छ देशभक्ति नशाहरूमा कोर्छु
म सगरमाथा
खरीले भित्ताहरूमा
सदियौंदेखि ठडिएका मन्दिरहरू,
मस्जिदहरूमा देख्छु म एउटै धर्सा प्रेमको धोती,
टोपी र बख्खुहरूमा म देख्छु मेरो पहिचान
मारुनी रोधी र सेलोहरूमा म खोज्दछु
मेरो मौलिकता
रक्तिम साँधहरूबीचको मेरो मुलुक
सजिइरहेछ यो मानस्पटलमा
नझरोस् फूलसरी यो देशप्रेम
न ओइलियोस् मौलिकता
कला, धर्म र संस्कृति
बजिरहुन् पायहरू सोरठी नाच्दा
ढल्किरहोस् सिरको टोपी रोधी बस्दा
कसिरहुन् पटुकी तरुनीहरू
बारुले कम्मरहरूमा
जीवित रहून् मठ मन्दिर पाटी-पौवा र ढुङ्गे धाराहरू
अन्तत: मेरो देश, गाथा, कला र संस्कृति
हुन त आखिर यिनै मेरो सम्पत्ति
यिनै हाम्रो सम्पत्ति।