मंसिरको समय थियो। चिसो दिन प्रतिदिन बढ्दै थियो।
गाउँ वरपरका पानीको मुहानमा बरफ जमेको थियो। ग्याल्जेन र उनको मित्र निमा आफ्नो पहिलेदेखि गर्दै आएको नुन र अन्नको सट्टाबाजीमा रोङ(बेँसी) झर्ने तरखरमा थिए।
सबै गाउँले लामबद्द भएर पहिले नुन लिएर बेँसी झर्ने गरे पनि अहिलेका नयाँ पिँडीले यो छोडिसकेको थियो तर ग्याल्जेन र निमा भने ६-६ वटा याक लिएर सधैं बेसी झर्थे।
सदियौंदेखिको आफ्नो नेचाङ (इष्ट) भेटघाट हुने, फापर र सिमीको दाल पनि ल्याउन पाउने भएकोले दुई जना सधैं मंसिरमा रोङ (बेँसी) झर्ने गर्छन्। उनीहरूका अन्य साथीहरू भने कोही खुट्टाको बिमारी कोही आँखा राम्रोसँग नदेख्ने भएर यी दुई साथी मात्र हुन् क्यारे नुनको ब्यापार गर्ने अन्तिम क्याराभानहरु। त्यसैले गाउँलेहरू पनि भन्छन्, सायद अब यिनको मृत्युपछि लगभग नुनसँग अन्न साट्ने चलन सधैंका लागि ग्रहण लाग्नेछ।
मिरमिरे बिहानी धवालागिरीको शिरमा सुनौलो सूर्यका किरणसँगै दिनले स्वागत गरिरहेको थियो। त्यहीँ सिरसिरे हावा र चिसो मन्द वातावरण सँगै तेलुङ गाउँका चिम्नीबाट धुवाँ आइरहेको थियो। अब प्राय घरका मानिसहरु उठेको सङ्केत हो क्यारे।
कर्माको बुवा ग्याल्जेन पनि सबेरै उठेर आफ्नो पूजापाठमा व्यस्त थिए। आज त ग्याल्जेन र निमा बेँसी झर्ने दिन, ग्याल्जेन अलि प्रफुलित मुद्रामा देखिन्थ्यो।
ग्याल्जेन गोठतिर गएर याकलाई नजर लगाउँदै थियो। याक पनि ग्याल्जेनलाई देखेर प्रफुल्लित देखिन्थे। सायद रोङ (बेँसी) झर्ने कुरा याकले पनि बुझिसकेका थिए। लम्बा (लिडर) याकलाई ग्याल्जेन समातेर सुमसुमाउँछन्।
यतिकैमा पेमापुटी पनि पानी बोकेर आइरहेको हुन्छ, ‘माथि जाउ बुवा, चिया पाक्यो होला चिया खाउँ,’ पेमापुटीले भनि।
दुबै जना माथि जान्छन्।
कर्मा उठेर अगेनाको छेउमा बसेको हुन्छ, कर्माको छोरी डोल्मा पनि कर्माको घुँडामा टाँसेर बसेकि हुन्छे।
ग्याल्जेन जाने बितिकै बाजे बाजे भन्दै डोल्मा ग्याल्जेनको छेउमा आएर बस्छे।
एकछिनमा फुर्बा पनि उठेर आउँछ।
त्यतिकैमा, पेमापुटीले चिया घोल्न उठ्छिन् र कर्मा सबै जनालाई चियाको कचौरा (फोरा) दिन्छ।
सबै अगेनाको वरीपरी बसेर चिया र सातु खान्छन्।
यतिकैमा कर्माले सोधे, ‘बुवा यसपालि फापरसँग थोरै मकै, अनि मासको दाल पनि ल्याउनु होला है। सिमीको दाल त भन्नै परेन। अनि साच्ची सबै बोराहरू ठीक छ होला नि है बुवा, कतै टुटेको त छैन नि? फेरि बुवा र निमा काका दुबै जना बुढा मान्छेहरू दुःख पाउनु होला नि?’
चियाको एक सर्को लिँदै, ग्याल्जेनले भने, ‘ठीक छ छोरा के दुःख पाउनु जिन्दगीभर हिँडेको बाटो हो, त्यहीँ तल एक ठाउँमा अलि बाटो अफ्ठ्यारो छ अरू त केही गर्नु पर्दैन। हामीभन्दा पनि हाम्रो याकलाई बाटो राम्ररी थाहा छ। सधैं त्यही बाटो हिँडेको, त्यो लाम्बाले रोङ (बेँसी) जाने थाहा पाइसकेजस्तो छ, अघिनै म तल जाँदा ऊ त प्रफुलित थियो।’
ग्याल्जेनको छेउमा बसेकी डोल्माले भनि, ‘म्हेमे म्हेमे (बाजे बाजे) मलाई रोङ (बेँसी) बाट मिठाइ ल्याउनु है, अनि बहिनीलाई पनि है।’
‘अनि मेरो मितज्यूलाई त्यो रौंरीको घिउ र छुर्पी भन्थे हाल्नुभयो नि है बुवा?’ कर्माले फेरि सोधे।
‘अ! हिजै हालेँ’, ग्याल्जेनले भने।
‘अब यो साल त ठिक छ बुवा, तर अर्को सालदेखि भने रोङ (बेँसी) नजादा हुन्छ। आखिर चामल चाइनाबाट ल्याइहालिन्छ र दाल नुन तेल त्यही जोमसोम बजार जाँदा ल्याउँला। अब यो बुढेसकालमा फेरि बाटोमा यताउता भयो भने’, फुर्बाले भने।
‘तिम्रो कुरा पनि ठिकै हो छोरा, तर सदियौंदेखि गर्दै आइराखेको यो काम, हाम्रो नेचाङ (इष्ट) हरू पनि कहिले आउँला भनेर बाटो हेरेर बसेका होलान्। अनि यो फेरि ब्यापार मात्रको कुरा पनि होइन, यो त नेचाङ (इष्ट) सँगको भेटघाट अनि हाम्रो सदियौंको सम्बन्धको कुरा पनि हो। यसरी आवतजावत नै बन्द भयो भने हाम्रो नेचाङ (इष्ट) चलन अनि पुर्खाको सम्बन्ध नै सिद्दिन्छ। त्यसैले यो सम्बन्धको पुर्नताजकि गराउने अवसर पनि हो। त्यसैले तिमीहरुको पालोमा जेसुकै गर। तर म बाँचुन्जेल वर्षको एकपल्ट रोङ (बेँसी) जान्छु। मेरो ज्यानले सकिन्जेल, यो हात र खुट्टा चलिन्जेल अनि आँखाले देखिन्जेल हाम्रो आफ्नो पुर्खाले गरी राखेको यो कामलाई म छोड्दिन’, ग्याल्जेनले भने।
सातुको कचौरालाई भुईँमा राख्दै फुर्वाले थपे, ‘होईन बुवा हुजर, तपाईं र निमा काका दुबै जना बुढापाकाहरु त्यसैले बाटो तिर गाह्रो होला भनेर मैले यसो भनेको हो नि।’
ठिक छ छोरा तिम्रो शुभचिन्ताप्रति, म धन्य छु। तर त्यो बन त्यो बाटो, त्यो खोला त्यो नालाले हामीलाई राम्रोसँग चिनेको छ। दायाँबायाँ हुनै दिँदैनन्। जीवनका उकाली र ओरालीमा सधैं त्यो बाटोहरू, त्यो खोला बगर, त्यो बनपाखाले हामीलाई साथ दिएको थियो।
ती सबै पनि हाम्रो सुशेली सुन्नलाई पर्खिरहेको होलान्। फेरि यो काममा सन्तुष्टीको कुरा पनि छ बाबु। वर्षको एक चोटी सुखदुःखका कुराहरु साटासाट गर्ने, नेचाङ(इष्ट)भेटघाट गर्ने, सुखदुःखका कुराहरु सुन्न र सुनाउने पनि ठूलो कुरा हो।
आखिर एकदिन हामी सबै मर्नुनै पर्ने हो, बाँचुन्जेलसम्म त होनी इष्टसँगको भेटघाट सुखदुःखका कुराहरुको साटासाट हो। यहाँ अन्न र नुनको साटासाट मात्रको कुरो होईन छोरा, यहाँ त माया, स्नेह र सम्बन्धको पनि साटासाट हो।
अन्न र नुन बाहिर देखावटि वस्तुको साटासाट हो भने भित्री कुरा त माया र सम्बन्धको कुरा हो छोरा। यो त दुःखको फलको साटासाट हो, हामी नौ भञ्ज्याङ तरेर दुःख गरेर चाइनाबाट नुन ल्याउँछौ, हाम्रो नेचाङ (इष्ट)हरू वर्षभरि खेतमा डटेर, परिश्रम गरेर अन्न उब्जाउँछन्, त्यसैले उहाँहरूको परिश्रमको फल र हाम्रो परीश्रमको फलहरूको साटासाट हो’, ग्याल्जेनले भने।
त्यतिकैमा पेमापुटीले भनि, ‘अब खाना हालौं है बुवा?’
‘हुन्छ, हुन्छ’, ग्याल्जेनले भने।
पेमापुटी खाना पस्किन्छिन्। सबै जना खाना खान्छन्।
०००
खाना खाइसकेपछि ग्याल्जेनले भने, ‘कर्मा र फुर्वा अब भारी कसम क्यारे, आज तेराङसम्म जानुपर्छ। तिमीहरू भारी कस्दै गर म माथि झण्डा हाल्नतिर लागेँ’, ग्याल्जेनमाथि छतमा झण्डा हाल्न जान्छन्।
कार्मा र फुर्बा तल आँगनतिर झर्छन् र याकमा भारी हाल्छन्।
ग्याल्जेनले त्यतिबेलै छतबाट निमालाई सोधे, ‘निमा तिमी तयार भयौ?’
निमा पनि, त्यति खेर झण्डा हाल्न छतमा आएको हुन्छ र अह अब म पनि तयार हुनै लाग्यो भन्दै। तारोतारो (शुभ होस्) भन्दै झन्डा हाल्छन्।
झण्डा हालिसकेपछि ग्याल्जेन पनि तल आँगनमा झर्छन्।
पेमापुटी काठको बटुकोमा घिउँ, एउटा काठको ठेकीमा जाँड र दुई वटा खादा लिएर बिदाइ गर्न आँगनमा आउँछिन्।
डोल्मा भने ग्याल्जेनको हात समातेर बसेकी हुन्छिन्।
म्हेमे म्हेमे, बाजे ग म पनि जान्छु रोङ (बेँसी) मा, डोल्माले भनि।
त्यतिकैमा, ‘छोरी तिमी जानु हुँदैन। हामी छोरी मान्छेले याक जाक्नु हुँदैन। याक जाक्ने काम त छोरा मान्छेको हो। हाम्रो काम त घरको काम गर्ने, खाना बनाउने, खेतबारीमा काम गर्ने, गोभर टिप्न जाने हो। कहाँ याक जाक्ने काम त तिम्रो बुवा, काका, अनि बाजेहरुको हो नि छोरी,’ पेमापुटीले सम्झाइन्।
डोल्मा आमाको मुख हेर्दै रून्चे स्वरमा सोधी,‘किन आमा हामीले याक जाके के हुन्छ? किन आमा केटा मान्छेले मात्र याक जाक्न हुने केटीले नहुने?’
‘छोरी याक जाक्ने काम पाप हो। याकलाई भारी बोकाउनु पाप हो। त्यसैले आईमाई जातिले पाप गर्नु हुँदैन। त्यसैले हामी केटी मान्छेले याक जाक्नु हुँदैन छोरी’, भनि पेमापुटिले जवाफ फर्काइन्।
डोल्माले फेरि सोधिन्, ‘त्यसो भए हाम्रो त बहिनी र म दुबै केटी मान्छे अनि पछि हाम्रो बुवाहरु र बाजेहरु बुढो भएपछि हाम्रो याकहरू कस्ले जाक्छन त आमा? याक जाक्नु पाप हो भने हाम्रो बुवा र बाजेहरुलाई पाप लाग्दैन आमा?’
पेमापुटीले छोरीको टाउको सुम्सुमाउँदै भनिन्, ‘छोरी केटा मान्छेलाई पाप लाग्दैन। केटा मान्छेहरू याक जाक्नको लागि नै माथिबाट पठाएका हुन्। त्यसैले तिनीहरूको काम नै याक जाक्ने हो।
डोल्मा जिज्ञासु हुँदै फेरि सोधि, ‘कहाँ माथिबाट आमा?’
माथि आकाशबाट, भागवानले पठाएको छोरी, पेमापुटिले भनि।
‘भगवान पनि कस्तो रैछ है आमा, राम्रो र रमाइलो काम चाहीँ हाम्रो काका, बुवा र बाजेलाई दिने, याकसँग कहाँ-कहाँ जान पाउने अनि कहिले रोङमा त कहिले तिब्बतमा। तर हामी चाहीँ जहिले पनि गाउँघर मै, है आमा?’ डोल्माले भनि।
हो छोरी, छोरी मान्छेहरु त घरका देबी हुन्, हामीहरूले पाप गर्नु हुँदैन। खेतबारिमा काम गर्नुपर्छ। बस्तुभाउलाई माया गर्नुपर्छ। बाउ बाजेहरु टाढा टाढा गएर अन्नपात लिएर आउनु हुन्छ, हाम्रो हिमालमा आलु र उवा मात्र हुन्छ। त्यसैले सिमिको दाल, फापर र चामल ल्याउन बेँसि जानु पर्यो नि। अनि हामी महिलाले घर हेर्नुपर्छ नि। सबैले आआफ्नो काम गर्नुपर्छ छोरी’, पेमापुटिले भनि।
यतिकैमा, ‘अब तिमी आमा छोरीको कुरा पछि गर्दै गर, अहिलेलाई अब बिदाई गरौं’, कर्माले भने।
पेमापुटी बायाँ पाखुरामा दुई खादा, बायाँ हातमा बटुकामा घिउ लिएर सर्वप्रथम लाम्बा याक भएकातिर लाग्छ र लाम्बा याकको घाँटीमा खादा र सिङमा तीन पटक यार (घिउको टिका) लगाउँछिन् र त्यसपछि ग्याल्जेनलाई पनि खादा र यार (घिउको टिका) लगाएर ठेकीको छ्याङ टक्रयाउँछन्।
ग्याल्जेनले ठेकीबाट छ्याङको तीन थोपा जाँड आकाश तिर छर्दै, सोल छोय लामा कोन्ज्वाग सुमला सोल छयोए (जय तिन देवहरुको जय), एक घुट्को पिउँछन्। क्रमशः पेमापुटिले यार (घिउको टिका) कर्मा, फुर्वा र डोल्मालाई लगाइदिन्छिन्।
बिदाइ गरी सकेपछि कर्मा र फुर्बा याक दपाउँछन्। त्यहीबेला निमाका छोराहरू पनि याक धपाउँदै निस्किरहेको हुन्छन्।
छोर्तेन (स्तुपा) मा ग्याल्जेन र निमा भेट हुन्छ, ग्याल्जेन हातमा सानो माने र घाँटीमा बुद्धचित्तको माला लिएर अघिअघि र निमा पछिपछि हुन्छन्।
फुर्वा र निमा, याक धपाउँदै अघिअघि गइरहेका हुन्छन्।
निमाको छोरा लोभसाङ र ग्याल्जेनको छोरा फुर्वाले गाउँको पर डाडासम्म याक पुर्याउँछन्।
ग्याल्जेनले भने, ‘ल अब तिमीहरू फर्क हामीहरू आफैं जान सक्छौं।
त्यतिकैमा निमाले पनि थपे, ‘हो हो अब तिमीहरू फर्क।’
फुर्बा र लोभसाङ, ‘हुन्छ बुवा र काका राम्रोसँग जानु होला बाटोमा धेरै छ्याङ नखानू होला है।’
यतिभन्दै ग्याल्जेन र निमा तलतिर झर्छन्, लोभसाङ र फुर्बा गाउँ फर्किन्छन्।