न सग्लै छँदा भ्याक्सिन पायो, न ढलेपछि आइसियू र अक्सिजन
यता र उता दौडाउँदैमा प्राण गयो, के गरी बुझाउलिन् मदनकी मुनाले मन।
सरकारले सक्दैन रे, घरमै मर्नु भन्छ रे भन्दै आँखाभरी आँसु भर्थ्यो त्यो
आउँथेन, टप्प टिपी लान्थेन, मिति पुगेकै थिएन, टारेर टर्थ्यो त्यो ।।
हजार रूपैयाँको भ्याक्सिन म आफैं किनेर लाउन सक्थेँ, मिलाएन सरकारले
कैयौँले बलि चढ्नु पर्ने भो कमिसनखोरसँगको लडाइँमा तिनका सुनियोजित हारले।
पानी बिनाको माछा झैँ निसास्सिनुपर्दा रोक्किएको सासमै सत्तोसराप गर्थ्यो त्यो
आउँथेन, टप्प टिपी लान्थेन, मिति पुगेकै थिएन, टारेर टर्थ्यो त्यो ।।
समयमै भ्याक्सिन पाएको भए आज ऊ हामीसँगै अझै लिला हेर्दै हुन्थ्यो
बुढी आमा छोडी जानु छैन मलाई, हस्पिटल चाहार्दैगर्दा ऊ भक्कानिँदै रुन्थ्यो।
हुकुमे र बैठकेहरूले गर्दा म मर्दैछु भन्दै छिनछिनमै मुर्छा पर्थ्यो त्यो
आउँथेन, टप्प टिपी लान्थेन, मिति पुगेकै थिएन, टारेर टर्थ्यो त्यो ।।
पानीमुनि पुगेर भए नि दुईमुठी अक्सिजन ल्याइदे सरकार भन्दै मुर्छा परिरह्यो
राजनीति तातिरह्यो, चिस्सिन नपर्नेहरू चिस्सिँदै गए, दायित्वहरू त्यसरी नै टरिरह्यो।
लालाबाला टुहुरा बनाई, २३ वर्षे प्रियालाई छोड्ने भएँ भन्दै बिलौना गर्थ्यो त्यो
आउँथेन, टप्प टिपी लान्थेन, मिति पुगेकै थिएन, टारेर टर्थ्यो त्यो ।।